हाटबजारको सार्वजनिक जग्गा धमाधम व्यक्तिको नाममा (लालपूर्जासहित)

धनगढी । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित कृषि हाटबजारको सार्वजनिक जग्गा विभिन्न व्यक्तिको नाममा पुगेको खुलेको छ । कृषि हाटबजारको नाममा रहेको जग्गा व्यवस्थापन समितिले धमाधम बेचेपछि अहिले उक्त जग्गा विभिन्न व्यक्तिको नाममा पुगेको खुलेको हो ।

तत्कालीन ग्रामीण आवास कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको १७ कठ्ठा १० धुर जग्गा २०५८ चैत १२ गते १ लाख ७५ हजार ४ सय रुपैयाँमा पुनर्वास हाटबजार समितिको नाममा राजीनामा गरिदिएको थियो । तर, अहिले सो जग्गा थुप्रै व्यक्तिको नाममा बिक्रीवितरण भएको उक्त जग्गा प्राप्तिका लागि गठित संघर्ष समितिका संयोजक मेनुका उप्रेतीले बताइन् । उनले यति नै जनालाई बेचिएको छ भन्नेबारे भने अझै थाहा हुन नसेको बताइन् ।

उनका अनुसार तत्कालीन अवस्थामा हर्कबहादुर थापाको अध्यक्षतामा रहेको हाटबजार व्यवस्थापन समितिको स्वामित्वमा रहने गरी ग्रामीण आवास कम्पनीले उक्त जग्गा राजीनामा गरिदिएको थियो । राजीनामा गरिएको जग्गा अहिले सोही समितिका अध्यक्ष थापालगायतका व्यक्तिको नाममा पुगेको संघर्ष समितिका संयोजक उप्रेतीको भनाइ छ । उनले व्यवस्थापन समितिका अध्यक्ष थापाले आफ्नो बुहारीलगायतको नाममा नामसारी गर्नुका साथै समितिका अन्य व्यक्तिलाई पनि बिक्रीवितरण गरेको पाइएको बताइन् ।

विभिन्न आठ जनाको नाममा जग्गा दर्ता भइसकेको र बाँकी जग्गाबारे खाेजी कार्य अगाडि बढाइएको उनले बताइन् । ‘अहिलेसम्म विभिन्न आठ जनाको नाममा उक्त जग्गा बिक्री भइसकेको खुलेको छ,’ उनले भनिन्, ‘बाँकी जग्गा कहाँ कति छ भनेर खोजी गर्न लागिरहेका छाैँ । नगरपालिकासँगको समन्वयमा अहिले अगाडि बढिरहेका छाैँ ।’

उनका अनुसार तत्कालीन बजार व्यवस्थापन समितिले ग्रामीण आवास कम्पनीलाई जग्गाको पैसा तिर्न जग्गा बेच्नुपर्ने भन्दै जग्गा बिक्री गरेको थियो । तर १ लाख ७५ हजार रुपैयाँ मात्रै तिर्नु भए पनि जालसाजी गरेर समितिले थुप्रै व्यक्तिलाई सार्वजनिक जग्गा बिक्री गरेको छ । जग्गा बिक्री गरिएसँगै उक्त जग्गामा निर्माण गरिएका संरचना पनि व्यक्तिकै नाममा गएका छन् ।

विधान संशोधन गरेको आरोप
हाटबजार व्यवस्थापन समितिको विधानमा समितिलाई जग्गा बिक्रीवितरण गर्न पाउने व्यवस्था नभएको भए पनि पछि संशोधन गरेर बिक्रीवितरण गरिएको हुनसक्ने आशंका गरिएको छ । संघर्ष समितिका संयोजक उप्रेतीले स्थानीय निकाय जनप्रतिनिधिविहीन भएको तत्कालीन समयमा समितिले विधान संशोधन गरेर जग्गा बिक्री गरेको हुनसक्ने बताइन् ।

उनका अनुसार अहिले हाटबजार व्यवस्थापन समितिले विधान पनि दिन मानेको छैन । समितिका अध्यक्ष थापा पनि सम्पर्कमा आएका छैनन् । यद्यपि उनले विधानअनुसार नै ऋण तिर्न तत्कालीन समयमा जग्गा बिक्री गरेको भन्दै आएका छन् । यसअघि पनि यस विषयमा संघर्ष समिति गठन गरेर अदालतमा मुद्दा हालिएकाे थियाे । तर, बादीतर्फका व्यक्तिको मृत्यु भएपछि उक्त मुद्दा अगाडि बढ्न नसकेर त्यतिकै थन्किएको उप्रेतीको भनाइ छ ।

तत्कालीन त्रिभुवन गाविसका अध्यक्षसमेत रहेका पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले पनि हाटबजारकै लागि सो जग्गा आफूले नै सिफारिस गरेको भएपनि त्यसपछि समितिले बिक्रीवितरण गरेको बताए । उनले जग्गा बिक्री वितरणबारे आफूलाई जानकारी नभएको समेत बताएका छन् । उनले हाटबजारको जमिन जुन प्रयोजनका लागि लिइएको हो त्यहीअनुरूप हुनुपर्ने बताए ।

‘समितिको पहिलो विधानमा हाट बजारको लागि भनिएको छ’, उनले भने, ‘समितिले पछि विधान संशोधन गरेर त्यो कार्य गरेको रहेछ । त्यसबारे आफूलाई जानकारीसमेत थिएन । जानकारी पनि दिइएन ।’

जग्गा फिर्ता ल्याउन संघर्ष
तत्कालीन अवस्थामा जग्गामा निर्मित हाटबजारका करोडौँ लगानीका भवन पनि यतिबेला व्यक्तिका नाममा कायम हुन पुगेका छन् ।

जग्गा हाटबजार समितिको स्वामित्वमा आएको एक वर्षपछि नै जग्गा बेच्न शुरू गरिएको थियो । सार्वजनिक सम्पत्तिको दोहन गलत मनसायबाट गरिएको भन्दै स्थानीयले आन्दोलन समेत गरिरहेका छन् । अहिले उक्त जग्गा फिर्ताका लागि सक्रियता देखाउन थालिएको छ ।

हाटबजार सञ्चालन समितिको बहुमतकाे निर्णयबाट सार्वजनिक जग्गा बेच्ने कार्य गलत नियत र बेइमानी भएको पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णबहादुर तामाङले बताए ।

बिक्री वितरण भएको जग्गाको विवरण संकलन गरेर कानूनी बाटो अपनाउनुको विकल्प नरहेको संघर्ष समितिकी संयोजक उप्रेतीले बताइन् ।

‘नगरपालिकाको समन्वयमा जिल्ला मालपोतबाट कागजात मगाइरहेका छाैँ ,’ उनले भनिन्, ‘सम्पूर्ण कागजात संकलन भएपछि कानुनी बाटोबाट जग्गा हाटबजारको नाममा ल्याउँछाैँ ।’ उनले यस कार्यमा नगरप्रमुख थापा पनि सक्रिय भएर लागेकाे बताइन् ।

समितिले बिक्री गरेको जग्गा खरिद गर्नेहरू पनि समितिभित्रकै व्यक्ति रहेको उनको भनाइ छ । उनीहरूले पनि अन्य व्यक्तिलाई उक्त जग्गा बिक्री गर्दै आएका छन् ।

यस्ता छन् हाटबजारकाे जग्गा खरिदबिक्री गरी व्यक्तिका नाममा बनेका लालपूर्जाहरू 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *