मन्त्रालय फुटाउनुको औचित्य पुष्टि गर्न एमालेको माग

विराटनगर । प्रदेश १ को सरकारले मन्त्रालय टुक्र्याउन लागेको भन्दै विरोध भएकाे छ । जनतालाई निराशा पर्ने गरी सरकारले भएका मन्त्रालयहरू विभाजन गरेकोप्रति एमालेले असन्तुष्टि जनाएको हो ।
नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भएको ६६ वटा मन्त्रालय फुटाएर १२ वटा बनाउनुको औचित्य पुष्टि गर्न भनेको छ । ‘प्रदेश सरकारको पुँजीगत खर्चको तुलनामा साधारण खर्च अत्यधिक रहेको, विकास आयोजनाहरूमा बजेट कटौती भएको, बजेटको अभावमा महत्त्वपूर्ण आयोजनाहरू अलपत्र रहेको वर्तमान अवस्था छ, विज्ञप्तिमा भनिएको छ, प्रदेश सरकारका साबिक ६ वटा मन्त्रालयलाई फुटाएर १२ वटा मन्त्रालय खडा गर्ने सरकारको निर्णयको औचित्य पुष्टि गर्न नेकपा(एमाले) वर्तमान गठबन्धन सरकार र त्यसमा संलग्न दलहरूलाई सम्झाउन चाहन्छ ।’
यो पनि : भाग पुर्याउन एउटै मन्त्रालय तीन टुक्रा पारिँदै
प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरी औचित्यपूर्ण तवरले गरिएको मन्त्रालयहरू थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन एमालेले माग गरेको छ । मुलुकको ढुकुटीमा ब्रम्हलुट मच्चाउने, जनताको ढाड सेक्ने र संघिय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने गठबन्धन सरकारका कलुषित निर्णयको भन्दै त्यसको भर्त्सना गरेको छ ।
‘सत्ता गठबन्धनमा संलग्न दलहरू राज्यको ढुकुटीको दोहन, भागबण्डा एवं दुरुपयोग गर्दै दलीय स्वार्थको आत्मरतिमा मस्त छन्, न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र, संघियता तथा आफ्नै प्रतिबद्धता विपरीत वर्तमान सरकार राज्यसत्ताको व्यापक दुरुपयोग गर्दै निहित स्वार्थ पूर्तिमा लिप्त भएर एक पछि अर्को जनविरोधी निर्णयहरू थोपरिरहेको छ ।’











