प्रदेश १ मा मन्त्रालय बढाएकोप्रति एमालेको विरोध

विराटनगर । प्रदेश १ मा गठबन्धनको सरकारले मन्त्रालयहरु फुटाउन लागेको भन्दै नेकपा एमालेका विभिन्न २३ वटा भातृ संगठनले विरोध जनाएका छन् । प्रदेश १ का ७ वटा मन्त्रालय फुटाएर १२ वटा बनाउन खोजेको भन्दै मन्त्रालय फुटाउने निर्णय फिर्ता नलिए मन्त्रीका गाडीहरु चल्न नदिने चेतावनी दिएको हो । विराटनगरमा मंगलबार सडकमा पत्रकार सम्मेलन गर्दै एमाले सम्वद्ध भातृ संगठनहरुले मन्त्रालय फुटाउने निर्णय फिर्ता लिन प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा युवा संघ र अनेरास्ववियुका नेताहरुले मन्त्रालय फुटाउने निर्णय फिर्ता नगरे मन्त्रीहरुका गाडीलाई जहाँसुकै पनि अवरोध गरिने बताए । जनताको करको दुरुपयोग गरेर सत्ता टिकाउन खोजेको भन्दै मुख्यमन्त्री राजेन्द्र राईको आलोचना गरेका छन् । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव भास्कर खनालले प्रदेश राजधानीमा मन्त्रीहरुका गाडी गुड्न नदिइने बताए ।

युवा संघका नेता मुकेश बुढाथोकीले राज्यलाई तिरेको कर दुरुपयोग गर्ने उदेश्यले मन्त्रालयहरु फुटाउन लागिएकाले मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा देखिए अवरोध गर्ने चेतावनी दिए । गाडीमा झण्डा हल्लाएर जागिरमात्रै खान खोजेको भन्दै एमालेका जनवर्गीय संगठनका नेताहरुले मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रम रोक्ने चेतावनी दिएका हुन् ।

उनीहरुले संयूक्त विज्ञप्ति जारी गर्दै सरकारले मन्त्रालय फुटाउन गरेको निर्णय गलत भएको बताएका छन् । तत्काल स्थानीय तहको निर्वाचनको घोषणा, पेट्रोलियमको मुल्यवृद्धि र कालोबजारी नियन्त्रण, नेपाली भूमीमा भारतीय हस्तक्षेप रोक्नु पर्ने, किसानलाई मलखादको व्यवस्था, आर्थिक संकटको अन्त्य र नागरिकहरुलाई कोरोनाविरुद्धको खोप सुनिश्चित गर्न समेत संयुक्त माग गरिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 1 =