लखपती मुख्यमन्त्रीका झण्डै तीन करोडका ऋणी आर्थिक मन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको बैँकमा मात्र ८७ लाख ६४ हजार ९८२ रुपैयाँ नगद रहेको सम्पति विवरण पेश गरेका छन् । सबै मन्त्रीहरुको सम्पती विवरण सार्वजनिक गर्दै मुख्यमन्त्री कार्यालयले मुख्यमन्त्री राईको नाममा कृषि विकास बैँकमा १७ लाख २० हजार र राष्टिय बाणिज्य बैँकमा २ लाख ६५ हजार ३ सय रहेको जनाइएको छ।

उनकी श्रीमती शोभा पाठकको नाममा सानिमा बैँकमा ६७ लाख ७० हजार ६ सय ४२ रुपैयाँ रहेको सम्पती विवरणमा उल्लेख छ। मुख्यमन्त्री राईले विभिन्न समयमा खरिद गरेको १० तोला सुन रहेको तथा सवारी साधनको नाममा एउटा मोटरसाईकल मात्र रहेको उल्लेख गर्दै कुनै पनि ऋण नभएको विवरण प्रस्तुत गरेका छन् । उनीसँग जग्गाको नाममा भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११ मा बुवाबाट प्राप्त भएको ५ आना जग्गा रहेको सम्पती विवरणमा देखिएको छ।

कुनै ऋण नभएको मुख्यमन्त्री राईको सम्पती विवरण सार्वजनिक हुँदै गर्दा प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र बहादुर आङ्बोको भने झण्डै ३ करोडको हाराहारीमा ऋण भएको सम्पती विवरण सार्वजनिक भएको छ। मन्त्री आङ्बोले नेपाल ईन्भेष्टमेन्ट बैँकबाट २ करोड ३५ लाख रुपैयाँ २०६९ सालमा ऋण लिएको तथा एनएमबी बैँकबाट घरकर्जाको रुपमा २०७७ सालमा ५५ लाख लिएको जनाएका छन् । उनको ऋण मात्र २ करोड ९० लाख रहेको सम्पती विवरणमा उल्लेख गरिएको छ । सवारी साधनमा एउटा स्कुटर, बंगुर फार्ममा २५० वटा बंगुर पनि रहेको उल्लेख गरेका छन् । उनले ३० लाखको फेन्सी पसल तथा व्यवसाय पनि संचालनमा रहेको जनाएका छन् ।

सम्पती विवरण सार्वजनिक गर्दै दाई यामकुमार आङ्बोको नाममा ५ रोपनीमा पैतृक घरजग्गा रहेको, श्रीमती कुमारी लावतीको नाममा झापामा १ कठ्ठामा घर रहेको उल्लेख छ। जग्गाको विवरणमा बुवा नरेन्द्र आङ्बोको नाममा पाँचथरमा ५० रोपनी पैतृक जग्गा, श्रीमती कुमारीको नाममा झापामा ३ कठ्ठा जग्गा ब्यापारबाट खरिद गरेको र मिक्लाजुङ कृषि कम्पनी प्रा.लि.को नाममा ईलामको चुलाचुलीमा २ बिगाहा जग्गा बैँकबाट कर्जामा लिएको उल्लेख गरिएको छ। उनले श्रीमती र आफ्नो नाममा ५ लाख १५ हजार नगद रुपैयाँ बैँक तथा सहकारीमा रहेको उल्लेख गरेका छन् ।

जमिन्दार मन्त्री
प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले भने ११ ठाउँमा जग्गा भएको सम्पति विवरण पेश गरेका छन् । बूढीगंगा गाउँपालिका २ टंकीसिनवारीमा घर भएका कार्कीले विराटनगरमा सात र उनकै घर भएको पालिकाका विभिन्न चार ठाउँमा घडेरी रहेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

श्रीमती शान्तादेवी बस्नेतको नाममा विराटनगर महानगरपालिका–७ को बजार क्षेत्रमा ६ वटा घडेरी छ । विराटनगर–९ बखरीमा एक बिघा दुई कट्ठा दुई धुर जग्गा रहेको सम्पति विवरणमा उल्लेख गरिएको छ। घर भएको जग्गाबाहेकको तीन स्थानमा घडेरी छ । कार्कीको बूढीगंगा २(क) मा ८ धुर, ११ धुर र बूढीगंगा–८(ख)मा तीन कट्ठा जग्गा छ । तलब, बोनस र ऋणबाट जग्गा खरिद गरिएको उल्लखे गरिएको छ। श्रीमतीको नाममा विराटनगरको सात ठाउँमा रहेको घडेरी र खेत जमिन बिक्रीबाट खरिद गरेको उल्लेख गरेका छन् । पछिल्लो पटक विराटनगर–७ मा रहेको रहेको १० कट्ठा जग्गा एक करोड २३ लाख ८१ हजारमा बिक्री गरेर विराटनगर–९ बखरीमा दुई करोड सात लाखमा एक बिघा दुई कट्ठा जग्गा खरिद गरेको सम्पति विवरणमा उल्लेख गरेका छन् ।

कार्कीको बैङ्कमा भने एक लाख रुपैयाँ मात्रै पैसा छ । श्रीमतीको कृषि बिकास बैङ्कमा रहेको खातामा २३ लाख आठ हजार र एभरेस्ट बैंकमा ८२ हजार रहेको उल्लेख गरेका छन् । छोरा शाकेतबाबु कार्कीको नाममा एक लाख १२ हजार र शाब्दिकबाबु कार्कीको नाममा तीन लाख ४७ हजार रुपैयाँ छ । कार्कीको २५ तोला सुन र ८० तोला चाँदी रहेको कार्कीको परिवारका सदस्यको ३६ वटा कम्पनीको सेयर छ । सेयरको श्रोत जागिर भएको उल्लेख गरेका कार्कीले कृषि विकास बैंकबाट २५ लाख रुपैयाँ ऋण लिएका सम्पति विवरण पेश गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *