समाचार सम्प्रेषणका लागि पनि रकम भुक्तानी

धनगढी । सञ्चार माध्यमले सूचना/सन्देश प्रसारण गरेबापत शुल्क लिन्छन् । सरकारी तथा गैरसरकारी संघ–संस्थाहरूले पनि त्यस कार्यका लागि सञ्चार माध्यमलाई रकम भुक्तानी गर्छन्, जुन स्वभाविक हो । तर कञ्चनपुरको बेलौरी नगरपालिकाले भने आफ्ना गतिविधिका समाचार सम्प्रेषण गरेबापत पनि रकम भुक्तानी गरेको छ ।

महालेखा परीक्षकको वार्षिक लेखा परीक्षण २०७७ को प्रतिवेदन अनुसार नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ मा विभिन्न सञ्चार माध्यमलाई समाचार सम्प्रेषणका लागि रकम भुक्तानी गरेको हो । नगरपालिकाले कैलाली र कञ्चनपुरका गरेर ९ लाख ५४ हजार ९५४ रुपैयाँ सञ्चार माध्यमलाई भुक्तानी दिएको छ ।

महालेखा परीक्षकको कार्यालयद्वारा जारी लेखा परीक्षण अनुसार नगरपालिकाबाट समाचार प्रसारणका लागि मात्रै भनेर मिडियालाई रकम विनियोजन गरिएको छ । कुनै उद्देश्य र मापदण्ड बिना नै नगरपालिकाले यो रकम भुक्तानी गरिएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

साथै महालेखाले भुक्तानी गरिएको यो रकममा कर कट्टी गर्नुपर्ने सुझावसमेत दिएको छ । प्रतिवेदनमा कर कट्टी नगरिएको रकम सम्बन्धितबाट असुल गरी राजस्व दाखिला गर्नुपर्ने बताएका छ । नगरपालिकाले उक्त सुझाव अनुसार अर्को आर्थिक वर्षमा उक्त रकम असुल गरेको या नगरेको भन्ने कुरा सार्वजनिक गरेको छैन ।

महालेखा परीक्षकले असुल गर्नु भनेको रकम, पुष्ट्याई गर्नुपर्ने रकम आदिबारे नगरपालिकाले तत्कालै कार्यवाही गरेर सबै बेरुजु फर्छ्यौट गर्नुपर्ने नियम छ ।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रप्रसाद चौधरीले यसबारे आफूलाई थाहा नभएको र अब बुझ्ने बताए ।

‘यो पहिलेको प्रतिवेदन भएकाले त्यस बेला के भएको थियो भनेर मलाई थाहा भएन,’ उनले भने, ‘अहिले म बिदामा छु, कार्यालयमा गएपछि यसबारे बुझ्छु । समाचार प्रकाश/प्रसारणकै लागि भनेर रकम दिन त हुँदैन थियो ।’

पत्रकारिता आचारसंहिता अनुसार कुनै पनि निकायबाट कुनै पनि बहानामा आर्थिक लाभ लिएर समाचार सम्प्रेषण गर्न मिल्दैन । समाचारमूलक सामग्री सम्प्रेषण गर्नुपरेमा पनि ‘एडभर्टोरियल’ पानामा राख्ने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *