कोशी अस्पतालको सुधारमा दलहरूको चासो

विराटनगर । कोशी अस्पतालको सुधारका लागि मोरङका राजनीतिक दलहरूले रिफरन नमुना अस्पतालका रूपमा स्थापित गर्न एक हुने प्रतिबद्धता जनाएका छन् । आगामी आर्थिक वर्षको बजेटमा कोशी अस्पताललाई प्राथमिकतामा राख्नका लागि अस्पताल विकास समिति र अस्पताल प्रशासनको नेतृत्वमा सबै दलहरूले साझा रूपमा पहल गर्ने बताएका हुन् ।

अस्पतालको क्षमता विस्तार गरी ५ सय बेडको अस्पताल बनाउन भएको ओएनएम सर्भे पारित गराउन भूमिका खेल्ने पनि उनीहरूले बताएका हुन् । अस्पतालको सही व्यवस्थापनका लागि दलहरूको तर्फबाट बेला–बेला अनुगमन र निरीक्षण गरी समस्या समाधानमा सकारात्मक पहल गर्ने उनीहरूको भनाइ छ ।

कोशी अस्पतामा पहुँचवालाले मात्र सेवा पाएको नागरिकमा गुनासो बढ्दै जाँदा दलहरूले अनावश्यक हस्तक्षेप नगर्ने र पहुँच नदेखाउने बताएका छन् । नागरिकले सेवा नपाउने र पहुँचवालाले मात्र सेवा सहजै पाउने गरेको गुनासो आएपछि संवाद समुहले गरेको संवादको क्रममा दलहरूले आफ्नो तर्फबाट काम थाल्ने बताएका हुन् ।

पूर्व सामाजिक विकास मन्त्री तथा प्रदेश सभा सदस्य जीवन घिमिरेले कोशी अस्पतालको बिग्रिएको शाख जोगाउनुपर्ने अहिलेको चुनौती रहेको बताए । ‘हिजोको तुलनामा केही सुधार हुँदै गएको छ’, उनले भने, ‘कहिले प्रदेश र कहिले संघीय सरकार माताहतमा हुँदा समस्या भएको थियो, अहिले संघीय सरकार माताहतमा हुँदापनि केही कामहरू देखिएकाे छ ।’ उनले कोशी अस्पताल प्रदेशकै रिफरल अस्पताल भएकोले नमुना रिफरलफ अस्पतालको रूपमा विकास गर्न दलहरूले भूमिका खेल्नु पर्ने बताए ।

नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले नागरिकलाई दिने सेवा प्रवाहको बारेमा सूचना प्रणाली व्यवस्थित नभएको बताए । ‘सूचना अभावका कारण सेवाग्राही अलमलमा पर्ने अवस्था छ’, उनले भने, ‘ओपीडी, इमर्जेन्सीको बारेमा पनि जानकारी प्राप्त गर्न अप्ठेरो छ, सेवा पाउने र दिने बारेमा एउटा हल बनाएर हेल्प डेस्क बनाएर जाने हो भने धेरै नागरिकको समस्या समाधान गर्न सकिन्छ ।’

अस्पताल प्रवेश गर्ने बितिकै सेवा के पाउने, कहाँ–कहाँ पाउने, कति बजेदेखि कतिबजेसम्म सेवा पाउने भन्ने सूचना नागरिकलाई दिनुपर्ने बताए ।

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पतालको जनशक्तिलाई सही व्यवस्थापन गर्ने हो भने धेरै समस्या समाधान हुने बताए । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्ने र काम नगर्नेलाई कार्वाही गर्नेगरी जानुपर्ने उनको धारणा छ । अस्पतालको सुधार गर्न दलका प्रतिनिधि सहितको उपस्थितिमा समितिका पदाधिकारी, प्रशासन प्रमुख, शाखा प्रमुखहरू बसेर छलफल गरेर जानसक्नुपर्ने बताए ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले समस्या दलहरूमा नै रहेको बताए । ‘हामीबाट शुरू भएको समस्या हामी जहाँ-जहाँ जन्छौँ त्यही जान्छ’, उनले भने, ‘पहिला हामी सुध्रिएपछि मात्र संस्थाहरू सुध्रिन्छ ।’ सरकारले तोकेको समयभित्र कार्यालयमा नबस्ने डाक्टरलाई कारबाही गर्नुपर्ने बताए । ‘अहिले डाक्टरहरू कारबाही हुँदैन भन्नेमा देखिन्छन्’, उनले भने, ‘काम नगर्ने नागरिकप्रति जवाफदेही नहने डाक्टरलाई कारबाही गर्ने हो भने सबै समस्या हल हुन्छ ।’

जसपाका नेता राजकुमार यादवले डेलिभरी अवस्थामा अस्पताल जाँदा पनि भर्ना नहुने गरेको बताए । ‘पहुँचवाला गएको छ भने चाँडो भर्ना हुन्छ’, उनले भने, ‘अन्य व्यक्ति गयो भने भर्ना पाउने अवस्था छैन ।’ तर कोशी अस्पतालमा पहिलाको भन्दा केही सुधारको छनक देखिएको उनले बताए ।

लोसपाका नेता मोहम्मद कादिरले ग्रामीण क्षेत्रबाट आउने सर्वसाधारणलाई धेरै दुःख हुने गरेको बताए । पहुँचको आधारमा मात्र सेवा पाउँदा अप्ठेरो अवस्थामा सेवा पाउनु पर्ने नागरिक बञ्चित हुने अवस्था आउने बताए । अस्पताल विकास समितिले सबै दलहरूलाई बोलाएर समस्याको बारेमा छलफल गर्ने हो भने धेरै समस्या हल भएर जाने बताए । राप्रपाका नेता माधवराज आचार्य र टंक गुरागाइँले आर्थिक अवस्था कमजोर भएको व्यक्ति उपचारको लागि जाने गरेकाले यस्तो अवस्थामा नागरिकका गुनासा सुन्न हेल्पडेस्क राखिनु पर्ने बताए ।

के हुँदै छ अस्पतालको काम ?
कोशी अस्पतालको समस्या भिड व्यवस्थापन, भौतिक संरचनाको निर्माण, अस्पतालको क्षमता विस्तारसँग जोडिन्छ । अस्पतालको क्षमता विस्तारको लागि संघीय सरकारले चासो दिएको देखिँदैन ।

५०० बेड क्षमताको लागि ओएनएम सर्भे र आवश्यक पर्ने निर्णयहरू गरेर कोशी अस्पताल प्रशासनले निर्णय गरेर पठाएको भएपनि त्यसको लागि स्वीकृत प्रदान गर्ने काम नभएको अस्पताल विकास समितिका अध्यक्ष महेश भट्टराईले जानकारी दिए । कोशी अस्पतालललाई ५ सय बेडको रूपमा स्वीकृती प्रदान गर्ने हो भने अहिलेको जनशक्तिको समस्या समाधान हुने उनको भनाइ छ । अहिले निर्माण शुरू भएको भौतिक संरचनाको काम पूरा हुँदा एक हजार बेड क्षमताको काम हुने बताए ।

‘कोशी अस्पतालमा साँढे ७ अर्बको रकमको गुरुयोजना शुरू भएको छ, उनले भने, साँढे ३ अर्बको १० तले भवना बनाउने शुरू भएको छ ।’ तत्काल २० करोडबाट अस्पताल सुधारको स्तरोन्नतीको काम शुरू भएको उनले बताए । ‘अक्सिजन प्लान्ट ३ वटा तयार भएको छ’, उनले भने, ‘दुईवटा नर्मल खालको १०० र १९० सिलिण्डर खालको छ भने, २ हजार सिलिण्डर क्षमताको लिक्वीड प्लान्ट तयार भएको छ ।’ फोहोर प्रसोधनका लागि थन्किएका २ करोडको मेसिनबाट फोहोर व्यवस्थानको काम अघि बढाइएको दाबी उनको छ ।

प्रसुतिबाट निस्किएको फोहोर व्यवस्थापनको लागि बायोग्यास प्लान्ट शुरू भएको छ । ग्यासहरू निकालेर अस्पतालले प्रयोग गर्नसक्ने गरी काम शुरू भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *