राजपत्रमा ‘चुच्चे नक्सा’ गायब भएपछि सञ्चारमन्त्री भन्छन्– ‘भुलवश गयो, सच्याउँछौँ’

काठमाडौँ । मधेस प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साहले हालै प्रकाशित राजपत्रमा ‘चुच्चे नक्सा’ नराखी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित गर्नु भुल भएको स्वीकार गरेका छन् । तत्कालीन प्रदेश नम्बर २ ले नाम परिवर्तन गरी ‘मधेस प्रदेश’ बनाएको विषयमा जारी राजपत्रमा ‘चुच्चे नक्सा’ नसमेटी पुरानै नक्सा राखेर राजपत्र प्रकाशित भए पछि मन्त्री साहले सच्याउने प्रतिबद्धता जनाएका हुन् ।

‘नेपालको पुरानै नक्सा राखेर भुलवश राजपत्र प्रकाशित भएछ, अब नयाँ नक्सासहितको राजपत्र प्रकाशित गर्नेछौँ,’ मन्त्री साहले भने । उनका अनुसार प्राविधिक कारणले मात्रै उक्त राजपत्रमा पुरानो नक्सा पर्न गएको हो ।

सार्वभौम संघीय संसद्ले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नयाँ नक्सा पारित गरी नेपाल सरकारको लोगो नयाँ निमार्ण गरेको दुई वर्ष नाघेको अवस्था हुँदा हुँदै माघ ३ देखि लागु हुने गरी हिजो सार्वजनिक राजपत्रमा भने मधेस प्रदेशले पुरानै नक्साको निशान चिन्हसहित राजपत्र प्रकाशित गरेको थियो ।

प्रदेश २ लाई मधेस प्रदेश नामाकरण गरिएको विषय जानकारी दिन जारी राजपत्रमा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको ‘नेपालको चुच्चे नक्सा’ नअटेको हो । मधेस प्रदेशका महान्यायाधिवक्ता दिपेन्द्र झाले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको उक्त राजपत्रमा चुच्चे नक्सा नदेखिएपछि सार्वजनिक चासो बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *