जन्म मितिको विवादमा मुछिएपछि प्रदेश सभा सचिव धामीले दिए राजीनामा

धनगढी। जन्म मिति विवादमा मुछिएपछि सुदूरपश्चिम प्रदेश सभाका सचिव रामसिंह धामीले राजीनामा दिएका छन् । नागरिकता र शैक्षिक प्रमाणपत्रमा जन्म मिति फरक परेको र मापदण्ड विपरीत सचिव नियुक्ति भएको आरोप लागेपछि उनले राजीनामा दिएका हुन् ।

सचिव धामीले प्रदेश सभामुख अर्जुनबहादुर थापालाई बुझाएको राजीनामा आइतबार स्वीकृत सभामुखको सचिवालयले जनाएको छ । सचिव धामीको नागरिकता र शैक्षिक प्रमाणपत्रमा फरक–फरक जन्म मिति रहेको छ । सचिव धामीले भने शैक्षिक प्रमाणपत्रकै आधारमा नियुक्ति लिएको बताउँदै आएका थिए ।

उनको जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट जारी गरिएको नागरिकतामा जन्म मितिमा सोझै १८ वर्ष लेखेको छ भने शैक्षिक प्रमाण पत्रमा २०१६/११/२९ गते उल्लेख छ ।

उनले नागरिकता प्राप्त गरेको मिति २०३३/११/१० छ । नागरिकता प्राप्त गरेको मिति र शैक्षिक प्रमाण पत्रमा उल्लेख गरिएको जन्म मिति २०१६/११/२९ गते घटाउँदा नागरिकता पाउँदा १८ वर्षसमेत पुगेको देखिँदैन ।

प्रदेश सभाको सचिवमा नियुक्ति भएपछि विवादमा आए पनि उनले सोही प्रमाणपत्रकै आधारमा सरकारी जागिर खाएर अवकाश भइसकेका थिए । उमेर हदका कारण सरकारी जागिरबाट अवकाश भइसकेपछि उनी प्रदेश सभाको सचिवमा नियुक्ति भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *