रकम अभावले प्रकाशन बन्द भएको शिक्षक मासिकका लागि श्रोत खोजिँदै

काठमाडौँ । शिक्षाका विषयमा केन्द्रीत भएर प्रकाशित हुँदै आएको शिक्षक मासिक पत्रिकाको प्रकाशन पुन: शुरु हुन सकेको छैन । २०६४ सालको माघमा पहिलो अंक प्रकाशित भएको पत्रिका २०७६ चैतपछि प्रकाशन बन्द भएको हो । १४४ अंक प्रकाशित भएको अवस्थामा लकडाउन शुरु भएसँगै प्रकाशन स्थगित भएको पत्रिका फेरि प्रकाशन गर्न नसकिएको सम्पादक राजेन्द्र दाहालले जानकारी दिए ।

‘लकडाउनसँगै विद्यालय र हाम्रो पत्रिका पाइने पत्रिका पसल बन्द भए जसले गर्दा स्थगित गर्नुपरेको शिक्षक मासिकको प्रकाशन आर्थिक अभावका कारण फेरि शुरु गर्नै सकिएको छैन’, सम्पादक दाहालले भने, ‘बजारमा बाँकी रहेको करीब ६० लाख रुपैया लकडाउनका कारण उठाउन नसक्दा फेरि प्रकाशन शुरु गर्न नसकिएको हो ।’

लकडाउनसँगै विक्रेताहरु पलायन र कतिपयको ब्यवसाय धराशायी हुनु, २०-२२ महीनासम्म पत्रिका बजारमा नजानु, तर घरभाडालगायतका खर्च भइरहनु जस्ता कारणले आर्थिक अवस्था नाजुक भएपछि पत्रिका प्रकाशन गर्न नसकिएको सम्पादक दाहालले बताए ।

पहिलो लकडाउनले नै थला पारेकोमा दोस्रो लकडाउन पछि धेरै बितरकहरु पलायन भएका कारण झनै समस्या भएको हो । शुरुमा अनुदान रकमबाट प्रकाशन शुरु भएको पत्रिका प्रकाशनको तीन वर्षपछि आफैँले खर्च धान्ने अवस्था भएपनि लकडाउनले बजारमा रहेको बाँकी उठाउन नसकिएको हो । मासिक २५ हजार प्रतिसम्म पनि प्रकाशन भएको शिक्षक मासिक सामान्यतया २० हजार प्रति प्रकाशन हुने गरेको थियो । त्यसमा करीब १० हजार जति नियमित ग्राहक थिए । ७७ वटै जिल्लामा रहेका पुस्तक तथा पत्रपत्रिका व्यवसायीमार्फत वितरण हुँदै आएको पत्रिका देशका करीब ९० प्रतिशत माध्यमिक विद्यालयमा पुग्ने गरेको थियो ।

काठमाडौँ उपत्यकामा आफैँ डेलिभरी गर्ने व्यवस्थापन भएपनि बाहिरका जिल्ला र शहरमा स्थानीय पुस्तक तथा स्टेशनरी ब्यवसायीमार्फत विक्री हुँदै आएको थियो ।

श्रोत खोजि गरिँदै
अहिले पत्रिकाको प्रकाशन बन्द भएपनि पुन: शुरु गर्नका लागि श्रोत खोजि भइरहेको सम्पादक दाहालले जानकारी दिए । अब फेरि पूरानै लय अर्थात आफ्नै खर्चले धान्ने अवस्था आउन छ महिना जति समय लाग्ने र त्यसका लागि १ करोड जति खर्च चाहिने आँकलन गरि श्रोत खोजि भइरहेको हो । नयाँ अंक प्रकाशन गरी बजारमा लैजाने, नयाँ ग्राहक बनाउने तथा बितरकहरुले पैसा उठाएर पठाउन थालुन्जेल सम्म छ महिनाजति समय लाग्ने आँकलन गरिएको हो । अब श्रोतका सम्भावित विकल्पहरूबारे खोजी गर्ने काम भइरहेको र कुनै न कुनै हिसाबबाट श्रोत जुटाएर शिक्षकलाई पुन प्रकाशन गर्न सकिनेमा आफूसहित शिक्षक परिवार विश्वस्त रहेको दाहालले बताए ।

यसरी भएको थियो शुरुवात
सार्वजनिक शिक्षाकाबारेमा बहस गर्ने, कमजोरी औँल्याउने र राम्रा उदाहरणलाई प्रोत्साहन गर्न २०६४ सालको माघबाट शिक्षक मासिकको प्रकाशन शुरु भएको थियो । यसका लागि सेभ द चिल्ड्रेन नर्वेले तीन वर्षभित्र आत्मनिर्भर भइसक्ने शर्तमा करीब २ करोड रुपैया अनुदान दिएको थियो ।

शिक्षा विषयमा केन्द्रीत भएर प्रकाशन हुने यो पत्रिकामा चुरोट, रक्सी, बियर आदिको विज्ञापन नछाप्ने घोषित नीति थियो । तेस्रो वर्षदेखि आफ्नै आम्दानीबाट पत्रिकाले खर्च धान्न थालेको थियो । त्यसमा विज्ञापन र प्रायोजित सामग्रीबाट हुने आम्दानीले खर्चको करीब ३५ प्रतिशत धान्ने र बाँकी विक्रिबाट धान्दै आएको थियो । पत्रिकालाई एउटा अभिभावक चाहिने भएपछि ज्ञानविज्ञान सहकारी खोली त्यसै मातहतमा पत्रिकाको प्रकाशन हुँदै आएको थियो । पत्रिकामा काम गर्ने र पत्रिकालाई माया गर्नेहरु गरी अहिले ५२-५३ जना सदस्य रहेको सहकारीका छुट्टै आम्दानी र क्रियाकलाप नहुँदा पनि थप भरथेग हुन नसकेको सम्पादक दाहालले बताए ।

नाफा नकमाउने घोषणा गरेको सहकारीले बचत रकमबाट विभिन्न पुस्तकहरू प्रकाशन गर्दै आएको थियो । यसै क्रममा शिक्षा क्षेत्र, अभिभावक, विद्यार्थी, वालवालिकालगायतसँग सम्बन्धित विश्वप्रसिद्ध करिब दर्जन पुस्तक प्रकाशन गरिएको छ । शिक्षा क्षेत्रका बारेमा सार्वजनिक बहस नं कम हुने गरेको सन्दर्भमा शिक्षक मासिकलाई पुन: प्रकाशन गर्ने वातावरण बनाउनुपर्ने माग शिक्षा क्षेत्रका सरोकारवालाहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *