प्रदेश १ को मात्रै न्वारान बाँकी : हिउँदे अधिवेशनबाट टुङ्ग्याउने मुख्यमन्त्रीको दाबी

विराटनगर । प्रदेश संरचना बनेको ४ वर्ष पुगिसक्दा पनि प्रदेश १ ले अझै नाम पाउन सकेको छैन । प्रदेश २ ले सोमबार मात्र नाम र राजधानी टुंगो लगाएपछि प्रदेश १ मात्र नाम टुंगो लगाउन बाँकी प्रदेश बनेको छ ।

प्रदेश संरचना बन्दै गर्दा मुख्यमन्त्री भएका शेरधन राईले प्रदेशको नाम र राजधानी तय गर्ने घोषणा गरेका थिए । उनले कार्यकालमा राजधानी टुंगो लगाएपनि नाममा हात हाल्नै चाहेनन् । त्यसपछि करिब अढाई महिना सरकारको नेतृत्व गरेका मुख्यमन्त्री भीम आचार्यले नामबारे सोच्नै भ्याएनन् । सरकार फेरबदलको असरले त्यो सरकार अन्यौलमै बित्यो ।

त्यसपछि गठन भएको गठबन्धनको सरकारले पनि प्रदेशको नामलाई प्राथमिकतामा राख्ने जनाएको थियो, तर सरकार गठन भएको अढाई महिना कटिसक्दा पनि त्यो विषय मन्त्री र सांसदको भाषणमा बाहेक प्राथमिकता पाउन सकेको छैन । काठमाडौँमा भएको कार्यक्रममा प्रदेश १ को नाम किराँत प्रदेश राख्ने भन्दै कसम खाएर आएका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले पनि त्यो कुरा भाषणमा मात्र सीमित राखे । मुख्यमन्त्री भएकै दिन प्रदेश १ को नामाकरणलाई सरकारले पहिलो प्राथमिकतामा राख्ने दाबी गरेका राईले नामाकरणको विषय अहिलेसम्म छलफलमा समेत लगेका छैनन् ।

प्रदेश १ मा नामाकरणकाे विषय पेचिलो भएकाले कुनैपनि मुख्यमन्त्रीले आँट गर्न सकेका छैनन् । नेकपाको सरकार भएको बेला प्रदेश १ मा दुई तिहाईको समर्थन हुँदा पनि मुख्यमन्त्री राईले आँट गर्न सकेनन् ।

प्रदेशको नाम सगरमाथा, कोशी, मेची, किराँत, लिम्बुवान्‌लगायत के बनाउने भन्नेमा दलहरूबीच एक मत छैन । सांसदहरू विभाजित भएको कारण नामाकरणको विषय प्रदेश सभामा लग्ने आँट गर्ने अवस्थामा कुनैपनि दलले गरेको छैन । नेकपा एमाले कोशी प्रदेशको पक्षमा देखिएको छ भने नेपाली कांग्रेस प्रदेशको नाम सगरमाथा हुनुपर्ने पक्षमा छ । यस्तै नेकपा माओवादी किराँत प्रदेशको पक्षमा छ । जनता समाजवादीले पनि यो नाममा सहमति जनाउन सक्ने नेताहरू बताउँछन् । एकजना सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले भने प्रदेशको नाम लिम्बुवान् हुनुपर्ने बताउँदै आएको छ ।

एमालेबाट फुटेर गएको नेकपा एकिकृत समाजवादी पार्टीका सांसदहरू कोही किराँत, कोही कोशी र कोही सगरमाथाको पक्षमा छन् । मुख्यमन्त्री राईले आफ्नो पार्टीभित्र भने एकमतले प्रदेशको नाम किराँत राख्ने भन्दै कसम खाइसकेका छन् ।

मधेश प्रदेशले नाम र राजधानी टुंगो लगाएपछि दबाब परेको महसुस गरेका मुख्यमन्त्री राईले प्रदेश १ को नामकरण प्रदेश सभाको आउँदो हिउँदे अधिवेशनबाट टुंगो लगाउने दाबी गरेका छन् । संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री राईले प्रदेशको नाम संसदले टुंगो लगाउने विषय भएको बताउँदै हिउँदे अधिवेशनले टुंगो लगाउने बताए । मुख्यमन्त्री राईले माघ २० गतेभित्र हिउँदे अधिवेशन शुरू गरेर प्रदेश १ को नाम टुंगो लगाउनेतर्फ अघि बढिने उनले सुनाए । ‘प्रदेशको नाम सांसदले टुंगो लगाउने विषय हो,’ उनले भने, ‘प्रदेश सरकारको तर्फबाट सक्रिय सहजकर्ताको भूमिका खेलेर यही हिउँदे अधिवेशनबाट प्रदेशको नामाकरण गरिने छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *