के हो त्रिविले सञ्चालनमा ल्याएको सुपर कम्प्युटर ?

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा सुपर कम्प्युटर सञ्चालन गरिएको छ । लगातार ८ महिनाको प्रयासपछि गत माघ ९ गतेबाट विश्वविद्यालय सुपर कम्प्युटर ‘इन्स्टल’ गर्न सफल भएको त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका सह प्राध्यापक माधवप्रसाद घिमिरेले जानकारी दिए । सुपर कम्प्युटर त्रिविको कीर्तिपुरस्थित सूचना प्रविधि तथा नव प्रवर्द्धन केन्द्रमा राखिएको छ ।

सुपर कम्प्युटरको सञ्चालनले कार्यसम्पादनमा ठूलो र सकारात्मक परिवर्तन ल्याउने समेत घिमिरेले बताए । त्रिविमा सुपर कम्प्युटरको डिजाइन, निर्माण र सञ्चालनको काम नेपाली सुपर कम्प्युटर विज्ञ काठमाडौँ विश्वविद्यालयकाे भौतिकशास्त्र विभागका डा. राजेन्द्रप्रसाद अधिकारीले गरेका हुन् ।

डा. माधव घिमिरे सुपर कम्प्युटर हार्डवेयरका साथ कार्यकक्षमा

त्रिभुवन विश्वविद्यालय र ‘आईएफडब्ल्यू ड्रेसडेन’ जर्मनीबिचको सम्झौता तथा आफ्नै पहल र प्रस्तावमा सुपर कम्प्युटरको निर्माण र सञ्चालन सम्भव भएको सह प्रा. घिमिरेले जानकारी दिए । कठिन कामलाई सफल बनाउन विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डिन प्रा. विनिल अर्यालको ठूलो योगदान रहेको घिमिरेले बताए । त्रिभुवन विश्वविद्यालय नेपालमा सुपर कम्प्युटर सञ्चालन गर्ने दोस्रो संस्था हो । यसअघि काठमाडौँ विश्वविद्यालयले सुपर कम्प्युटर सञ्चालनमा ल्याइसकेको छ ।

हुम्बाेल्ट फाउन्डेसन जर्मनी र त्रिभुवन विश्वविद्यालयकाे स्टार्टअप अनुदानमा प्राप्त जीपीयु नाेड

के हो त्रिविले सञ्चालनमा ल्याएको सुपर कम्प्युटर ?
एउटा सामान्य कम्प्युटरले तथ्याङ्कलाई धारावाहिक रूपमा प्रशोधन गरी विश्लेषण गर्ने काम गर्छ । तर सुपर कम्प्युटर भनेको यस्तो सिस्टम हो जुन हार्डवेयर र सफ्टवेयर प्रयोग नीतिको जटिल सम्मिश्रणबाट बनेको हुन्छ । यस्तो कम्प्युटरको सिस्टममा सयौँ सिपियु, धेरै मेमोरी र बहुप्रयोगकर्ताले प्रयोग गरी सेवा दिन सक्ने क्षमता रहेको हुन्छ । सुपर कम्प्युटरले समानान्तर किसिमले डेटालाई संशोधन, भण्डारण र विश्लेषण गर्न सक्छ । सुपर कम्प्युटरको अर्को विशेषता रात दिन चलिरहन सक्नु हो ।

अहिले त्रिविमा सञ्चालनमा आएको सुपर कम्प्युटरमा २४० सिपियु, ३ टेराबाईट मेमोरी र ३० टेराबाइट भण्डारण गर्ने क्षमता रहेको छ । सुपर कम्प्युटर रिमोटको सहायताले चलाउन सकिन्छ । यो कम्प्युटर सञ्चालनसम्मको खर्च १ करोड ७० लाख सम्म पर्ने भएपनि त्रिविलाई भने ‘आईएफडब्ल्यू ड्रेसडेन’ जर्मनीले निःशुल्क उपलब्ध गराएको सह प्रा. घिमिरेले जानकारी दिए । यस कम्प्युटरले पदार्थ भौतिक, औषधी डिजाइन, भूकम्पीय जोखिम तथा नोक्सानी आँकलन, सेयर बजारको उतारचढाव, सङ्क्रामक रोगको अध्ययन, जलवायु र मौसम परिवर्तन, कृत्रिम बृद्धिमत्ता र यान्त्रिक सिकाई आदि काम गर्ने पनि उनले जानकारी दिए ।

डा. राजेन्द्रप्रसाद अधिकारी र डा. माधव घिमिरे कीर्तिपुरस्थित त्रिविकाे सूचना, प्रविधि तथा नवप्रर्वतन केन्द्रकाे सुपर कम्प्युटर कक्षमा

त्यस्तै त्रिविमा कार्यरत व्यक्तिले आवश्यक परेको खण्डमा कम्प्युटरको सिस्टम इन्टरनेटको सहायताबाट विश्वको जुनसुकै कुनाबाट पनि चलाउन सक्नेछ । यसका लागि त्रिविले प्रत्येक युजरको लागि प्रोफाइल बनाएर पासवर्ड उपलब्ध गराउने पनि उनले जानकारी दिए । यसबाट समयको बचतका साथै धेरै जनाले एकैपटक एउटै कम्प्युटरको कार्यक्रम र सिस्टम प्रयोग गर्न पाउनेछन् । त्यतिमात्र नभई सुपर कम्प्युटर आफूसँग उपलब्ध भएको जुनसुकै ग्याजेटमा कनेक्ट गराउन पनि सकिने समेत घिमिरेले बताए ।

अहिले त्रिविको सुपर कम्प्युटरमा २ सय बढी कोड्स राखेको जानकारी दिँदै अधिकार प्राप्त व्यक्तिले आफ्नो प्रोफाइलबाट त्यसको उपयोग र सिकाई र विकासका काम गर्न सक्ने सह प्रा. घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

One thought on “के हो त्रिविले सञ्चालनमा ल्याएको सुपर कम्प्युटर ?

  1. धेरै राम्रो काम। बधाई छ सम्लग्न सरहरुलाई।

Leave a Reply

Your email address will not be published. Required fields are marked *