सुनिल स्मृति साहित्य महोत्सव शुरू

रोल्पा । ‘समाजका लागि शब्द’ भन्ने मूल नाराका साथ रोल्पाको सुली चौरमा शनिबारदेखि सुनिल स्मृति साहित्य महोत्सव शुरू भएको छ । महोत्सवको पहिलो दिन पूर्वनिर्धारित सेसनहरू कविले बिराएको बाटो, सुनिलको सपना र सिनेमामा छुटेको भूगोल सम्पन्न भएका छन् ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि पूर्वसभामुख तथा सांसद कृष्णबहादुर महराले रोल्पामा साहित्यिक महोत्सव हुनु गर्वको कुरा रहेको बताए । स्थानीय प्रतिभाहरूलाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनले साहित्य समाजको चेतनालाई परिवर्तन गर्ने माध्यम भएकाले यस प्रकारको कार्यक्रम हुनु गौरवको कुरा भएको बताएका हुन् ।

आफू २३ वर्षको हुँदा रोल्पाबाट साहित्यिक पत्रिका ‘हटारु’ प्रकाशित गरेको स्मरण गर्दै उनले नुन बोक्ने हटारुको नामबाट २०३८ सालमा सो पत्रिका प्रकाशित गरेको उल्लेख गरे । त्यस्तै, ‘जनतालाई’ शीर्षकको आफ्नो कविता वाचन गर्दै सो कविता प्रकाशमा आएपश्चात् तत्कालीन सिडिओले र्‍याखर्‍याख्ती पारेको बताए ।

यस्तै, जनयुद्धमा के–के निर्माण र ध्वस्त भयो भन्ने कुरा साहित्यकारबाट चित्रत होस् भन्ने आफूले चाहेको बताए । ‘रोल्पामा सबैभन्दा धेरै व्यक्तिहरूले सहादत प्राप्त गर्नुभएको छ । हामीले जनयुद्ध गर्‍यौँ । ध्वंस गर्न र निर्माण गरेर देखाउने जिल्ला पनि रोल्पा नै हो ।

‘हामीले युद्धमा के–के ध्वंस गर्‍यौँ, त्यसपछि के–के निर्माण गर्‍यौँ, त्यसको उत्खनन गर्ने काम साहित्यकर्मीहरूको हो’, महराले भने, ‘युद्धपश्चात यहाँको मनोसामाजिक अवस्था कस्तो छ, त्यसको यथार्थ चित्रण यहाँ आइपुग्नु भएका साहित्यकर्मीहरूले गर्नुहोस् भन्ने मेरो आग्रह छ ।’

त्यस्तै उनले भने, ‘रोल्पा लुकेको जिल्ला हो । यहाँ जति पस्यो, उति रमाइलो छ । रोल्पाको उत्खनन पनि साहित्यकर्मीहरूबाट होओस् भन्ने मेरो चाह छ ।’ सुनिल स्मृति गाउँपालिकाको आयोजनामा भइरहेको साहित्य महोत्सव आइतबारसम्म चल्नेछ । यसअघि समावेशी नभएको भन्दै सामाजिक सञ्जालमा कार्यक्रमको तीव्र आलोचना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *