प्रदेश १ को शपथग्रहण : मुख्यमन्त्रीको कमजोरीले काेही अलमल, काेही रुष्ट !

विराटनगर । आइतवार बिहान ११ बजे नै प्रदेश १ सरकार विस्तारको कार्यसूची थियो । कार्ययोजना अनुसार सबैजना निर्धारित समयमा भेला भइसकेका थिए । कार्यक्रम गर्नका लागि आवश्यक पर्ने तयारी प्रदेश प्रमुख कार्यालयबाट भइरहँदा बिहान ८ बजेदेखि नै गठबन्धन भित्रका दलहरूको बैठक चलिरहेको थियो ।

गठबन्धनभित्रका दलको आन्तरिक किचलोका कारण निर्धारित समयमा कुनैपनि कार्यक्रमहरू अघि बढेका थिएनन् । गठबन्धनभित्र भएको छलफलमा आन्तरिक मामिला मन्त्रालयको सञ्चार क्षेत्रको अधिकार अर्को मन्त्रालयमा जाने भएपछि आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की यस बारेमा रुष्ट देखिन्थे । मन्त्रीहरूको कार्यविभाजन पनि गठबन्धन बैठकभित्रको पेचिलो विषय बन्यो । कांग्रेसभित्र मन्त्री भएका तीनैजना देउवा लाइनका मन्त्रीमा सिफारिस भएपछि यसले काेइराला समूह थप दबाबमा पर्‍याे । जेनतेन कुरा मिलाएर शपथग्रहणका लागि प्रदेश प्रमुख कार्यालयमा १२ बजेपछि पुगेका मुख्यमन्त्री र मन्त्रीहरू शपथग्रहण शुरू हुँदै गर्दा अलमलमा परे ।

शपथग्रहणका लागि दिइएको नामावलीमा मन्त्रालय नै फरक पारिदिएपछि शपथग्रहण स्थलमै रोइलो शुरू भएको थियो । शपथग्रहण गर्नुअघि मुख्यमन्त्री कार्यालयबाट उपलब्ध गरिएको नाममा एउटाको मन्त्रालय र अर्कै मन्त्री भएको सार्वजनिक भएपछि मन्त्रीहरूले असन्तुष्टि जनाएका थिए । एउटा मन्त्रालय दिने भन्ने तर शपथग्रहणको नोटमा अर्कै हस्ताक्षर गराउन लागेपछि मन्त्रीको लागि शपथ लिन पुगेका ओमप्रकाश सराबगी आक्रोशित भए । एउटा मन्त्रालय भनेर अर्कोमा शपथ गराउन लागेको भन्दै ‘मनपरी किन गरियो’ भन्दै उठेर हिँड्न लागेका थिए । त्यही बेला नेपाली कांग्रेस संसदीय दलका उपनेता तथा सडक पुर्वाधार तथा सहरी विकास मन्त्री हिमाल कार्की जुरुक्क उठे र मुख्यमन्त्री राजेन्द्र राई भएको ठाउँमा पुगेर ‘यो के गरेको’ भन्दै आक्रोशित देखिए । ओमप्रकाश सराबगी सँगै बसेर मन्त्रीको शपथ लिन लागेका प्रताप प्रकाश हाङ्गाम भने जुन मन्त्रालय भएपनि भइहाल्यो नि अघि बढौँ भन्दै थिए । यसैगरी करिब १५ मिनेटजति कार्यक्रम अललमलमै बितेको थियो । शपथग्रहण स्थलमा पुगेका मन्त्रालयका सचिवहरू भने मुखामुख गर्दै थिए ।

मुख्यमन्त्री राईले पठाएको पत्रमा ओम प्रकाश सराबगीलाई उद्योग, वन तथा रोजजगार मन्त्रालय भनिएको छ । उनलाई दिने भनिएको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय प्रताप प्रकाश हाङ्गामलाई दिइएपछि त्यहाँ भित्र मन्त्रालय बाँडफाँडमा मुख्यमन्त्रीको असक्षमता देखिएको भन्दै प्रश्न उठेको थियो । नेपाली कांग्रेस संसदीय दलका उपनेता कार्कीले मुख्यमन्त्री राईसँग कुरा गर्दागर्दै कार्यक्रम स्थलमा रहेका संसदीय दलका नेता राजीव काेइराला बाहिरिन खोजेका थिए । उनी बाहिरिन खोजेको छनक पाएपछि कार्कीले काेइरालालाई पनि राई भएकै ठाउँमा बोलाएका थिए । मुख्यमन्त्री राईले गल्ती स्वीकार गरेपछि प्रदेश प्रमुख कार्यालयले त्यसलाई सच्याए र प्रदेश प्रमुख परशुराम खापुङले ८ जना मन्त्रीलाई शपथग्रहण गराएका थिए ।

शपथग्रहण लगत्तै मुख्यमन्त्रीलाई सञ्चारकर्मीले भेट्न खोजेका थिए । प्रदेश प्रमुखको कार्यालयमा छिरेका मुख्यमन्त्री बाहिरिएनन् । उनले आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोलाई सरकारकाे पक्षबाट बोल्न भनेका थिए । मिडियाले उनलाई खोजिरहँदा आङ्बोले मिडियालाई सम्बोधन गरेका थिए । आङ्बोले नाममा केही त्रुटी भएकोले सच्याइएको बताए ।

प्रदेशका मन्त्री
अब सरकारमा १४ जना मन्त्रीहरू हुने भएका छन् । यस अघिका मन्त्रीहरूको कार्यविभाजन हेरफेर भएको छ भने ८ जना नयाँ अनुहार सरकारमा आएको छ । राजेन्द्र राईको नेतृत्वमा यस अघि नै रहेका मन्त्रीहरूमा ईन्द्रबहादुर आङ्बो आर्थिक मामिला ततथा योजना मन्त्री, हिमाल कार्की सडक पुर्वाधार तथा योजना मन्त्री, केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री, जयराम यादव स्वास्थ्य मन्त्रीका रूपमा रहनेछन् । आज नियुक्त भएका मन्त्रीहरूमा रामकुमार राई खानेपानी, सिँचाई तथा उर्जा मन्त्री, राजन राई सामाजिक विकास मन्त्री, खिनु लङवा लिम्बू पर्यटन तथा संस्कृति मन्त्री, झलकबहादुर मगवर कृषि मन्त्री शेखरचन्द्र थापा वन वातावरण तथा भू–संरक्षण मन्त्री, ओमप्रकाश सराबगी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, प्रताप प्रकाश हाङ्गाम उद्योग, श्रम ततथा रोजगार मन्त्री र उपेन्द्रप्रसाद घिमिरे यातायात व्यवस्था तथा सञ्चार मन्त्रीको रूपमा रहने छन् । यस अघि नै नियुक्त भएकी बिष्णु तुम्बाहाम्फेलाई सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ। गठबन्धनभित्र उनले असन्तुष्टि जनाउँदै आएकी छन् ।

नेकपा एसका ४० प्रतिशत सांसद मन्त्री
नेकपा एमालेबाट १० जना सांसद लिएर विभाजन भएको नेकपा एकीकृत समाजवादीले ४० प्रतिशत सांसदलाई मन्त्री बनाउन सफल भएको छ । १० जना सांंसदमा ४ जना मुख्यमन्त्री र मन्त्री छन् । १५ जना सांंसद रहेको नेकपा माओवादी केन्द्रले जम्मा ३ जना मात्र मन्त्री पाएको छ। २१ जना सांसद रहेको नेपाली कांगेसले ५ जना मन्त्री पाउँदा सबै देउवा समूहका छन् । त्यस्तै जनता समाजवादी पार्टीको ३ जना सांंसद रहेकोमा एकजना फुल मन्त्री र एकजना मात्र सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले राज्यमन्त्री पाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *