ए डिभिजन लिग : संकटा र सातदोबाटोकाे बराबरी

काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा संकटाले पाँचौ बराबरी खेलेको छ । जारी सिजन अपराजित रहेपनि संकटाले उपाधि होडमा फर्कने अवसर भने सदुपयोग गर्न सकेको छैन । शुक्रबार दशरथ रंगशालामा भएको खेलमा संकटा सातदोबाटो युथ क्लबसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

पहिलो हाफमा संकटा र सातदोबाटोले खेलेको १–१ गोलको बराबरीनै दोस्रो हाफमा पनि कायम रहँदा दुबैले १–१ अंक बाँडे । सुरुवाती अग्रता बनाएको सातदोबाटोले पहिलो हाफमा नै अग्रता गुमाएको थियो ।

सातदोबाटोले संकटाका गोलरक्षक राजाबाबु थापाले गरेको गम्भीर गल्तीको फाइदा उठायो । २६औं मिनेटमा डिफेन्डर निरज बस्नेतको ब्याक पासलाई सहज क्लियर गर्न नसक्दा गोल खान पुगेको थियो । राजाबाबुले मुस्किलले क्लियर गर्न खोजेको बल सुशिल राईको चेस्टमा लाग्दै गोल हुन पुग्दा सातदोबाटोले खेलमा अग्रता बनायो ।

३०औं मिनेटमा सुदिप गुरुङको प्रहार बारमा लागेर फर्किदा सातदोबाटोले अग्रता दोब्बर बनाउने अवसर खेर फाल्यो ।

त्यसअघि खेलमा दबाब भने संकटाले बनाएको थियो । तर उसले गोलका लागि भने ३२औं मिनेटसम्म कुर्नुपर्‍याे । दिपेश आलेमगरले दिएको पासलाई जय गुरुङले आकर्षक गोल गर्दै खेल बराबरीमा ल्याए । संकटा खेलमा फर्किने क्रममा जय गुरूङले दोस्रो बार च्यापेर गरेको लङ प्रहार सिधै गोलमा परिणत हुँदा संकटाले पहिलो हाफमानै खेल १–१ को बराबरीमा ल्यायो ।

दोस्रो हाफमा पनि दुवै टीमले केही अवसर सिर्जना गरेपनि खतरनाक अवसर भने सिर्जना गर्न सकेनन् ।

बराबरीसँगै संकटाले जारी सिजनका ८ खेलमा पाँचौ बराबरी खेलेको हो । बराबरीपछि संकटा अपराजित रहँदै १४ अंकका साथ तेस्रो स्थानमा कायम रहेको छ । सातदोबाटोले पनि संकटासँग एक अंक खोस्दै ९ अंक बनाएर आठौं स्थानमा कायम रह्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *