लोसपा : शीर्ष नेताबीच नै पानी बाराबार

काठमाडौँ । महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख नेताहरूबीच असन्तुष्टि बढेको छ । तत्कालीन जनता समाजवादी पार्टी (जसपा) विभाजन गरेर छुट्टै पार्टी गठन गरेका ठाकुरसँग पार्टीका शीर्ष नेताहरू नै असन्तुष्ट भएका हुन् ।

लोसपालाई गएको भदौ ९ गते निर्वाचन आयोगले छुट्टै पार्टीको मान्यता दिएको हो । त्यही दिन निर्वाचन आयोगले मान्यता दिएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले देशभरजसो संगठन विस्तार गरिसक्दा लोसपा भने आन्तरिक विवाद र असन्तुष्टिमै अल्झिरहेको छ ।

लोसपामा खासगरी अध्यक्ष ठाकुरले मनमौजी गरेको भन्दै वरिष्ठ नेताहरू रिसाएका छन् । पार्टी कमिटीहरू विस्तार गर्ने क्रममा ठाकुरले एकलौटी गरेको वरिष्ठ नेता राजेन्द्र महतो र नेता अनिलकुमार झालगायतको आरोप छ ।

हुन पनि ठाकुरले एकल निर्णय गर्दै १७ वटा जिल्लामा अध्यक्ष र पर्यवेक्षक नियुक्त गरेका छन् । यसमा महतो, झालगायतका नेताहरू असन्तुष्ट छन् । यस्तै ठाकुरले संसदीय दलमा छलफल नै नगरी प्रतिनिधि सभाको उमाशंकर अरगरियालाई प्रमुख सचेतकको जिम्मेवारी तोकेको, राष्ट्रिय सभामा रुपा यादव र श्यामसुन्दर सरदारलाई उम्मेदवार बनाएको भन्दै महतो–झा पक्ष असन्तुष्ट छ ।

शुरूमा अर्का वरिष्ठ नेता शरदसिंह भण्डारी पनि ठाकुरसँग रुष्ट थिए । तर, सिरहालगायतका जिल्लामा उनीनिकट नेतालाई जिम्मेवारी दिइएसँगै उनी पुनः ठाकुरकै कित्तामा उभिएको लोसपाका नेताहरुले बताएका छन् । यसकारण अहिले लोसपाभित्र ठाकुर–सिंह पक्ष र महतो–झा पक्ष भएको छ । खासगरी पार्टी कमिटी विस्तारकै कारणले उनीहरूबीचको सम्बन्ध चिसिएको उनीहरूनिकट नेताहरू बताउँछन् ।

पार्टी कार्यालय जाँदैन महतो–झा पक्ष

पछिल्लो समय महतो–झापक्षीय नेताहरू पार्टीको केन्द्रीय कार्यालय जान छाडेका छन् । महतोनिकट एक नेताकाअनुसार महतो करिब साढे २ महिनायता पार्टी कार्यालय बबरमहल पुगेका छैनन् । ठाकुर भने दिनहुँजसो पार्टी कार्यालय पुगिरहेका हुन्छन् ।

कार्यकारिणी समितिमा छलफल नै नगरि अध्यक्ष ठाकुरले निर्णय लिने प्रवृत्तिविरुद्ध महतोले असन्तुष्टि जनाएको उनीनिकट एक नेताले बताए । ‘एउटै संगठन, पार्टी भएपछि पर्याप्त छलफल गर्नुपर्ने हो, सहमतिमा सबै काम गर्नुपर्ने हो । तर, उहाँ (ठाकुर) ले एकलौटी गर्नुभयो,’ ती नेताले भनेका छन् ।

ठाकुर र महतोबीच भेटघाट नै नभएको पनि लामो समय भएको छ । पार्टी दर्ता भइसकेपछि ठाकुर लामो समय जिल्लाकेन्द्रित भए । त्यसपछि झन्डै डेढ महिनापछि काठमाडौँ फर्किएका ठाकुरसँग सबै नेताहरूले भेटघाटसमेत गरेका छैनन् । त्यसबीचमा ठाकुरलाई महतोले १/२ पटक भेटेपनि खास कुराकानी भएको छैन । ती नेताकाअनुसार ठाकुर–महतोबीच भेट नभएको झन्डै ३ महिना पुगेको छ ।

महतोले आफ्नो सम्पर्क कार्यालय बबरमहलस्थित कार्की भवनलाई बनाएका छन् । त्यहाँ नै उनले नेताहरूलाई भेट्ने गर्छन् । कार्की भवनमा रहेको गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रको कार्यालयमा महतोले नेताहरूसँग छलफल गर्दै आएका छन् । उनी बबरमहलमै रहेको पार्टी कार्यालयमा नगई कार्की भवनमा भेटिन्छन् ।

महतो पक्षले ठाकुरले पार्टीभित्र जिम्मेवारी दिने क्रममा पूर्वतमलोपालाई प्राथमिकतामा राखेको आरोप लगाउँदै आएको छ । एक नेताले भने, ‘पार्टीमा संगठित भएर अगाडि बढिसकेपछि त्यसो गर्नु हुँदैन । तर, पार्टीमा त्यही भइरहेको छ ।’

यसैबीच ठाकुरनिकट मानिएका नेता वृषेशचन्द्र लालनिकट सुवास कर्णको नेतृत्वमा तमलोपा पार्टी दर्तासमेत भएको छ । यसले पनि महतो पक्षलाई झस्काएको छ । त्यसैले महतो–झालगायतका नेताहरूले अहिले ठाकुर पक्ष पूर्वतमलोपालाई एक गराउने रणनीतिमा लागेको त होइन (?) भन्ने शंका गर्न थालेको छ ।

‘लोसपा फुट्दै होइन, जुट्दै छ’

नेता लक्ष्मणलाल कर्ण जसपा कहिल्यै नफुट्ने ठोकुवा गर्छन् । पार्टी भनेको धेरैखाले धारणा भएका व्यक्तिहरूको समूह भएको र त्यसमा खास–खास रूपमा छलफल हुँदा कहिलेकाहीँ मनमुटाव हुनु स्वाभाविक भएको उनी बताउँछन् । ‘म यत्ति भन्छ, लोसपा हाम्रो पार्टी कहिल्यै नफुट्ने पार्टी हो,’ नेता कर्ण भन्छन्, ‘समूहमा कहिलेकाहीँ छलफल गर्दा केही कुरामा विवाद पर्छ, त्यसलाई लामो रूपमा लिनुहुन्न भनेर म सबैलाई भन्छु पनि । लोसपा फुट्नलाई बनेको पार्टी होइन । यो पार्टी कहिल्यै फुट्दैन ।’

अर्का नेता एकवाल मियाँको भनाइ पनि कर्णको भनाइसँग मिल्दोजुल्दो छ । भन्छन्— ‘हाम्रो पार्टी संगठन विस्तारको काममा छ । फुट्ने कुरा हुँदैन ।’ नेताहरूबीच केही मनमुटाव भएको भने भएको उनी स्वीकार्छन् । ‘पार्टीमा छलफल हुँदा कहिलेकाहीँ फरक मत हुन्छ र त्यहाँ साधारण रूपमा छलफल हुन्छ, भनाभन हुन्छ । यसलाई स्वाभाविक रूपमा लिनुपर्छ । हाम्रो पार्टीका नेताहरूले यसलाई यसैगरी नै लिइरहनुभएको छ । पार्टी फुटाउने कुरा त उतैको कुरा हो ।’

नेता चन्दा चौधरी पनि जसपा एकजुट भएर अगाडि बढिरहेको बताउँछिन् । ‘जसपा बन्दै छ, संगठन विस्तार हुँदैछ,’ उनी भन्छिन्, ‘पार्टी विभाजन हुँदैन । एकजुट भएर अगाडि बढ्छ ।’

नेताहरूबीच सामान्य रूपमा मनमुटाव भएपनि यसले पार्टीलाई केही क्षति नगरेको र नगर्ने उनी सुनाउँछिन् । ‘पार्टीका नेताहरूबीच केही चित्तदुखाइ होला । तर, त्यो सतहमा देखिने छैन र देखिनु पनि हुँदैन,’ उनी भन्छिन्, ‘पार्टी बनाउने कुरा हो, फुटाउने होइन ।’

000

त्यसाे त लोसपालाई तत्काल फुट्न राजनीतिक दलसम्बन्धी ऐनको प्रावधानले पनि दिँदैन । राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भएबमोजिम विभाजनबाट बनेको पार्टी पुनः विभाजनमा जान एक संसदीय काल पर्खिनुपर्छ । अर्थात् ठाकुर–महतो आउँदो राष्ट्रिय चुनावसम्म छुट्न पाउँदैनन् । उनीहरू एउटै पार्टीबाट चुनावमा जानुपर्छ ।

वरिष्ठ नेता शरदसिंह भण्डारी एक संसदीय कालमात्रै नभइ लोसपा सबै संसदीय काल सँगै रहने जिकिर गर्छन् । ‘लोसपा बन्दै गरेको पार्टी हो, बन्दै छ,’ उनी भन्छन्, ‘संगठन विस्तार हुँदैछ । लोसपामा विभाजन भन्ने कुरै छैन, शब्दै छैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *