कानुनका विज्ञसँग छलफल गरेर स्थानीय तह निर्वाचनको मिति तोकिने

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरु स्थानीय तहको निर्वाचन गर्न सहमति भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संविधान तथा कानुनी विदहरुसँग छलफल गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्न सहमत भएका हुन् ।

निर्वाचनबारे कानुनका विज्ञ र निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति भएको बताइएको छ । संवैधानिक र कानुनी परामर्शपछि स्थानीय निर्वाचन असोजपछि हुने भए तीनै तहको निर्वाचन एकैपटक गर्ने सहमति भएको पनि बताइएको छ । संविधान अनुसार एकैपटक गर्न नमिले स्थानीय तहको निर्वाचन पहिला हुनेछ ।

स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएकाले संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनले भने, ‘निर्वाचनबारे गठबन्धनको तर्फबाट कानुनविदहरुसँग परामर्श गर्ने निर्णय भएको छ । निर्वाचन आयोगसँग  परामर्श गरेर हामी स्थानीय तहको निर्वाचन सम्पन्न गर्छौ । तीनै तहको निर्वाचनलाई एकैचोटी गर्दा के हुन्छ भन्ने विषयमा पनि छलफल चलेको छ ।’ स्थानीय तहको तीन चरणमा चुनाव भएकाले कुन मितिलाई ५ वर्ष मान्ने भन्ने विषयमा छलफल गर्न आवश्यक देखिएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *