कोशी अस्पतालमा बन्यो सुविधासम्पन्न बर्थिङ सेन्टर

विराटनगर । मोरङको केशी अस्पतालमा सुविधासम्पन्न बर्थिङ सेन्टर निर्माण पूरा भएको छ । अमेरिकी दूतावासको सहयोगमा अमेरिकी सेनाले निर्माण गरेको बर्थिङ सेन्टर कोशी अस्पताललाई हस्तान्तरण गरेको हो ।

सुरक्षित मातृत्वको सेवा प्रदान गर्ने उद्देश्यले अस्पताललाई ७१ बेड क्षमताको सुविधा सम्पन्न बर्थिङ सेन्टर निर्माण गरी हस्तान्तरण भएको कोशी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ट डा‍‍. चुमनलाल दासले जानकारी दिए ।

अस्पताल हाताभित्र अमेरिकी सेनाद्वारा निर्माण सम्पन्न भएको बर्थिङ सेन्टर अस्पताललाई हस्तान्तरण गरिएको उनले बताए । पुरानो बर्थिङ सेन्टरमा व्यावहारिक तथा प्राविधिक समस्याहरू धेरै रहेको थियो ।

पुरानो भवन जीर्ण र फोहोरका कारण सेवाग्राहीलाई समस्या हुँदै आएको थियो । ‘पर्याप्त बेडहरू पनि थिएनन्, मेसु दासले भने, बर्थिङ सेन्टरको सञ्चालनसँगै गर्भवती महिलाहरूले सुरक्षित र गुणस्तरीय सेवा पाउने छन् ।’

बर्थिङ सेन्टर केही दिनभित्रै सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ । सम्पूर्ण अत्याधुनिक सेवाहरू सहित बर्थिङ सेन्टर सञ्चालनमा आउनेछ । बर्थिङ सेन्टरका लागि कोशी अस्पतालसँग हाल आठ जना विशेषज्ञ डाक्टरहरू छन् । दुई तले संरचना सहितको बर्थिङ सेन्टरको निमार्ण कार्य २०७७ असारदेखि शुरू भएको थियो ।

केही दिनअघि मात्रै निर्माण सम्पन्न भएको उक्त बर्थिङ सेन्टर करिब १२ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । बर्थिङ सेन्टरमा हाल दुईवटा अपरेशन थिएटर, डेलिभरी रुम र ब्लड रेफ्रिजेरेटर लगायतका सुविधाहरू छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *