लय पक्रिँदै पूर्वाञ्चल विश्वविद्यालय, एमबीबीएस सञ्चालनको तयारी

विराटनगर । सुन्दरहरैँचा नगरपालिकाको गोठगाउँमा पर्याप्त पूर्वाधार भएर पनि वर्षौंदेखि पूवाञ्चल विश्वविद्यालयको केन्द्रीय निकायहरू सबै लामो समय विराटनगरमै केन्द्रित भए । केन्द्रीय कार्यालय, डिनका कार्यालयहरू, सेवा आयोग लगायतका सबै कार्यालयहरू विराटनगरमा थिए ।

एक त भाडाको भवनमा अप्ठेरोका बीच सञ्चालनमा रहेको केन्द्रीय कार्यालय गोठगाउँ लग्नु पर्छ भन्नेमा कुनै उप-कुलपति देखिएनन् । आएका उपकुलपतिहरू सबै विराटनगरकै मनस्थितिबाट बाहिर निस्कन नसक्दा निर्णय गर्ने तर कार्यान्वायनमा जान सक्ने अवस्थामा थिए । विश्वविद्यालयले कार्यालयको नाममा लाखौँ रुपैयाँ घर भाडाका नाममा बुझाउँदै आएको थियो ।

गोठगाउँबाटै सबै काम हुनुपर्ने माग गर्दै स्थानीयवासीले विगतदेखि पटकपटक आन्दोलन गर्दै आएका थिए । केन्द्रीय कार्यालय विराटनगरमा नै हुँदा गोठगाउँका संरचना लथालिङ्ग अवस्थामा थियो । केन्द्रीय कार्यालय विराटनगर बस्दा गोठगाउँका हरेक गतिबिधि प्रभावकारी नभएको भन्दै सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाललले पनि पटक पटक सार्वजनिक रूपमा बोल्दै आएका थिए । नागरिक स्तरको चौतर्फ दवावका बिच गतवर्ष विश्वविद्यालयको केन्द्रीय कार्यालय, सेवा आयोग लगायतका केन्द्रीय संरचना गोठागाउँमा रहेको आफ्नै भवनमा सर्‍याे ।

सरकारले उपलब्ध गराएको आठ सय पाँच बिघा जमिनमा निर्माण गरिएको संरचनाहरू अहिलले उपयोगमा आएका छन् । यसअघिका उपकुलपतिहरू विराटनगरमै केन्द्रीकृत हुन खोज्ने मनस्थितिका कारण गोठगाउँ अलपत्र अवस्थामा पुगेको थियो । सरकारले नयाँ उपकुलपतिमा प्रा.डा. यादवराज कोइरालालाई नियुक्त गरेपछि उनले विराटनगरको पुष्पलाल चोकमा रहेको संरचना गोठगाउँ सार्ने आँट गरे ।

एकातर्फ घरभाडामा ठूलो धनराशी खर्च हुने अर्को तर्फ विश्वविद्यालयको काम समेत प्रभावकारी हुन नसकेको महसुस कार्यालय भित्रैका कर्मचारी तथा पदाधिकारीहरूले गर्दै आएका थिए । त्यो अप्ठेरोको महसुस गर्दा गर्दैपनि विराटनगर नैै घर भएका कर्मचारी र विश्वविद्यालयका पदाधिकारीहरू विराटनगर छोड्ने मनस्थितिमा पटक्कै थिएनन् । कार्यालय सार्नु पर्छ भन्ने तर कार्यान्वायन गर्न नसकेको अवस्था थियो । २६ वर्षसम्म विराटनगरमा रहेको विश्वविद्यालयको कार्यालय गोठगाउँमा लग्ने बारेमा धेरैले सुइँकोसम्म पाएनन् । यसको कारण थियो नीतिगत रूपमा भएको केही सकारात्मक निर्णयहरू ।

ऐन संशोधनले सजिलो
गोठगाउँमा सरकारले विश्वविद्यालयलाई जग्गा दिएको त थियो नै त्यसैको आडमा थुप्रै संरचना हरेक वर्ष बन्दै गए । बनेका संरचना प्रयोगमा आएनन् । विराटनगरमा केन्द्रीय कार्यालय हुँदा भएका संरचना भग्नावशेषका रूपमा रहेका थिए ।

त्यसको कारण भनेको विश्वविद्यालय सञ्चालन ऐनमा केन्द्रीय कार्यालय विराटनगर हुने भनिएको रहेछ त्यसलाई संशोधन गरेपछि त्यसलाई कार्यान्वायन गरिएको पूर्वाञ्चल विश्ववविद्यालयका उपकुलपछि प्रा.डा. यादवराज कोइरालाले जानकारी दिए ।

‘विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा ल्याउनको लागि पहिला ऐन संशोधन भयो, उपकुलपति कोइरालाले भने, ऐन संशोधन भएर आएपछि पनि अवस्था सहज थिएन आँटैले सरेको हो ।’ भवन मात्र रहेको गोठगाउँमा कार्यालय सञ्चालनको कुनै अवस्था थिएन । त्यहीपनि विश्वविद्यालयको केन्द्रीय कार्यालय २०७७ मंसिर ८ गते विराटनगरबाट गोठगाउँ सरेको हो ।

‘कुनैपनि कार्यकक्ष थिएन, उपकुलपति, रजिष्टार, डीनका कार्यालय कार्यकक्ष थिएनन्’, उपकुलपति कोइरालाले भने, ‘गोपनियतासँग जोडिएकोले हामीले आल्मुनियमले बारेर काम चलाउँदै जाँदा अहिले एउटा थिति बस्दै गएको छ।’

‘खण्डहर रहेका अवासहरूलाई अहिले सञ्चालनमा ल्याइएको छ। यहीँ बस्यो भने यसको स्वामित्व लिन सकिन्छ भने यहीँ भएको संरचनालाई मर्मत सम्हार गरेर बसेको छु, उपकुलपति कोइराला भन्छन्, सबै डिनका कार्यालयहरू गोठगाउँ नै सारेको छु, परीक्षा नियन्त्रण कार्यालय अब पुष्पलाल चोकमा रहेको आफ्नै भवनमा सार्ने तयारी गरिएको छ।’

गोठगाउँबाट प्रशासनिक काम सञ्चालन हुन थालेपछि कर्मचारीको दक्षतामा समेत वृद्धि भई सेवा प्रवाह प्रभावकारी बन्नुका साथै प्राज्ञिक, प्रशासनिक र सेवा प्रवाहमा विश्वविद्यालयले गति लिएको छ । ‘कार्यालय एकातिर सेवा प्रभावहको क्षेत्र अन्यत्र हुँदा काम प्रभावकारी देखिएन, कोइरालाले भने, म नियुक्त भएर आएपछि अवस्थाको अध्ययन गरेर कार्यालय गोठगाउँ सार्ने निधो गरेँ ।’

स्थानीयका आकांक्षा
विश्वविद्यालय आफ्नै भवनमा सरेपनि विश्वविद्यालयले धेरै कुरामा सुधार गर्न बाँकी रहेको स्थानिय बताउँछन् ।

सुन्दरहरैँचाका स्थानीय हरि भट्टराईले विश्वविद्यालयको जग्गा अतिक्रमण रोक्नु पर्ने बताए । ‘पहिला देखि नै धेरै जग्गा अतिक्रमण हुँदै आएको छ’, उनले भने, कार्यालय अन्त सरेपनि अन्य विषयहरू अझै सुधार हुन बाँकी नै छ।’ भट्टराई मेडिकल कलेज सञ्चालन तथा अस्पतालको स्तरोन्नति हुनुपर्ने बताउँछन् ।

पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ सरेपछि आर्थिक रूपमा विश्वविद्यालयलाई फाइदा मात्र भएको छैन वर्षौदेखी बेवारिसे रहेका संरचना समेत उपयोगमा आएका छन भने सेवा प्रवाह समेत प्रभावकारी भएको छ ।

मेडिकल कलेज स्वीकृतको चरणमा
केन्द्रीय कार्यालय गोठगाउँ सरेपछि प्राज्ञिक गतिविधि बढेको महसुस त्यो क्षेत्रका व्यक्तिहरूले नै महसुस गरेका छन् । सुधारको लागि केही कामहरूकोे थालनी भएको छ । २७ वर्षसम्म एउटै सिस्टममा चलेको संरचनालाई अलिकति नयाँ रूपमा अघि बढाउँदा केही अप्ठेरो जस्तो देखिएपनि विश्वविद्यालयका कर्मचारीले यसलाई सहज रूपमा लिएको दाबी पदाधिकारी तहको छ। पूर्वाञ्चल विश्वविद्यालयले एमबिबिएस पढाउनका लागि कोशी अस्पतालसँग एमओयुमा हस्ताक्षर गरिसकेको उपकुलपति कोइरालाले बताए । ‘एमबीबीएस सञ्चालनका लागि चिकित्सा शिक्षा ऐनले ३०० बेडको हस्पिटल हुनु पर्ने भनिएको छ, त्यसको लागि कोशी अस्पतालसँग एमओयुमा हस्ताक्षर गरिएको छ’, प्रा‍.डा. कोइरालाले मकालुखबरलाई भने, ‘हामीसँग ५० बेड अस्पताल छ, १०० बेडको ब्याइज होष्टललाई हटाएर बनाउँदै छौँ, कोशी अस्पतालसँगको सहकार्यले हामीलाई स्वीकृती लिज सजिलो हुन्छ ।’ यो वर्ष प्रशासनिक र प्राविधि विषय मिलाउन समय लाग्ने भएकोले अर्को वर्षदेखि एमबीबीएस सञ्चालन गर्न सकिने कोइरालाले बताए ।

प्रतिक्रिया

One thought on “लय पक्रिँदै पूर्वाञ्चल विश्वविद्यालय, एमबीबीएस सञ्चालनको तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *