मूर्ति भेटिएपछि स्थानीयवासी भन्छन्- हराएकी आमा भेटिएजस्तै लाग्याे

ललितपुर । सुनाकोठीस्थित बालकुमारी मन्दिर परिसर उल्लासमय छ । हराएको मूर्ति भेटिएसँगै बालकुमारी मन्दिर परिसर उल्लासमय बनेको हो । माघ ९ गते मन्दिरको मूर्ति ‘बालकुमारी माजु’ हराएपछि मन्दिर उराठलाग्दो भएको थियो ।

‘हामीलाई हाम्रो हराएको आमा भेटेको जस्तै खुसी लागेको छ । खुसीको सीमा नै छैन’ श्री बालकुमारी सुनागुठीका गुठियार सदस्य निरज महर्जनले भने । ‘मूर्ति सकुल छ, कुनै दाग धब्बा छैन त्यसले हामी अझ खुसी छौँ’ उनले थपे । मूर्ति भेटिएपछि आफू मात्र नभएर सबै स्थानीय बासिन्दा खुसी भएका उनले बताए ।

मूर्तिलाई स्थानीयवासीले बाजागाजा बजाउँदै मन्दिरमा पुर्याएका थिए । आफूलाई बिहान सखारै प्रहरीले फोन गरेर मूर्ति भेटिएको बताएको र तत्काल अन्य गुठियारलाई खबर गरी प्रहरी कार्यालय पुगेको र मूर्ति बालकुमारी कै हो भन्ने यकिन गरेको उनले सुनाए । अहिले जिल्ला प्रशासन कार्यलयलाई मूर्ति भेटिएको जानकारी गराइ जात्रासहित मन्दिरको यथास्थानमा राखिएको पनि उनले जानकारी दिए ।

मूर्ति हात्तीवनको मन्दिर परिसरमा भेटियो
मूर्ति ललितपुर महानगरपालिका १५ हात्तीवनको रेडियो नेपालको टावर नजिकै बोरामा पोको पारेर राखिएको अवस्थामा भेटिएको थियो । पूजाको लागि जाँदै गर्दा एक महिलाले भेटेर मुतिबारे प्रहरीलाई जानकारी दिएको र प्रहरीले आफूहरूलाई बोलाएपछि गएर यकिन गरेको गुठियार महर्जनले बताए ।

मूर्ति खोजीलाई तीव्रता दिन गुठीले जानकारी दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने भनी घोषणा गरेको थियो । यद्यपि, चाँडै नै गुठीमा बैठक बसी पुरस्कार प्रदान बारे थप निर्णय गरिने जानकारी दिए ।

सम्बन्धितः

बालकुमारी मन्दिरको मूर्ति चोरी, खाेजी गर्न मन्त्रीकाे निर्देशन

बालकुमारी मन्दिरको मूर्ति चोरी : चोर पत्ता लगाउन कसम खुवाइने

बालकुमारी मन्दिरबाट हराएको मूर्ति खोजी गरिदिन गृहमन्त्रीलाई ज्ञापन

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *