आठ हत्या आरोपित खानलाई अधिकांश मुद्दामा सफाइ

काठमाडौँ । जिल्ला अदालत कपिलवस्तुले आठ हत्या आरोपित नसिम खानलाई सफाइ दिएको छ । न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले अभियोग नपुगेको भन्दै खानलाई सफाइ दिएको हो । खानमाथि आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र दुईवटा डाका मुद्दा दायर भएको थियो । त्यसमध्ये दुई बालबालिकाकाे हत्या सम्बन्धि सुनुवाई भने बाँकी रहेको अदालत श्रोतले जनाएको छ ।

यो पनि : आठ हत्या आरोपित नसिम खानको सुनुवाइ जारी, चलखेल भइरहेको आरोप

नसिमसहित घटनामा संलग्न उनका सहयोगीलाई रिहा गर्न राजनीतिक र आर्थिक चलखेल भइरहेको पीडितका परिवारको आरोप लगाउँदै आएका थिए । यही योजनाअनुसार, सेलाएको मुद्दा एकाएक पेसीमा चढेको उनीहरूको आरोप थियो । पीडितको आशंकाअनुसार नै आदेश आएको छ । आदेशमा अभियोग नपुगेको भनिएपनि आदेशको पूर्ण पाठ भने आइसकेको छैन ।

को हुन् नसिम,  के-के अभियोग थिए ?
चारजना माओवादी कार्यकर्ता, दुईजना बालबालिका र एकजना कर्मचारीको हत्या आरोपित खानलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्ष अघि काठमाडौँबाट पक्राउ गरेको हो । माओवादी सशस्त्र संर्घषका क्रममा तत्कालीन शाही सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका नाइके नसिमले त्यसबेला थुप्रै माओवादीको हत्या गरेको आरोप लागेको थियाे  ।

आरोपबाट बच्न उनी २०६३ साल जेठमा जनतान्त्रिक तराई मुक्ति मोर्चा भन्ने भूमिगत समूहमा आबद्ध भए । त्यस लगत्तै उनले हत्या, अपहरण, लुटपाट लगायतका घटनामा संलग्न भएको अदालतमा पेश गरिएका प्रहरी प्रतिवेदनहरूमा उल्लेख गरिएको छ । विभिन्न अनुसन्धानबाट ती कुरा पुष्टि भएको प्रहरीले दाबी गरेको छ । २०७२ सालमा एमालेको सदस्यता लिएका खानलाई खुसी बनाउन एमालेले उनकी श्रीमती फौजिया खानलाई २०७४ सालमा समानुपातिक सूचिबाट प्रदेश सांसद बनाएको थियो । कपिलवस्तुको सीमा पारीको भारतीय भूमि प्रयोग गरी नेपालमा आपराधिक गतिविधि गर्दै उनले चन्दा आतंक, हतियार बेचबिखन, अपहरण तथा कनट्र्याक्ट हत्या गर्नेसम्मका काम गर्ने गरेको प्रहरीले बताएको छ ।

नसिमले २०६३ साल फागुनमा माओवादीका जिल्ला सदस्य प्रेम परियार (भुवन) को गोली हानी हत्या गरेको, उनकै समूहले २०६३ फागुन १ गते इलैचा बरईको फुलिकास्थित घरमा आक्रमण गरी उनकी ४ वर्षीया छोरीको हत्या र लुटपाट गरेको जाहेरी अदालतमा छ । उनले समूहले २०६४ मंसिर २५ गते तत्कालीन जिल्ला विकास समितिका स्थानीय विकास कोष प्रमुख निरञ्जन पौडेलको अपहरण गरी करिब ४ लाख रुपैयाँ फिरौती लिएर ८ दिन पछि छाडेको तथा चन्दा दिन नमानेको भन्दै तत्कालीन गाविस सचिव राममिलन गुप्तालाई नसिम र उनका सहयोगी श्रवण मुराउले २०६५ साल भदौमा पिपरा गाविसमै गोली हानी हत्या गरेको मुद्दा पनि चलिरहेको छ । नसिमको समूहले २०६६ सालमा तिर्तिखी गाविसमा माओवादी कार्यकर्ता नसिबुल्लाह मुसलमानलाई हानेको गोली स्थानीय सर्वसाधारण अकाली कोहारलाई लागेर उनको मृत्यु भएको थियो ।

२०६७ वैशाख १३ गते फुलिकाका माओवादी युवा नेता राजेन्द्र तिवारीलाई पिपरा गाविसमै गोली हानी हत्या गरिएको र यसमा पनि खानकै मुख्य हात रहेको मुद्दा छ । तिवारीको हत्या प्रकरण पछि खानलाई पक्राउ गर्न प्रहरीलाई ठूलो दबाब आएको थियो । जेलबाट भागेका श्रवण मुराउ र खानको खोजी तीव्र पारेपछि प्रहरीले भारतीय प्रहरीको सहयोगमा मुराउलाई पक्राउ गरिएपनि खान भने बच्न सफल भए ।

नसिमको समूहले नै पुनः पुरुषोत्तमपुर ५ मा रहेको शिवम क्रशरका मजदुर ज्ञानबहादुर सुनारलाई २०६७ अषाढ २३ गते गोली हानी हत्या गरे । सुनारको हत्या आफैले गरेको नसिमले विज्ञप्ति नै निकालेर बताएका थिए । २०७५ फागुन ४ गते उनले मायादेवी गाउँपालिका ४ का वडा अध्यक्ष फत्ते मोहम्मदका ४ वर्षीय छोरा अयमानको अपहरण गरी ८ गते हत्या गरेको अभियोगमा पनि मुद्दा चलिरहेको छ । कपिलवस्तु जिल्ला अदालतले २०६७ भदौमा हत्याका ६ वटा र एउटा डाका मुद्दामा उनको अंश रोक्का गरी मुद्दा मुल्तबीमा राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *