गाडिएको अवस्थामा भेटिएको अर्को शवको पनि पहिचान खुल्यो

विराटनगर । मोरङको धनपालथान गाउँपालिाकाको उखुबारीमा फेला परेको दुई शवमध्ये अर्को शवको पनि पहिचान खुलेको छ ।

यसअघि फेला परेको भनिएको दुईमध्ये एक व्यक्तिको पहिचान खुलेको थियो । उखुबारीमा गाडिएको अवस्थामा ३० मिटरको दूरीमा भेटिएका दुई शवमध्ये एउटा शव बिहीवार नै पहिचान भएको थियो । पहिचान भएको शव धरान उपमहानगरपालिका– ३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको रहेको प्रहरीले जनाएको थियो ।

अर्को ३०–३५ वर्षको पुरुषको शव पहिचान हुन सकेको थिएन । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दिपक श्रेष्ठले अर्को शवको पनि पहिचान खुलेको जानकारी दिए । गत बुधवार उखुबारीमा खाल्डोमा गाडिएको अवस्थामा फेला परेको व्यक्तिको शव सप्तरीको शम्भुनाथ नगरपालिका–४ घर भई काठमाडौँ बस्ने शम्भु चौधरीकाे रहेको डिएसपी श्रेष्ठले बताए ।

मृतकहरू दुबै एकअर्काकाे साथी भएको पाइएकोले उनीहरूको बारेमा के सम्बन्ध थियो भन्ने बुझ्ने काम भइरहेको उनको भनाइ छ । ‘बल्ल शवको पहिचान भएको छ, डिएसपी श्रेष्ठले भने, ‘शव बुझाउने काम बल्ल सकिएकोले अब अनुसन्धान गर्न सहज भएको छ, केही दिन भित्रमा केही तथ्य बाहिर आउला ।’ परिवारका सदस्य आएर शव हेरेपछि मात्र पहिचान खुुलेको उनको भनाइ छ । बिहीवार नै उत्खनन् भएको अर्को शवको भने पहिचान नभएर आफन्तले यस अघि नै अन्त्यष्टि गरिसकेका छन् । मृतकको श्रेष्ठको साथबाट उनको पहिचान खुल्ने काजगजात फेला परेको कारण उनको पहिचान गर्न सजिलो भएपनि अर्को शवको पहिचानमा प्रहरीलाई समस्या भएको थियो ।

उनीहरू एक अर्काको साझेदार भएकोले संयुक्त कारोबार गरेको समेत हुनसक्ने प्रहरीको अनुमान छ । अहिले अनुसन्धान अघि बढेकोले उनीहरूको आन्तरिक सम्बन्धको बारेमा पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

गत बुधवार उखुबारीमा उखु काट्ने क्रममा किसानहरूले माटो खनिएको जस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान गर्दैगर्दा दुईजनाको शव फेला पारेको थियो । घटनाको बारेमा अनुसन्धान भइरहेको जनाएको प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन ।

याे पनिः 

उखुबारीमा गाडिएको अवस्थामा भेटिए दुई शव

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *