एमालेको ‘गढ’ कब्जा गर्ने रणनीतिमा गठबन्धन

विराटनगर । राष्ट्रियसभा सदस्य निर्वाचनको लागि प्रदेश १ मा सत्तारूढ गठबन्धनले आफ्नो मत सुरक्षित राख्ने रणनीति अघि सारेका छन् ।

जसअन्तर्गत पाँच दलीय गठबन्धनले साझा उम्मेदवार अघि सारेको छ भने एमाले र राप्रपाले आफ्ना छुट्टै उम्मेदवारी दिएका छन् । प्रतिस्पर्धाको आधारमा एमाले प्रदेश १ मा बलियो देखिए पनि गठबन्धनका कारण अहिले एमालेलाई प्रदेश १ मा राष्ट्रियसभाको चुनाव जित्न सकस देखिएको छ ।

रिक्त हुन लागेको तीनजना राष्ट्रियसभा सदस्यको लागि प्रदेश १ बाट ८ जना प्रतिस्पर्धामा छन् । नेकपा एमालेले तीनै जना उम्मेदवार छन् भने सत्ता गठबन्धनको तर्फबाट तीन जना नै उम्मेदवार छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट दुई जनाले उम्मेदवारी दिएका थिए ।

सोलुखुम्बुका सोनाम गेल्जेन शेर्पा, मोरङका गुरुप्रसाद बराल र झापाकी सुमित्रा सुवेदी भण्डारी एमालेका उम्मेदवार हुन् भने सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादी पार्टीका हेमराज थुलुङ राई उम्मेदवार छन् । उनीहरूले साझा उम्मेदवार छानेका कारण आफूहरू जित्ने दाबी गठबन्धनको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट झापाका अमर विष्टले खुला र रञ्जु प्याकुरेलले महिलाबाट प्रतिस्पर्धा गर्नेछन् । प्रदेशसभाका एक सांसद र स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष गरी चार जनाको १२० मतभार रहेको राप्रपाको छ । राप्रपाले नेकपा एमालेलाई सघाउन सक्ने अनुमान गरिएको थियो तर अहिलेसम्म कुनैपनि आधिकारिक निर्णय नभएको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुल्सीप्रसाद न्यौपानेले बताए । ‘विभिन्न चरणमा कुराकानी भएपनि हामीले त्यसरी सहमति गरेका छैनौँ’, उनले भने, ‘कुनै निर्णय नै नभएपनि राप्रपाले सघाउनेमा ढुक्क छौँ ।’

यस्तो छ मतभार

प्रदेश १ मा एमाले शक्तिशाली छ । राष्ट्रिय सभाको निर्वाचनमा एमालेलाई झिनो मतभार नपुग्ने देखिन्छ । बुधबार हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा नेकपा एमालेबाटै निर्वाचित भएका तीन जनाको पद रिक्त भएपछि एमालेलाई राष्ट्रिय सभाको सदस्य जित्न केही सकस हुने आकलन गरिएको छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रदेशसभाका सदस्य मतदाता हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा ३६४ मतदाता छन् । निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता रहने छन् । टंक आङ्बुहाङ कारबाहीमा परेपछि त्यो स्थान रिक्त छ । त्यस्तो अवस्थामा प्रदेशमा ९२ जना सांसद छन् । स्थानीय तहमा १३७ पालिाकाका २७४ मतदाता हुनेमा २ जनाको निधन भएको छ । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोजी शेर्पा र भोजपुरको हतुवागढी गाउँपालिका उपाध्यक्ष चन्द्रमा राईको निधन भएकोले कारण २७२ जना मतदाता हुने छन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानुनी व्यवस्था छ । जसअनुसार ९२ प्रदेशसभा सदस्यहरूको मतभार ४ हजार चार सय १६ र २७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार आठ सय ९६ गरि कुल मतभार ९ हजार तीन सय १२ छ ।

कसको मत कति

प्रदेश १ मा नेकपा एमाले एक्लैले गठबन्धनलाई हल्लाएको छ  । केन्द्रमा पाँचदलीय गठबन्धन भएपनि प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि गठबन्धनमा सामेल छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च एक ठाउँमा छन् । यसरी हेर्दा एमालेलाई सहजै जित्नसक्ने अवस्था भने छैन । अहिले पनि गठटबन्धन डराइरहेको अवस्थामा देखिन्छ ।

प्रदेशमा नेकपा एमालेका जनप्रतिनिधिको ४ हजार पाँचसय २४ मतभार रहेको छ । पाँचदलीय गठबन्धनमा आबद्ध दलहरूको कुल मतभार ४ हजार ६ सय ६० देखिन्छ । राष्ट्रियसभा निर्वाचनको लागि प्रदेशमा गठबन्धनमा आबद्ध नेपाली कांग्रेसको २ हजार सात सय ३६, नेकपा माओवादी केन्द्रको एक हजार ८, नेकपा (एकीकृत समाजवादी) को छ सय ६०, जनता समाजवादी पार्टीको दुई सय १६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ । प्रदेशमा गठबन्धन र एमालेबाहेक राप्रपाको एक सय २० मतभार रहेको छ । राप्रपा नेपाल र एमाले मिल्दा २४ मत एमालेलाई नपुग्ने देखिन्छ यस्तो अवस्थामा एमाले अरू मतको खोजीमा छ ।

प्रदेशमा नेकपा एमालेका ४१ जना प्रदेशसभा सदस्य, ६३ स्थानीय तहका प्रमुख र अध्यक्ष तथा ८० तहका उपाध्यक्ष र उपमेयर छन् । प्रदेशसभातर्फ एमालेको मतभार १ हजार ९६८ रहेको छ भने स्थानीय तहतर्फ १४२ जनप्रतिनिधिको २ हजार पाँच ५६ मतभार रहेको छ ।

नेपाली कांग्रेसको प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन् । कांग्रेसका प्रमुख र अध्यक्ष ५४ तथा उपप्रमुख र उपाध्यक्ष ४२ र प्रदेशसभामा २१ सांसद छन् । नेकपा (माओवादी केन्द्र) १५ प्रदेशसभा सदस्य र स्थानीय तहका मतदाता प्रतिनिधि १६ जना छन् ।

माओवादीका १५ प्रदेशसभा सदस्यको ७ सय २० मतभार रहेको छ भने प्रमुख र अध्यक्ष ९ जना तथा उपप्रमुख र उपाध्यक्ष ७ जना छन् । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)को प्रदेशसभामा १० सांसद र स्थानीय तहमा मतदाता रहेका १० जना जनप्रतिनिधि छन् । स्थानीय तहका प्रमुख र अध्यक्ष ५ जना तथा उपप्रमुख र उपाध्यक्ष ५ जना छन् । जनता समाजवादीको प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको रहेका छन् । प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *