एकै ठाउँमा दुईवटा पक्की पुल, करोडौँ रकम दुरुपयोग

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ का भक्तबहादुर राई मिक्लुखोलामा पुल बन्दा निकै उत्साहित छन् । एकैपटक दुईवटा पुल बन्दा भने उनी द्विविधामा छन् ।

करिब २ वर्ष अगाडि मन्त्री, सांसद, पालिकाका प्रमुख, उपप्रमुख सहित आएर मिक्लु खोलामा पुलको शिलान्यास गर्दा उनलाई जतिकाे खुसी कसैलाई पनि लागेको थिएन । हरेक वर्षामा बाढीको कारण आउजाउमा नै समस्या हुने याे गाउँका धेरैलाई पुल निर्माणले आशावादी बनाएकाे थियाे । यो पुल निर्माण पूरा नहुँदै नजिकै अर्को पुल बन्यो, जसले उनीहरूलाई झस्कायो । एकै ठाउँमा दुईटा पुल बन्ने भएपछि उनीहरू अन्यौलमा थिए । पुल निर्माण हुँदै गर्दा स्थानीयलाई लागेको थियो यो पुल मदन भण्डारी राजमार्गको पुल होला । पछि त्याे पुल आइतबारे जोड्ने सडकको भएको थाहा पाए । त्यो पुल निर्माण हुनुभन्दा पहिला नै पुल निर्माण भएको दक्षिण तर्फबाट मदन भण्डारी राजमार्ग बन्ने तयारीमा थियो ।
मदन भण्डारी राजमार्ग निर्माण हुनै लागेको अवस्थामा सबै आन्तरिक परीक्षण र सर्भेका कामहरू भइसकेको थियो ।

करिब एक सय मिटरको दूरीमा दक्षिणतर्फ अर्को पुल निर्माण हुँदै छ भन्ने कुरा पुलको शिलान्यास गर्न गएका सबैलाई थाहा थियो । थाहा हुँदाहुँदै पनि अर्काे पुलको शिलान्यास भयो र निर्माणको काम पनि शुरू भयो । पुल निर्माण गर्ने बेलामा मदन भण्डारी राजमार्ग तर्फबाट पुल बनाउने भनिएपनि त्यहाँ अर्को पुल आउने भनिएपछि माथिबाट भौतिक पुर्वाधार विकास कार्यालयले पुल बनाएको स्थानीय राईको भनाइ छ । ‘मलाई नै पहिला तलबाट खन्न भनेका थिए पछि माथिबाट बनाउने भनियो’, राईले भने, ‘तीन दिन काम शुरू गर्ने भनेर त्रिपाल पनि टाँगिएको थियो ।’

किसानचोक–टाँडी–आइतबारे सडकमा पर्ने मिक्लु खोलाको पुल निर्माण गर्नका लागि छुट्टै टेण्डर लगाइयो र प्रदेश १का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले शिलान्यास गरे । पुल निर्माणमा विकासका योजनाहरू दोहोरो परेको थाहा हुँदाहुँदै पनि शिलान्यास गरेको आरोप स्थानीयको छ। स्थानीयले दुईवटा पुल नबनाउन र एउटै पुल बनाउन पटकपटक भनेपनि उनीहरूको कुरा कसैले सुनेन । स्थानीय बुद्धिबहादुर मगरका अनुसार एकै ठाउँमा दुईवटा पुल निर्माण हुनुले सरकारको रकम सदुपयोग भएको देखिएको छ। योजना एकै ठाउँमा पारेर आर्थिक चलखेल भएको हुनसक्ने आशंकासमेत स्थानीयको छ ।

समन्वयको अभाव
प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयले मिक्लुखोलामा पुल निर्माण गर्दै गरेको अवस्था छ भने त्यसको दक्षिणमा मदन भण्डारी राजमार्गले अर्को पुल निर्माणको काम शुरू गरेको छ ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले २०७७ जेष्ठ २५ गते ठेक्का सम्झौता गरेर मिक्लु खोलाको दक्षिण तर्फ पुल निर्माणको लागि प्रक्रिया अघि बढाएको हो । राजमार्ग अन्तर्गतको तीनवटा पुल निर्माण गर्ने गरी रसुवा एलिट जेभी धापासी काठमाडौँलाई करिब ४४ करोड रुपैयाँमा ठेक्का दिएको छ । मदन भण्डारी राजमार्गको पुल निर्माण ठेक्का सम्झौता हुँदासम्म भौतिक पुर्वाधार विकास कार्यालय मोरङले पुल निर्माणको काम अघि बढाई सकेको थियो । यो पुल निर्माणको आर्थिक प्रगति ५० प्रतिशत र भौतिक प्रगति ७० प्रतिशत भएको बताइन्छ ।

भौतिक पुर्वाधार विकास कार्यालय मोरङले २०७६ वैशाख १० गते सम्झौता गरेर २ वर्षभित्र मिक्लु खोलाको पुल निर्माण सक्ने भनेर काम थालेको थियो । महावीर किरातेश्वर जेभीले ठेक्का पाएको पुल निर्माणको काम २०७८ वैशाख १० गतेभित्र सम्पन्न गरिसक्नु पर्ने थियो । त्यो सम्झौताका आधारमा काम सकिएको एक वर्ष हुनुपर्ने हो, त्यो काम अझै आधा पनि भएको छैन । ७ करोड २५ लाख ४९ हजार ७६० रुपैयाँमा ठेक्का लागेको पुल निर्माणमा ३ करोड ३९ लाख खर्च भइसकेको भौतिक पुर्वाधार विकास कार्यालयका इन्जिनियर अयुष जोशीले जानकारी दिए । ‘गत वैशाखमा नै निर्माण सम्पन्न गर्नुपर्ने थियो’, उनले भने, ‘कोभिड र वर्षाको कारण काम गर्न नसकेपछि अहिले एक वर्षको म्याद थप गरिएको छ ।’

इन्जिनियर जोशीले मदन भण्डारी राजमार्गको पुल निर्माणको काम पछि मात्र शुरू भएकोले त्यो बारेमा जानकारी नभएको बताए । पहिला नै समन्वय हुनुपर्नेमा पुल निर्माणमा समन्वय नभएको उनले स्वीकार गरे । आगामी चैत महिनासम्ममा निर्माण सक्ने गरी ठेकेदारले काम गरिरहेको इन्जिनियर जोशीले जानकारी दिए ।

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले २०७८ माघ ३ गते भौतिक पुर्वाधार विकास कार्यालयलाई पत्र नै लेखेर पुल निर्माणको काम भइरहेको जानकारी दिएको छ । इन्जिनियर समीत शर्माले हस्ताक्षर गरेको चलानी नम्बर २२९ को चिठीको व्यहाेरामा भनिएको छ, ‘यस योजना कार्यालय अन्तर्गत निर्माणाधीन मदन भण्डारी राजमार्गको मिकिकु खोलामा स्विकृत एलाइगमेन्ट भन्दा करिब १५० अपस्ट्रिममा पुलको सबस्ट्रक्चरसम्मको कार्य सम्पन्न भई यथास्थितिमा रहेको र प्रदेश सरकार माताहत निर्माण भइरहेको भन्ने सुन्नमा आएको साथै यस राजमार्गको स्वीकृत एलाईगमेन्टमा डबललेनको मोटरेबल ब्रिज यस कार्यालयबाट निर्माण भइरहेको कुरा जानकारीका लागि अनुरोध छ ।’

पुल निर्माण भएको बारेमा जानकारी गराएको मदनभण्डारी राजमार्ग आयोजनाले प्रदेश सरकारले बनाएको पुल राजमार्गको मापदण्डमा नहुने बताएको छ । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले पुल निर्माणमा सरकारहरूको बीचमा समन्वय नभएको आरोप लगाए । ‘त्यो रकम अन्यत्रै विकासमा खर्च गरेको भए नागरिकले राहत पाउने थिए’, उनले भने, ‘हामीसँग कुनै समन्वय भए, प्रदेशले आफ्नै हिसाबले बजेट हाल्यो, संघीय सरकारले आफ्नै हिसाबले बजेट हाल्यो । अहिले एकै ठाउँमा दुईवटा पुल निर्माण हुँदै छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *