जिल्ला प्रशासनमा भिड, बारका आधारमा आलोपालो सेवा दिने तयारी

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलवार सेवाग्राहीको निक्कै भिड थियो । विभिन्न कामको सिलसिलामा आएका सेवाग्राहीले त्यही भिडको बीचमा आफ्नो काम गर्नु पर्यो । धनपालथानबाट आएका सेवाग्राहीले भिडका बीचमा नागरिकता लिन पाएको सुनाए ।

सरकारी नीति नियम पालना गराउने निकायले नै भिड व्यवस्थापन गर्न सकेको देखिँदैेन थियो । जुनसुकै कामको लागि भिडमा लाईन लाग्नु पर्ने बाध्यताका बीच पनि सेवाग्राही कोभिडको प्रवाह नगरि आफ्नो सेवा लिँदै थिए । सबैभन्दा बढी भिड नागरिकता लिन आउने सेवाग्राहीको हुने गरेपछि जिल्ला प्रशासन कार्यालयले अब आलोपालो सेवा दिने तयारी गरेको जनाइएको छ । डिसिसिएमसीको बैठकले तत्काललाई सेवा नागरिकसम्म पुर्याउनको लागि र भिड कम गर्नको लागि पालिकागत रुपमा आलोपालो गर्न लागिएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिए ।

भोलीदेखि प्रशासन कार्यालयले आलोपालो सेवा दिन लागेकाले सेवाग्राहीलाई त्यही अनुसारले जानकारी दिने काम भईरहेको उनले सुनाए । सूचना अधिकारी तिम्सिनाका अनुसार आईतबार र बुधबार सुन्दरहरैँचा नगरपालिका, बुढिगंगा र जहदा गाउँपालिका, सोमबार र बिहिबार विराटनगर महानगरपालिकासहित धनकाल र कटहरी गाउँपालिकालाई सेवा दिइनेछ । त्यस्तै मंगलबार र शुक्रबार बेलवारी नगरपालिका, केरावारी र ग्रामथान गाउँपालिकाका सेवाग्राहीले सेवा पाउने गरी पालो लगाइएको तिम्सिनाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमा फोटोसहितको मतदाता नामावलीमा नाम लेखाउने, राहदानी बनाउने, राष्ट्रिय परिचय पत्र बनाउने र नागरिकता लिनेहरुको बढी भिड देखिएको उनले बताए । अरुसेवाहरु यथावत रहने छ भने नागरिकता लिने सेवाग्राहीको लागि मात्र पालो लगाइएको छ।

सिमानाकामा कडाइ
डिसिसिएमसीको बैठकले सिमा क्षेत्रमा कडाइ गर्ने निर्णय गरेको छ। गत पुस २५ गतेको बैठक पछि सिमा क्षेत्रबाट हुने आउजाउमा कडाइ गरेको प्रशासनले जनाएको छ । नेपालबाट भारततर्फ जान र भारतबाट नेपालतर्फ आउनको लागि खोप कार्ड र पिसिआर अनिवार्य गरिएको छ । पिसिआर परीक्षणको २४ घण्टा नकटेको परीक्षण रिपोर्टका आधारमा एन्टीजेन परीक्षण गरेर मात्र नेपाल प्रवेश दिने गरिएको उनले सुनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *