बालकुमारी मन्दिरको मूर्ति चोरी, खाेजी गर्न मन्त्रीकाे निर्देशन

काठमाडाैँ – ललितपुर महानगरपालिका–२७ को सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति आइतवार बिहान चोरी भएको छ ।

स्थानीयवासीबाट मूर्ति चाेरी भएको खबर पाउनासाथ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, प्रदेशसभा सदस्य राजकाजी महर्जन, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय एवं प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेको छ ।

आज बिहान करिब ३ देखि ४ बजेको समयमा चोरी भएको हुनसक्ने अनुमान गरिएको प्रजिअ उपाध्यायले जानकारी दिए । उनका अनुसार नौ ताला काटी, चार ढोका फोरेर सो मूर्ति चोरी भएको छ ।

पाँच/छ सय वर्ष पुरानो लिच्छवीकालीन मूर्ति चोरीकाे घटना अत्यन्त दुःखद भएको भन्दै तत्काल खोजी गरी दोषीमाथि कारबाही गर्न मन्त्री भुसालले निर्देशन दिएकी छन्  । मन्त्री भुसालले भनिन्, “यो निन्दनीय कार्यको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको छु, विश्वास छ सो ऐतिहासिक तथा पूरातात्विक मूर्ति छिट्टै भेटिने छ ।” प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर खोजी कार्यलाई तीव्र तुल्याइएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *