सरुवा भएका प्रशासकीय अधिकृतले भर्ना गरे ३ जना कर्मचारी

धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा सरुवा भइसकेका प्रशासकीय अधिकृतले कर्मचारी भर्ना गरेपछि विवाद सृजना भएको छ । गाउँपालिकाबाट सुरुवा भइसकेका प्रशासकीय अधिकृत गणेशदत्त भट्टले नयाँ प्रशासकीय अधिकृत आइसक्दा पनि काम छ भन्दै कर्मचारी भर्ना गरेर बाहिरिएको खुलेको छ ।

अवैध बाटोबाट कर्मचारी भर्ना गरिएको भन्दै अहिले स्थानीयले विरोध जनाएका हुन् । जिल्ला समन्वय समिति कञ्चनपुरमा सरुवा भइसकेका प्रशासकीय अधिकृत भट्टले गत पुस ३० गते तीन जना कर्मचारीलाई दैनिक ज्यालादारीमा काम गर्ने भन्दै नियुक्ति दिएका छन् ।

उनले दिपेन्द्रबहादुर बिष्टलाई योजना तथा कार्यक्रमको सुपरिवेक्षण गर्ने चौकीदार पदमा नियुक्ति दिएका छन् भने निरज कठायतलाई कार्यालयसँग जोडिएको पार्कको रेखदेखका साथै कार्यालयले तोके बमोजिमको कामकाज गर्नेगरी अर्को व्यवस्था नभएसम्म ६ महिनाका लागि नियुक्त गरेका छन् ।

यस्तै, रौतेली स्वास्थ्य चौकीमा कोभिड-१९ रोकथाम सम्बन्धी कामकाजका साथै कार्यालयले तोकेबमोजिमको कामकाज गर्नेगरी अर्को व्यवस्था नभएसम्मका लागि भन्दै अहेब पदमा सुनिता रानालाई मासिक २० हजार पारिश्रमिक दिने गरी माघ १ गतेदेखि २०७९ असार मसान्त ६ महिनासम्मका लागि नियुक्ति दिइएको छ ।

गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत पुस २६ गते हाजिर भइसक्दा समेत ३० गते पुरानै प्रशासकीय अधिकृत भट्टले नयाँ कर्मचारीलाई नियुक्ति दिएका हुन् ।

गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत आइसक्दा पनि काम गर्न नदिएर सरुवा भइसकेका कर्मचारीले कसरी कर्मचारी भर्ना गरिएको हो भन्दै प्रश्न उठाएका छन् । नियमविपरीत कर्मचारी भर्ना गर्ने कार्यको गाउँपालिकाले जवाफ दिनुपर्ने स्थानीय चेतबहादुर शाहले बताए । उनले यस्ता गलत कार्यलाई गाउँपालिकाले रोक्नुपर्ने बताए ।

यस विषयमा बोल्दै सरुवा भइसकेका प्रशासकीय अधिकृत भट्टले आफू माघ ३ मात्रै सरुवा भएको दाबी गर्दै ज्यालादारीका हिसाबले आवश्यक कर्मचारी भर्ना गरेको बताएका छन् । उनले ज्यालादारी कर्मचारीका लागि विज्ञापन वा सूचना प्रकाशन गर्नसमेत आवश्यक नरहेको बताए । ‘करारमा दैनिक ज्यालादारी दिने गरी केही दिनका लागि आवश्यकता महसुस हुनेगरी कर्मचारी राखिएको हो,’ उनले भने, ‘दैनिक ज्यालादारी कर्मचारी भर्ना गर्न विज्ञापन खोल्नु पर्दैन ।’

यता पुस २६ गते नै सरुवा भएर आएका नयाँ प्रशासकीय अधिकृत पदमराज जोशीले सोही दिनदेखि गाउँपालिकाको कार्यालयमा हाजिर भएका छन् । उनले आफू पुस २६ गते नै कार्यालयमा आएर हाजिर लगाउन शुरू गरेको बताए । उनले कर्मचारी भर्ना सम्बन्धी आफूलाई त्यसबेला जानकारी नै नभएको बताएका छन् । उनका अनुसार तत्कालीन प्रशासकीय अधिकृत भट्टले काम रोकिएको छ भन्दै माघ ३ गतेसम्म आफैँले काम गरे । जोशी भने हाजिर लगाएर मात्रै बसिरहे ।

‘म पुस २६ गते नै कार्यालयमा आएर हाजिर लगाउन शुरू गरेको भएपनि माघ ३ गतेसम्म तत्कालीन प्रशासकीय अधिकृतले काम छ भन्दै काम गर्नुभएको हो’, उनले भने, ‘त्यो बेलासम्म मैले कुनै काम गरिन । उहाँ गइसकेपछि मात्रै मैले कार्यालयको कामको जिम्मेवारी सम्हालेको हुँ ।’

अहिले कर्मचारी भर्नाको विषयमा विवाद सृजना भएपछि भने उनले यस विषयमा बुझिरहेको बताएका छन् । ‘कर्मचारी भर्ना सम्बन्धी के रहेछ बुझेर कार्यपालिकामा कुरा राख्ने तयारीमा छु’, उनले भने ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर थापाले रौतेली स्वास्थ्य चौकीमा अहेव आवश्यकता भएकाले भर्ना गरिएको बताएका छन् । उनले यसअघि सोही ठाउँमा स्वयंसेवकको रूपमा काम गरेकै व्यक्तिलाई भर्ना गरिएको बताए । उनले अन्य दुई जनालाई पनि दैनिक ज्यालादारीमा भर्ना गरिएको बताए । उनले नियमसंगत तरिकाले नै कर्मचारी भर्ना गरिएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *