व्यवसायीको गुनासो- मिरगञ्ज पुलबारे राज्यले चासो दिएन

विराटनगर । भारतको जोगवनीमा रहेको मिरगञ्ज पुल जीर्ण बन्दा मालवाहक सवारी आउजाउ रोकिएको छ । मालवाहक सवारी साधन रोकिँदा अहिले व्यवसायीले धुमाउरो बाटोबाट ल्याउँदा लागत बढेको गुनासो गर्दै आएका छन् ।

पुलको समस्या देखाएर हरेक वर्ष भारतीय सुरक्षाबलले पुलबाट मालवाहक सवारी आवत जावत गर्न दिएको छैन । यो वर्ष पनि त्यस्तै समस्या देखिएको छ । करिब एक महिना पहिलादेखि भारतीय पक्षले पुल भासिएको भन्दै रोकेपछि समस्या भएको व्यवसायीले बताउँदै आएका छन् । मिरगञ्ज पुल भासिँदा मोरङ सुनसरी औद्योगिक कोरिडोरका उद्योगहरूमा मालवाहक सवारी ल्याउन समस्या भएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।

समस्यालाई समाधान गर्ने बारेमा सरकारी निकायको ध्यान नगएपछि ध्यानाकर्षण गराउने काम भएको उनको भनाई छ । मोरङ-सुनसरी आर्थिक कोरिडोरको औद्योगिक-व्यावसायिक क्षेत्रमा सृजित समस्याहरूको तत्कालै निराकरणका लागि सम्बन्धित निकाय पहल गरिएको बताए । मोरङ-सुनसरी औद्योगिक कोरिडोरका लागि विराटनगर नाकामार्फत आवत जावत गर्ने मालवाहक सवारी साधनहरूको सहज आवागमनको व्यवस्थापन गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरिएको बताए ।

विराटनगर भन्सार कार्यालय प्रमुखलाई भेटेर तत्काल समस्या समाधानमा ध्यान नदिने हो भने आर्थिक क्षेत्रमा समस्या आउने बारेमा ध्यानाकर्षण गराइएको उनले बताए । मिरगञ्ज पुलको स्थायी समाधान नहुन्जेल भारतको अररिया कुर्साकाँटा-जोगबनी सडक मार्फत ३० टन सम्मका मालवाहक सवारी साधनहरू आवागमनका लागि भारतीय प्रशासनले अनुमति दिनु पर्ने, सो पुलको समानान्तरमा अन्तिम चरणमा निर्माणाधीन पुललाई ३ दिनभित्र अस्थायी रूपमा सञ्चालनमा ल्याउनु पर्ने र हाल स्थगन भएको मीरगञ्जपुलको जीर्णोद्धार कार्य तत्कालै सुचारु गर्नु पर्ने लगायतका मागहरू सहित परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको छ ।

संघको अध्यक्षमा निर्वाचित भएपछि रिजालले डा. शेखर कोइराला, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली लगायतसँग पनि भेटेर मिरगञ्ज पुल समस्या भएकोले समाधान निकाल्ने बारेमा ध्यान दिन आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *