अत्यावश्यक गतिविधि प्रभावित नहुने गरी कोभिडविरुद्ध लड्ने

विराटनगर । संघीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले अत्यावश्यक गतिविधि प्रभावित नहुने गरी कोभिडविरुद्ध लड्ने बताएका छन् । प्रदेश १ को मुख्यमन्त्री कार्यालयमा भएको कार्यक्रममा मन्त्री खतिवडाले मानिसको जीवन निष्क्रिय नबाई कोभिडविरुद्ध लड्ने बताएका हुन् ।

अहिलेको अवस्थामा सकेसम्म भिडभाड नगर्न उनले आग्रह गरे । ‘भिडभाड हुने स्थानलाई व्यवस्थित गर्ने योजनाका साथ सरकार प्रस्तुत भएको छ,’ उनले भने, ‘कोभिडविरुद्धको खोपको पर्याप्त मौज्दात रहेको र ११ वर्षमुनिका बालबालिकालाई पनि खोप लगाउने तयारी छ ।’ विश्व स्वास्थ्य संगठनबाट मान्यता पाएपछि बालबालिकालाई पनि खोप लगाउनेगरी सरकारले खोप उत्पादक कम्पनीसँग सहमति गरिसकेको मन्त्री खतिवडाले जानकारी दिए ।

प्रदेश नं. १का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सीमित बजेटबाट कोभिडविरुद्ध लड्दै आएको प्रदेश सरकारलाई संघीय सरकारले बल प्रदान गर्नुपर्ने विचार बताएका छन् । प्रदेश १ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा भएको कार्यक्रममा मुख्यमन्त्री राईले संघीय सरकारसमेतको सहयोगमा कोरोनाविरुद्ध प्रभावकारी कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकार तयार रहेको बताए ।

कोभिडको तेस्रो झम्टाइलाई प्रदेश सरकार अत्यन्त सुझबुझका साथ सामना गर्ने पक्षमा रहेको बताए। आर्थिक गतिविधिसमेतलाई क्रियाशील राखी कोभिडको तेस्रो लहरलाई सामना गर्नुपर्ने मुख्यमन्त्री राईको धारणा छ ।

तराईमा खोप लगाउने कम
प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयराम यादवले प्रदेश नं। १ का जनसङ्ख्या कम भएका पहाडी र हिमाली जिल्लामा खोप लगाउने प्रतिशत राम्रो भएको जानकारी दिए । तराईकै जिल्लामा खोप लगाउनेको सङ्ख्या कम भएकोमा अब प्रभावकारी योजनामार्फत खोप लगाउने लक्ष्य पूरा गरिने बताए ।

सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेश नं. १ मा कोभिड १९ वर्तमान अवस्थाका बारे जानकारी गराएका थिए । उनले माघ १ गतेसम्म प्रदेश नं। १ मा सङ्क्रमितको सङ्ख्या एक लाख ५४ हजार एक सय ६१ पुगेको बताए । प्रदेशमा ६ लाख ६७ हजारले पीसीआर र एन्टिजेन परीक्षण गराएका छन् । अहिले प्रदेश नं. १ मा सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार तीन सय ९७ छ । कोभिडका कारण प्रदेश नं. १ मा दुई हजार एक सय ९६ जनाको मृत्यु भएको छ । प्रदेश नं. १का विभिन्न खोप गरी पहिलो डोज लगाउनेको सङ्ख्या २६ लाख र दोस्रो डोजसहित पूर्ण खोप लगाउनेको सङ्ख्या १७ लाख ५० हजार छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली, प्रदेश नं. १ का प्रमुख सचिव डा. रामप्रसाद घिमिरे, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसहित सुरक्षा निकायका प्रमुखहरू, स्वास्थ्य सेवा क्षेत्रका प्रमुखहरू, प्रदेशस्तरीय मन्त्रालयका सचिवहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *