संसद्‌मा दलीय छाया, के भन्छन् दलहरू ?

काठमाडौँ । संघीय संसद्‌ लामो समयदेखि चल्न सकेको छैन । एमालेको अवरोधका कारण अघिल्लो अधिवेशनभरि नै बैठक चल्न नसकेको प्रतिनिधिसभा अहिले फेरि बैठक बोलाउने र स्थगित गर्ने चक्रमा घुमिरहेको छ ।

पछिल्लोपटक माघ २६ गते बुधवारका लागि बोलाइएको बैठक कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाइसकेको र सम्भावित कार्यसूची समेत सार्वजनिक गरिसकेको अवस्थामा अघिल्लो राती स्थगित गरियो । कहिले कोभिड त कहिले सरकारको आग्रहलाई कारण देखाइएपनि यसको अन्तर्यमा चाहिँ अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीको चक्करका कारण संसद बन्धक बनाइएको छ । एमसीसीमा दलहरूबीच सहमति जुट्न नसक्दाको परिणाम संसद्‌मा देखिएको छ ।

के भन्छन् दलहरू ?
यही माघ १६ गतेका लागि बोलाइएको संसद बैठक सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादीको आग्रहमा स्थगित गरे । र, उनले माघ २६ गते बुधवारका लागि बोलाए । तर बुधवारका लागि बोलाएको बैठक पनि सरकारको आग्रहमा सापकोटाले स्थगित गरे । शुरूका केही दिनमा कोरोना भाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण संसद्‌ बैठक स्थगित गरेको भने पनि पछिल्लो समय माओवादी केन्द्रको र सरकारको आग्रहमा स्थगित हुँदै आएको छ ।

तर सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रस र माओवादी केन्द्रले एमालेका कारणले संसद् स्थगित हुँदै आएका आरोप लगाइ रहेका छन् । उनीहरूले एमालेको संसद् अवरोधका कारण बैठक बस्न नसकिरहेको बताएका छन् । माओवादी केन्द्रका नेता तथा प्रमुख सचेतक देव गुरुङले एमालेको अवारेधका कारण संसद् बैठक चल्न नसकेको बताए । उनले एमालेको अवरोधका बीच बैठक राख्दा प्रभावकारी नहुने भएकाले बैठक स्थगित हुँदै आएको बताए ।

उनले भने, ‘एमालेले संसद् अवरोध गर्दै आएको छ । यस्तो अवस्थामा संसद् बैठक प्रभावकारी बन्न सक्ने अवस्थामा छैन । संसदीय व्यवस्था, संवैधानिक व्यवस्था, विभिन्न अभ्यासले सत्ता पक्ष र प्रतिपक्षको आपसी सहमतिले संसद चल्ने हो । संसद् सञ्चालन गर्ने जिम्मेवारी प्रमुख प्रतिपक्षको हो ।’

उनले एमसीसीका कारणरले संसद् स्थगित नभएको बताउँदा एमालेले भने एमसीसीका कारणले संसद् अवरोध हुँदै आएको बताएको छ । सत्तारूढ दल, सभामुख सापकोटा र एमसीसीका कारणले संसद बैठक स्थगित हुँदै आएको एमालेकाे दाबी छ । एमालेले आफूहरूले गरिरहेको संसद् अवरोध बहाना मात्रै भएको बताएको छ । एमाले संसदीय दलका उपनेता सुभास नेम्वाङल आफूहरूले गरिरहेको संसद् अवराेध निहुँ मात्र भएको बताए ।

संसद् स्थगित हुनुमा एमाले पनि त दोषी होला भन्ने मकालुखबरको प्रश्नमा उनले भने, ‘एमाले दोषी छैन । हाम्रो संसद् अवरोध निहुँ मात्रै हो । हामीसँग त सञ्चालन गर्ने नगर्ने विषयमा छलफल पनि हुँदैन । शुरूदेखि उहाँहरूले चलाउन मन लागे चलाउनु हुन्छ, मन नलागे चलाउनु हुन्न । आफूले मन लागेको गर्नुहुन्छ । हाम्रो अवरोधले कुनै विद्येयक रोकिएका छैनन् । उहाँहरूले बजेट पास गर्दा, आर्थिक विद्येयक पेश गर्दा हामीले रोकेका छनौँ ।’ उनले संसद नचल्नुमा सत्ता पक्ष र सभामुख जिम्मेवार रहेको बताए ।

एमाले र माओवादीबीच आरोप प्रत्यारोप चलिरहँदा नेपाली कांग्रेसले भने एमसीसीमा सहमति जुट्न नसक्दा संसद् बैठक स्थगित गरेको संकेत गरेको छ । कांग्रेसले केही एजेण्डामा सहमति गरेर संसद्‌मा लैजाने भनेर बैठक स्थगित भएको बताएको छ । कांग्रेस सचेतक पुष्पा भुसालले केही एजेण्डामा सहमति गर्नु पर्ने भएकाले संसद बैठक स्थगित भएको र सहमति भए सञ्चालन हुने बताइन् ।

उनले भनिन्, ‘केही एजेण्डाहरूमा सहमति गरेर संसद्‌मा लैजाने भनेर स्थगित गरिएको हो । अहिले केही एजेण्डाहरूमा सहमति गरेर संसद्‌मा प्रस्तुत गर्ने भनेर छलफल जारी छ । छलफल गर्ने गृहकार्य आवश्यक भएकाले यो स्थगित गरिएको हो ।’ उनले एमसीसीमा सहमति जुटाएर संसद बैठक सञ्चालन गरिने बताइन् ।

एमसीसीले गर्दा संसद् अवरोध
राजनीतिक दलहरूले एक अर्कोको कारणले संसद् बैठक स्थगित हुँदै आएको बताए पनि बैठक स्थगित हुनुको कारण एमसीसी नै रहेको छ । सत्तारूढ दलमा नै एमसीसी पास गर्ने र नगर्नेबीच आन्तरिक विवाद हुँदै आएको छ । कांग्रेसले एमसीसी पास गर्न दबाब दिइरहेको छ भने माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पास गर्न नहुने बताइरहेको छ । यी दुई पार्टीबीचको आन्तरिक विवादले संसद् बैठक चल्न सकिरहेको छैन ।

यही माघ १६ गतेका लागि बोलाइएको संसद् बैठक माओवादी केन्द्रले सभामुख अग्निप्रसाद सापकोटामार्फत संसद् बैठक स्थगित गराएको थियो । १५ गते बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसद्‌मा पेश गर्ने र पास गर्न सहयोग मागे पछि माओवादीको आग्रहमा सभामुख सापकोटाले बैठक स्थगित गर्न लगाएको नेताहरूले बताएका थिए । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारको आग्रहमा स्थगित गरिएको संसद् सचिवालय स्रोतले मकालुखबरलाई बताएको थियो । प्रधानमन्त्री देउवाले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र प्रसाद बडूमार्फत संसद् बैठक स्थगित गराएको बताइएको छ ।

कांग्रेसले फागुन १६ गतेभित्र एमसीसी पास गर्नु पर्ने भएकाले सहमति गरेर संसद् सञ्चालन गर्ने बताएको छ । कांग्रेस सचेतक भुसालले भनिन्, ‘एमसीसी खुला किताब हो । फागुन १६ गतेअघि पास गर्नुपर्ने छ । संसद् सञ्चालन गरेर निर्णय गर्नुपर्ने छ । समयसिमा तोकिएको छ । त्यसका लागि छलफल गर्न आवश्यकता छ । संसद्‌मा पेश गरेर निर्णयको विषय बनाउने, निर्णय गर्ने भन्ने छ । सहमति जुटाउने प्रयास भइरहेको छ । यसलाई निर्णय प्रक्रियामा लैजाने भन्ने छ । सहमति जुटाइन्छ ।’ कांग्रेसले एमसीसी छिटो पारित गर्न खोजिरहेको छ ।

यस्तै एमालेले पनि एमसीसीका कारणले नै संसद् बैठक स्थगित हुँदै आएको बताएको छ । एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङले संसद् बैठक स्थगित हुनुमा एमसीसीले पनि असर गरेको बताए । उनले भने, ‘एमसीसीबारेका अभिव्यक्ति हेर्दा सत्तापक्ष कोही पास गर्नुपर्छ भनिरहेका छन् । कोही कुनै पनि हालतमा पास गर्नु हुन्न भनिरहेका छन् । सत्ताभित्र र सभामुखका अभिव्यक्ति हेर्दा एमसीसीमा देखिएको सत्ता गठबन्धनको विवादले पनि सदनको स्थगित भइरहेको छ । त्यसमा एमसीसीले पनि असर गरिरहेको छ ।’

तर माओवादी केन्द्रले भने एमसीसी भन्दा पनि एमालेका कारणले संसद् बैठकको स्थगित हुँदै आएको बताएको छ । माओवादी केन्द्रका नेता गुरुङले प्रतिपक्षले संसद बैठक रोकिरहेको सबैलाई थाहा भएको बताए । उनले भने, ‘प्रतिपक्षले संसद बैठक रोकिरहेको सबैलाई थाहा छ । एमसीसी एजेण्डा भयो । त्यो एजेण्डा टेबुल हुनसक्छ कि सक्दैन । सदनको लागि यो कानुनी योग्य छ कि छैन । संविधान योग्य छ कि छैन । यो टेबुल गर्न मिल्ने विषय होकी होइन । यो एउटा पाटो भयो । संसद् स्थगित छ भने त एजेण्डा त कुनै विषय नै भएन ।’

बुधवार बस्ने संसद्को बैठकका लागि सचिवालयले सम्भाव्यता कार्यसूची सार्वजनिक समेत गरेको थियो भने सभामुख सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान ११ बजेका लागि बोलाएका थिए । एमसीसी पास गर्न नहुने पक्षमा रहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएसँगै प्रचण्ड नैतिक दबाब परेका छन् ।

संसद् बैठक बस्न नसक्नुमा सभामुख जिम्मेवार : एमाले
सभामुख सापकोटा संसदको नभएर पार्टीको भएको आरोप लाग्दै आएको छ । नेकपा एमाले पार्टीका तत्कालीन वरिष्ठ नेता माधव कुमार नेपाललगायत १४ सांसदलाई कारबाही गर्न संसद् सचिवालयमा पत्र पठाएको थियो । तर सभामुखले कारबाही नगरेर माधव नेपालले पार्टी विभाजन गरी अर्को पार्टी दर्ता गरेपछि अब कारबाही गर्नु आवश्यक नरहेको भन्दै सूचना टाँस गरेका थिए । त्यसपछि उनलाई एमालेले प्रतिनिधिसभाको नभएर माओवादी केन्द्रको सभामुखको भएको आरोप लगाउँदै आएको छ ।

एमालेले संसद् बैठक सञ्चालन हुनुमा सरकार जिम्मेवार हुने भएपनि अहिले सभामुख पनि त्यति नै जिम्मेवार भएको आरोप लगाएकको छ । नेता नेम्वाङले सभामुखले एमसीसीबारेमा दिइरहेको अभिव्यत्तिले प्रभाव पारिरहेको बताए । उनले भने, ‘सभामुख जीले एमसीसीबारे आफ्नो विचार व्यक्त गरिरहनु भएको छ । म यो गर्छु, यो गर्दैन भनेर । उहाँले संसद्को बैठकमा प्रभाव पारिरहनु भएको छ । यो सभामुखले अधिकारको कुरा होइन । यसले सभामुखसँग कुनै मतलब राख्दैन । संसद् र सभामुखको विजनेसको कुरा हो । सरकारले म यो पेश गर्छु भने सभामुखलाई मन परेको होस् वा मन नपरेको होस् , त्यसमा कुनै मतलब हुँदैन । सभामुखले त्यसलाई अगाडि बढाउनु पर्छ । त्यस्तो देखिएको छैन । त्यसैले सभामुख त्यसमा डुब्नु भयो ।’

अहिले संसद् बैठक स्थगित गर्नुमा पनि सभामुख सापकोटाले त्यही दलीय रूप देखाइरहेका छन् । उनी प्रतिनिधिसभाको भन्दा पनि माओवादी केन्द्रको सभामुखको रूपमा देखिँदै आएका छन् । संसद् बैठक सञ्चालन गर्नुमा उनको स्वविवेक हुनुपर्ने हो तर उनले माओवादी र सरकारले जसरी चलायो त्यसरी चलिरहेका छन् । यही माघ १६ गते बोलाएको प्रतिनिधिसभाको बैठक माओवादी केन्द्रको आग्रहमा स्थगित गरेका थिए भने आजको लागि बोलाइएको बैठक सरकारको आग्रहमा स्थगित गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *