तिंकर जोड्ने घोरेटो बाटो यही वर्ष सम्पन्न हुँदै, भारतमाथिकाे निर्भरता हट्ने

काठमाडौँ । महाकाली राजमार्गको विकल्पका रूपमा गत वर्षबाट दार्चुलामा निर्माण शुरू भएको घोरेटो बाटो चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । व्यास गाउँपालिकाको छाङ्गरु तिङ्कर जोड्ने गरी घोरेटोको निर्माण शुरू गरिएको हो ।

सरकारले महाकाली राजमार्ग सम्पन्न गर्न लामो समय लाग्ने देखिएकाले तत्कालका लागि स्थानीयवासीको पहुँच पुर्‍याउन घोरेटो बाटो निर्माण शुरू गरिएको थियो । गत आवमा ठेक्का भएको सो घोरेटोको निर्माण चालू आवमा शुरू भएको स्थानीय पुर्वाधार विभागका प्रवक्ता शंकरप्रसाद पण्डितले बताए । यही आवमा सकाउनुपर्नेमा अन्यत्र काम भइरहे पनि केही खण्डमा कठिन चट्टानका कारण समस्या भइरहेको छ । झण्डै एक किमी खण्डमा कडा चट्टान नै चट्टान रहेको छ । उनले भने, “त्यो खण्डबाहेक अरूतिर निर्माण सकिने छ ।”

यसको निर्माण सम्पन्न हुँदा व्यास गाउँपालिकाको छाङ्गरु, तिङ्कर, दुम्लिङ, कल्जु, माललगायतका स्थानका बासिन्दालाई सुविधा पुग्ने उनले बताए । स्थानीयवासीलाई जिल्ला सदरमुकामसम्म पुग्न भारतीय भूमि पुग्नुपर्ने बाध्यता हट्ने बताइएको छ । खासगरी संघीय सरकारले राष्ट्रिय महत्वका सडक निर्माण गर्ने भए पनि सडक र घोरेटो बाटो दुवै नहुँदा स्थानीयवासीको जनजीवन कठिन भएकाले यसको निर्माण संघीय बजेटबाट नै भइरहेको हो ।

अहिले घोरेटो निर्माण भइरहेको ठाउँ महाकाली किनारमा भिरमा रहेको प्रवक्ता पण्डितले बताए । यसको लम्बाइ झण्डै २६ किमी रहने बताइएको छ । छब्बीस किमीमध्ये पनि कतिपय खण्ड विगतदेखि नै राम्रो अवस्थामा रहेकाले अहिले थप काम गर्न नपर्ने प्रवक्ता पण्डितले बताए ।

त्यसमा बीचबीचमा गर्नुपर्ने काम भइरहेको छ । महाकाली राजमार्ग निर्माण पनि घोरेटोको नजिकै रेखांकन हुनसक्ने उनले बताए । उनले भने, “घोरेटोभन्दा ठ्याक्कै नजिकै वा केही तलमाथि पर्नसक्छ ।” झण्डै डेढदेखि दुई मिटरसम्म लम्बाइ हुने गरी घोरेटो बाटो निर्माण अघि बढाइएको विभागले जनाएको छ । कठिन भूगोलका कारण विस्तार हुन नसकेको ठाउँबाहेक त्यो चौडाइ कायम हुने विभागले जनाएको छ । -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *