छाङ्गरुका सुरक्षाकर्मीलाई सम्पर्कमै सास्ती

दार्चुला । अघिल्लो वर्षको वैशाख ३१ देखि व्यास गाउँपालिका–१, छाङ्गरुमा सशस्त्र प्रहरी र नेपाल प्रहरी नियमित बसेको छ । नेपाल सरकारले भारतले अतिक्रमित गरिराखेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटर नक्सा जारी गरेपछि छाङ्गरुमा सुरक्षाकर्मीको नियमित उपस्थित गराइएको हो ।

शुरूमा सशस्त्र प्रहरी निरीक्षक लिली चन्दको कमान्डमा बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरियो । बिओपी स्थापना गरेको छ महिनापछि गत असोजमा सरकारले त्यो क्षेत्रमा सशस्त्र प्रहरीको गुल्म नै स्थापना गर्‍याे । सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थापना भयो । भारतले अतिक्रमण गरेको कालापानीभन्दा झन्डै १४ किलोमिटर यतै सशस्त्र प्रहरी बसेको छ । अहिले सशस्त्र प्रहरीले कालापानी क्षेत्र र चीनसँग सीमा जोडिएको पिलर नं १ सम्म ड्युटी गर्ने गर्छ ।

छाङ्गरु गुल्मअन्तर्गत व्यास गाउँपालिका–२ को दुम्लिङ र वडा नम्बर १ को तिङ्करमा बिओपी रहने छन् । अहिले दुम्लिङमा सशस्त्र प्रहरी छ । तिङ्करमा भवन बनेपनि सशस्त्र प्रहरी खटिएका छैनन् । छाङ्गरुमा सशस्त्र प्रहरी बसे पनि उनीहरूका लागि प्रभावकारी सञ्चार साधनसमेत छैन । छाङ्गरुका बासिन्दा बस्दासम्म भाइनेटमार्फत इन्टरनेट सुविधा थियो तर स्थानीयवासी जाडो छल्न गत जेठमा सदरमुकाम खलङ्गा झरेपछि अहिले सुरक्षाकर्मीले भारतीय सञ्चारको भर पर्नुपरेको छ ।

सशस्त्र प्रहरीका लागि नेपाल टेलिकमले दुईवटा ल्यान्डलाइन फोन छुट्टै जडान गरे पनि अत्यधिक हिमपात भएपछि त्यसले काम गर्दैन । मौसम सफा भयो भने त्यो फोनको लाइन सञ्चालन हुने त्यहाँ कार्यरत सुरक्षाकर्मी बताउँछन् ।

सुरक्षाकर्मीले कुनै खबर गर्नुपर्याे भने अहिले सीमा पारि रहेका भारतीय एसएसबीको क्याम्प पुग्नुपर्ने बाध्यता रहेको छाङ्गरुका बासिन्दा बताउँछन् । भारतको छायालेकसम्म भारतीय सञ्चारको पहुँच राम्रो छ । विगतमा नेपालको सञ्चार सुविधा भारतीय सुरक्षाकर्मीले समेत प्रयोग गर्थे, स्थानीयवासीले भने, ‘अहिले भारतको सञ्चार सुविधा प्रयोग गर्नुपरेको छ ।’

ल्यान्डलाइनसँगै व्यासमा नेपाल टेलिकमको स्काइको टावर छ । त्यो टावर पनि नियमित चल्न सकेन । दुई वर्षदेखि नमस्ते टावर छाङ्गरुमै निर्माणाधीन अवस्थामा छ । त्यो टावरमा उपकरण जडानमा ढिलाइ हुँदा व्यासवासीले सञ्चार सेवाबाट बञ्चित हुनुपरेको वडा नं १ का वडाध्यक्ष अशोकसिंह बोहरा बताउँछन् । उनी भन्छन्, ‘नमस्ते टावरका लागि चाहिने आवश्यक पूर्वाधार निर्माण गरिए पनि उपकरण जडान नहुँदा सञ्चार सेवा चल्न नसकेकोे हो ।’

गतसाता आएको हिमपातका कारण अहिले व्याससम्म पुग्न सकिने अवस्था छैन । त्यहाँ कार्यरत सुरक्षाकर्मीका अनुसार अहिले नेपाल टेलिकमले काम नगर्दा कहिलेकाहीँ सामाजिक सञ्जाल र कुनै खबर घरमा पुर्‍याउनुपर्‍याे भने भारतीय एसएसबीको क्याम्प पुग्छौँ । उनले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘यो भन्नुपर्ने विषय त हैन तर हाम्रो पीडा कसैले सुनिदिएन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *