कोभिड-१९ ले बालबालिकालाई कसरी असर गरिरहेको छ ?

अहिले विश्वभरि फैलिइरहेको कोभिड महामारीबारे सबैभन्दा धेरै भएको गलत बुझाई बालबालिकालाई यसले कुनै असर गरेको छैन भन्ने हो । यदि बालबालिकाहरू कोभिडबाट सङ्क्रमित भइहाले पनि उनीहरू अस्वस्थ हुन देखिएका लक्षणबारे मात्र चर्चा र खोज गरिन्छ ।

उनीहरूलाई यस महामारीले शारीरिक र मानसिक रूपमा के-कस्ता असर पुगेको छ भन्ने चर्चा सायदै कम गरिन्छ । तर विज्ञ तथा मनोविद्हरूले भने कोभिडले बालबालिकाको मनोविज्ञानमा समेत नकारात्मक असर पुर्‍याएको बताउँदै आएका छन् ।

बालबालिकाहरू बिरामी भइरहेका छन्
मानिसहरूले सोध्ने सबैभन्दा साझा प्रश्न मेरो बच्चालाई भ्याक्सिन दिनु उपयुक्त होला की नहोला भन्ने रहेको डा. अमिनुद्दीन बताउँछन् । उनी भन्छन्, ‘म यो जिज्ञासा हुनेहरूलाई के भन्न चाहन्छु भने हामीले बितेका यी दुई वर्षहरूमा धेरै जानकारी र अनुभव बटुलिसकेका छौँ । भ्याक्सिनले कोभिडबाट हुने नकारात्मक असरहरूलाई रोक्ने कुरा प्रमाणित भइसकेको छ । विगतमा कोभिडबाट सङ्क्रमित बालकालकामा कोभिड निको भएपछि मल्टिसिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम जस्ता दुर्लभ र गम्भीर अवस्था देखिएको थियो । जसलाई यो समस्या देखिएको थियो उनीहरूले भ्याक्सिन लगाएका थिएनन् । त्यसैले भ्याक्सिन नलगाउँदा कोभिडको दीर्घकालीन असर र त्यसले बालबालिका पीडित हुनु परेको देखिन्छ । भ्याक्सिन लगाएका बालबालिकामा आएका समस्याले अस्पताल नै पुग्नुपर्ने र मृत्यु नै भएको अवस्था भने छैन ।’

मानसिक स्वास्थ्य समस्या बढ्दै गएको छ
कोभिड महामारी फैलिएसँगै बालबालिकामा मानसिक समस्या बढ्दै गएको अध्ययनले देखाउँछ । यो वृद्धिको अवस्था कोभिडले नै निम्त्याएको अनुसन्धानकर्ता बताउँछन् । कोभिडले डिप्रेसन, एन्जायटी, इटिङ डिसअर्डर जस्ता स्वास्थ्य समस्याहरू बालबालिकाले भोग्नु परेको छ । सन् २०२१ को अध्ययनले महामारीपछि मानसिक स्वास्थ्यको समस्या ३० प्रतिशतले बढेको देखाएको छ । पहिले स्वस्थ बालबालिकाहरू पनि कोभिडपछि धेरै बिरामी पर्ने गरेको अध्ययनले देखाएको छ ।

जसले गर्दा आत्महत्याको प्रयास गर्ने, खाना नखाने, आफूलाई हानी पुर्‍याउन आक्रामक हुने, हिंसामा पर्ने जस्ता घटनाहरू बढिरहेको छ । राम्रो मानसिक स्वास्थ्यको स्तम्भ मानिने काम जस्तै साथीहरूसँग समय बिताउने, शारीरिक सक्रियता, राम्रो निन्द्रा, सही कार्यतालिका जस्ता कुराहरूमा महामारीको कारण सम्झौता गर्नुपर्ने भएकोले यस्तो जटिल अवस्था देखिएको हो ।

प्रतिकूल असरहरू
कोभिड-१९ का केही यस्ता असरहरू छन् जुन अहिले नभएर बालबालिकामा भविष्यमा देखिन सक्छन् । कोभिडको कारणले आफन्त र साथीभाइ गुमाउनेको सङ्ख्या निकै फराकिलो भइसकेको छ । धेरै बालबालिकाहरू यही कोभिड कालमा अनाथ भएका छन् । जसले गर्दा अब आउने दिनहरूमा समेत बालबालिकामा विभिन्न शारीरिक, मानसिक र संवेगात्मक असरहरू पर्न सक्ने देखिन्छ । यसरी परिवार नै गुमाउनाले भविष्यमा पर्न सक्ने असर अहिले कोभिड सङ्क्रमित हुँदा पर्ने असर भन्दा घातक र भयानक हुन सक्छ ।

मायो क्लिनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *