रोटेपिङ राजनीति

ब्रिटिस प्रधानमन्त्री विस्टन चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । राष्ट्रपति रुजवेल्ट पक्षाघातको बिरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल रहेको कोठामा आए । उता चर्चिल चाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका थिए । यस्तो अनपेक्षित दृश्य देखेर उनले रिसाउँदै प्रश्न गरे- ‘लाज, सरम, घिन केही छैन, यस्तो के तमासा देखाउनु भएको ? ’ चर्चिलले हाजिरी शैलीमा उत्तर दिए- ‘म तपाईँलाई केवल यो बताउन चाहन्थेँ कि यो अवस्थामा ब्रिटिस सरकार समक्ष त्यस्तो कुनै कुरा छैन, जो अमेरिकी राष्ट्रपतिका सामु गुप्त राख्न सकियोस् ।’

नेपालका अधिकांश शासकहरूको हालत चर्चिलको जस्तै छ । अरूले भरिदिएको हावाको गतिमा उड्ने बेलुनभन्दा परको अवस्था यहाँका सत्तारुढहरूको कहिल्यै रहेन । जसले हावा भरिने मौका पाएनन् , तिनीहरूका लागि सत्ता सधैँ अंगुर अमिलोको कथासरह बन्यो । हिन्दी सिनेमाको यो गीत शायद नेपाली राजनीतिलाई देखेर बनाएको हुनुपर्छ- ‘जितनी चाभी भरी राम ने, उतनी चली खिलोना ।’ कुनै आग्रह, पूर्वाग्रह होइन अहिलेसम्म सर्वाधिक महत्त्वपूर्ण भनिएको २००७ सालको राजनीतिक क्रान्तिका नायक मानिएका त्रिभुवनले आत्मसमर्पण गरेका थिए तर बर्दी भिराइयो राष्ट्रपिताको । गाँस, बास, कपास सुरक्षित गरेर प्रवासमा मुन्टो लुकाउनु नायकत्व हुँदै होइन । यसरी रोपिएको निर्देशित प्रजातन्त्रको बेर्ना प्रचण्डपथसम्म आउँदा पनि दुईपाते हुन सकेन । त्यो समयका लेखकले त्रिभुवनलाई राष्ट्रपिताको पदवी भिराए भने अहिलेका लेखकहरूले प्रचण्डलाई देवअवतार हुँदै भित्ते राष्ट्रपतिमा थन्क्याए । प्रकारान्तरले उनका लागि प्रधानमन्त्री पद फगत मुन्टो लुकाउने जागिर बन्यो ।

अरूले भरिदिएको हावाको गतिमा उड्ने बेलुनभन्दा परको अवस्था यहाँका सत्तारुढहरूको कहिल्यै रहेन । जसले हावा भरिने मौका पाएनन् , तिनीहरूका लागि सत्ता सधैँ अंगुर अमिलोको कथासरह बन्यो ।

मुलुक राणा शासनबाट मुक्त भएपछि प्रजातान्त्रिक नेपालका ‘लोकप्रिय’ राजा त्रिभुवनले भनेका थिए- ‘जनताहरूद्वारा निर्वाचित हुने प्रतिनिधिहरूद्वारा बनाइने प्रजातान्त्रिक संविधानअनुसार शासित होउन् भन्ने हाम्रो सदैवदेखिको इच्छा र संकल्प छ । हाम्रो देशको परिस्थितिमा सम्भव हुने यथाशक्य शीघ्रताको साथ संविधानसभाका लागि चुनाव गरिने प्रयत्न गरिँदैछ । हाम्रो देशको संविधान त्यही हुनेछ । जुन यस संविधानसभाद्वारा तयार गरिनेछ ।’ राजा त्रिभुवनको यो सपना उनी बाँचुन्जेल पूरा हुने छाँटकाँट कतै आएन । उनका छोरा महेन्द्रले राजपाट सम्हालेको चार वर्षपछि देशवासीका नाममा गरेको सम्बोधन त झन् विरक्त लाग्दो थियो- ‘हालै इलेक्सन कमिसनबाट पेस भएको रिपोर्ट र मन्त्रिमण्डलबाट उक्त घोषित तिथिमा आमचुनाव हुन नसक्ने ब्यहोरा उल्लेख गरी चुनाव यथाशक्य, यथाशीघ्र गराउन प्रयत्नशील हुनेछ भन्ने हाम्रो हजुरमा जाहेर हुन आएबाट सो घोषित तिथिमा चुनाव हुन नसक्ने भएको छ भनी आज फेरि घोषणा गर्नुपरेकोमा स्वभावतः हामीलाई जति खेद लागेको छ सो देशवासीलाई पनि भनिरहनुपर्ने कुरो छैन ।’ ६ दशकपछि गणतान्त्रिक मुलुकका दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीको हालत पनि दुरुस्त उस्तै छ । त्यो बेला पनि राजा महेन्द्रले दलहरूलाई यस्तै नैतिकताको पाठ सिकाउँथे, जसरी अहिले विद्याले सिकाइरहेकी छन् । यी सबै घटनाक्रमले उब्जाएको एउटै प्रश्न हो- दशकौँ एउटै रोटेपीङमा हामी किन मच्चिरहेका छौँ ? कहिल्यै घिउ नलाग्ने धोका र कपटको राजनीतिक खेल कहिलेसम्म खेलिरहने ? यस विषयमा घोत्लिने समय धेरैपल्ट घर्किसकेको छ । अहिले त झन् नागरिक भएका राजाले आफ्नो पीडा पोख्दा गणतन्त्रका सारथिहरूको मुटुमा ढ्याङ्ग्रो ठोक्छ भने त्यो गणतन्त्रको जग कति मजबुत रहेछ भन्ने आफैँ प्रष्ट हुन्छ । आफ्नो डर भगाउन उनीहरू दरबार हत्याकाण्डको ट्रम्पकार्ड देखाउने सम्मको निकृष्टता प्रदर्शन गर्न पुगे । दरबार हत्याकाण्ड, मदन भण्डारी दुर्घटना, बिपी कोइरालाको सत्ता अवसान यस्ता काण्डहरू हुन, जसको सिङ पुच्छर खुट्याउने तागत भएका माइकलाल समकालीन पुस्ताले पाएको छैन भनेर ठोकुवा गर्न सकिन्छ । आफ्नो जागिर बचाउन गरिने यस्तै कुकर्मको परिणाम सधैँ हात लाग्ने गरेको एउटै बस्तु हो- पश्चात्ताप ।

राजनीतिमा मात्र हैन, हामीले दैनिक भोग्ने र सुन्ने आख्यानका नियति उस्तै छन् । रामायणकालीन महर्षि परशुराम यति घमण्डी र रिसाहा थिए कि जो सँग पनि लड्न तयार हुन्थे । कतिसम्म भने आफ्ना पिताजी क्षेत्रीयसँगको युद्धमा मारिएपछि उनले क्षेत्रीलाई विद्या नै नसिकाउने संकल्प गरे । आखिर आख्यानको त्यही हठी परशुराम पात्रका अवतारहरूले अहिले पनि समाजमा विचित्र लीला देखाइरहेका छन् । यी पात्रहरु कतै गुण्डागर्दीको कमाइमा कानुन आफ्नो मुट्ठीमा कैद गर्ने अघोरी त कतै जातीय नारा उचालेर वर्ग विभाजनको अभियन्ता बन्दै हिँडिरहेका छन् । ‘नयाँ नेपाल’ फिलिमको नाम दिएर खेलिएका खेलका फेहरिस्त यति घिनलाग्दा र निकृष्ट छन् कि जसलाई असभ्यताको पराकाष्ठा मान्दा फरक पर्दैन । बिपीको समाजवाद, मदन भण्डारीको बहुदलीय जनवाद र माओको नौलो जनवाद क्रसर उद्योग, जग्गा दलाल, घुसखोर, हाइड्रोपावरका खेलाडी र राजश्वमाराको कब्जामा पुगेर खरानी भएका छन् । ०४६ सालको परिवर्तनलाई विस्थापित गर्न रिमिक्स शैलीमा उतारिएको संघीयता र गणतन्त्रले मुलुकलाई न गरी खानु , न मरी जानुको अवस्थामा पुर्‍याएको छ । सत्ताका हेडसरहरू भाषणमा जतिसुकै फुर्तिला देखिएपनि काममा मालपोतको काइते खरिदारको हैसियत राख्न छोडिसके । त्यही कुर्सीमा बसेका बहुदलीय व्यवस्थाका प्रधान मन्त्रीहरूले आफ्नो अनुकूल नहुनासाथ संसद् भंग गरेर चुनाव घोषणा गर्थे । नाफा घाटा आफ्नो ठाउँमा होला तर तत्काल चुनावका प्रक्रिया अघि बढ्थे । अहिले त्यही कार्यकारी प्रधानमन्त्रीमा संविधानको सामर्थ्यमा प्राण हाल्ने तागत हराएको छ । कुर्सीमा बसेकाहरू राम्रो या नराम्रो कामको स्वामित्व लिन समर्थ हुँदैनन् भने तिनीहरूले कुर्सीको यात्रा नगर्नु नै बेस हुन्छ ।

‘नयाँ नेपाल’ फिलिमको नाम दिएर खेलिएका खेलका फेहरिस्त यति घिनलाग्दा र निकृष्ट छन् कि जसलाई असभ्यताको पराकाष्ठा मान्दा फरक पर्दैन । बिपीको समाजवाद, मदन भण्डारीको बहुदलीय जनवाद र माओको नौलो जनवाद क्रसर उद्योग, जग्गा दलाल, घुसखोर, हाइड्रोपावरका खेलाडी र राजश्वमाराको कब्जामा पुगेर खरानी भएका छन् ।

भारत, चीन, अमेरिकाले सरकार सफल पारिदिन्छन् भन्ने चिन्तन उहिल्यै खोटो मोहोर साबित भइसकेको छ । यो फर्मुला विश्व दुई शक्ति राष्ट्रमा विभाजित हुँदा ताकाको कोल्ड वार समयको भूत मात्र हो । अहिलेसम्म पनि त्यही खोटो मोहोर बिकाउनेहरूको दबदबाबाट मुक्त हुन नसक्नु ओरालो यात्राको प्रमुख कारण हो । अहिले मात्र हैन, उहिल्यै देखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ । जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो । तीर्थाटनमा आएकी एउटी महिलासँग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस बनाइदिए ।

नेताहरू थुन्ने पनि अरू नै, छुटाउने पनि अरू नै । कुर्सीमा आसीन गराउने पनि अरू, खँदार्ने पनि अरू नै । शायद मर्दहरू नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ । कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ । २००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किँदो थियो । नजरबन्दमा रहेका बिपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो । भारतीय नेताहरू महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरुले मानवताको नाताले रिहाइको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए । पद्मशम्शेरका नाममा लोहियाले लेखेको पत्रमा भनिएको छ- ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईँलाई भेट्न आउँदैछन् । श्री विश्वेश्वर प्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ । उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोसिस गर्न सकिन्थ्यो । मलाई विश्वास छ यी युवकको मृत्युबाट हामी सबैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरेमात्र बचाउने थोरै आशा बाँकी रहन्छ । विश्वेश्वरको रिहाइ नेपाल भारत दुवैका लागि कल्याणकारी हुन्छ । आशा छ- तपाईँको तर्फबाट मानवीय कर्म हुनेछ ।’ यता पद्यशम्शेरले पनि प्रजातन्त्रको माग गर्दै सत्याग्रहमा उत्रिएकाहरूको माग सम्बोधन गर्नकै लागि नेहरुसँग आग्रह गरेका थिए । सोही प्रयोजनका लागि नेहरुले आफ्ना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रघुनाथसिंह, रामउग्रसिंहजस्ता कानुनविद् नेपाल पठाइदिए । आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरुलाई भेट्न गए । नेहरुले भनेका थिए- तपाईँहरू के का आधारमा विवरण दिनुहुन्छ थाहा छैन मलाई । मैले पनि आफ्ना चारजना प्रतिनिधिहरू पठाएँ । जसमध्ये दुईजना विश्वासपात्र र भरपर्दो चरित्रका थिए । तिनीहरूले त तपाईँहरूले भन्दा बिलकुलै अर्कै प्रकारका खबर ल्याए । तपाईँहरूले एक्कैचोटि धेरै आशा गर्नुहुन्न । तिनीहरूले महाराजलाई एकान्तमै भेटेका थिए । महाराजको भनाइ छ- ‘सुधारको प्रगति आन्दोलनले गर्दा पछाडि घचेटिएको हो ।’ दोहोरो चरित्रको यस्तो कुटिल राजनीति अहिले झन् पेचिलो बन्दै गएको छ । पहिला त कम्तीमा संवाद हुन्थ्यो, अहिले त इसारामा काम तमाम हुन्छ ।

संघीयता त्यस्तो लुतो हो, जसले कम्तीमा डेढ दशक सङ्क्रमणतर्फ देशलाई धकेल्छ । एउटा पुलिसको सिपाही सरुवा बढुवामा त विवेक राख्न नसक्ने राजनीतिक नेतृत्वले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, वित्तीय संघसंस्थाहरुको क्षेत्रीय स्वायत्तताको व्यवस्थापन कसरी गर्लान् ? सोच्दा पनि कहाली लाग्छ ।

छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्त्वाकाङ्क्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरूको ढाडस पाएका जंगबहादुरले पहिले आफूलाई राणाजी बनाए । आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पुर्‍याए । भाइहरूको विवाह राजा खलकसँग मात्र गराएनन्, आफूलाई श्री ३ घोषणा गरेर राजपाटमा प्रभाव जमाए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिएपनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।

संघीयता त्यस्तो लुतो हो, जसले कम्तीमा डेढ दशक सङ्क्रमणतर्फ देशलाई धकेल्छ । एउटा पुलिसको सिपाही सरुवा बढुवामा त विवेक राख्न नसक्ने राजनीतिक नेतृत्वले कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका, वित्तीय संघसंस्थाहरुको क्षेत्रीय स्वायत्तताको व्यवस्थापन कसरी गर्लान् ? सोच्दा पनि कहाली लाग्छ । राज्यको जीवनमा गरिने सानो गल्तीले शाखा दरसन्तानको भविष्य अन्धकारमा धकेलिन्छ । देश रत्नपार्कमा बेच्न राखिएको ओखतीको विज्ञापन शैलीले चल्दैन । देशका योजनाले ५० वर्षपछि जन्मिनेको हक अधिकार सुरक्षित राख्ने हैसियत देखाउनु पर्छ । पहिला एउटालाई फूलपाती चढाए हुनेमा अहिले त चढाउँदा चढाउँदा रुखको पात के जराले पनि नभ्याउने अवस्था छ । टोले, झोले, कुण्डले, मण्डलेका डन बनेर दलका मुखियाहरूले राणा शासनकालका पूर्वी, पश्चिमी, उत्तरी र दक्षिणी कमाण्डिङ जर्नेलहरूको झल्को दिने काम गर्दै आएका छन् ।

सिंहदरबारको कुर्सीमा आसीन शासकभन्दा सिंहदरबार भजाउने दलालहरू शक्तिशाली ठहर्दै आएका छन् । देशका विषय विज्ञहरू आफ्नो विषयमा कम अरू विषयमा बढी चतुर छन् । कालो कोट लगाउने वकिलहरू वकालतमा भन्दा जग्गा बेचबिखनको धन्दामा जमेका छन् । पत्रकारको कलम लेखाइमा थोरै, दाइहरूलाई सल्लाह दिन धेरै बिक्छ । सम्पत्तिका नाममा जसको एउटा चिउरा मिल छैन, उनीहरू निजीक्षेत्रका नेता बनेका छन् । राजनीतिको पहिलो खुड्किलोमै पछारिएकाहरू मानवअधिकारवादी र नागरिक समाजका प्रतिनिधिको अवतारमा अनुवाद भएका छन् । जिन्दगीमा जसले एउटा पुस्तक सग्लो पढेको छैन, तिनीहरू देशलाई काम नलाग्ने डाक्टरको पदवी बोकेर स्वघोषित बुद्धिजीवी भएर शहर पसेका छन् । एकातिर सामाजिक संरचनाका अवयवहरू यसरी विश्रृंखलित भएका छन् भने अर्कातिर सिंहदरबार यस्तो ७६ औँ जिल्ला प्रमाणित भएको छ, जहाँ पस्दा मै हुँ भन्ने शेरहरू फर्किँदा रुझेको बिरालो बन्दै निस्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *