मिरगञ्ज पुल भासिएपछि मालवाहक सवारीमा रोक

काठमाडौँ । जोगवनीको मिरगञ्ज पुल भासिएपछि भारतीय अधिकारीहरूले मालवाहक सवारी साधन आउजाउमा रोक लगाएको छ । करिब डेढफिट पुल भासिएको भन्दै स्थानीयले भारतीय सुरक्षा अधिकारीहरूलाई जानकारी गराएपछि गएको टोलीले पुल भासिएको निष्कर्ष निकाल्दै मालवाहक सवारी साधन आउजाउमा रोक लगाएको हो ।
फारबिसगञ्जको एसडिओ सुरेन्द्रकुमार अल्बेलासहितको टोलीले गरेको अनुगमन पछि मालवाहक सवारी साधन आउजाउमा रोक लगाएको छ । लोड क्षमताभन्दा बढी भार बोक्ने सवारी साधन आवतजावतका कारण परमान खोलाको मिरगञ्ज पुलमा क्षति पुगेको अल्बेलाले बताए । ‘तत्कालका लागि ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ,’ उनले भने, ‘पुलको अवस्था हेर्दा एक डेढ फिटसम्म भासिएको देखिएपछि मर्मत नहुँदासम्म मालवाहक सवारी साधन सञ्चालन गर्न रोक लगाएको हो ।’
प्रशासनिक कर्मचारी बिहीबार नेपाल भारत जोड्ने परमान खोलामा मिरगञ्जमा रहेको जीर्ण पुलको हालको अवस्थाको अवलोकन गरेको थियो । निरीक्षणपछि पुलको उत्तरी भागमा ब्यारिकेड लगाएर साना सवारीसाधनलाई मात्र आवतजावत गर्न दिइएको स्थानीय पत्रकार राजेशकुमार बर्माले मकालुखबरलाई जानकारी दिए । पुलको हालको अवस्थाबारे प्राविधिक टोलीले अध्ययन गरिरहेको र पुलको अवस्थाबारे अध्ययन भइरहेको छ ।
प्राविधिक टोलीको प्रतिवेदनका आधारमा छिट्टै थप प्रक्रिया अघि बढ्ने जनाइएको छ। पुलमा थप क्षति नहोस् भनेर ठूला सवारी साधनलाई रोक लगाइएको छ, साना सवारी साधनलाई मात्र आवतजावत गर्न दिइएको छ । यसअघि पनि सो पुल मर्मतको नाममा नेपाल तर्फ आउने मालवाहक सवारी साधन सञ्चालनमा रोक लगाउँदा नेपाली व्यवसायीले सास्ती पाउँदै आएका थिए । नेपाली व्यवसायीका अनुसार पहिलाको जस्तो समस्या फेरी दोहोरिएको बताएका छन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ लगायतका व्यवसायी संघ संस्थाले यसअघिदेखि नै मिरगञ्जको पुल मर्मत गर्नुपर्ने वा विकल्पको नयाँ पुल निर्माण गर्न दबाब दिँदै आएको भएपनि नेपाल सरकारको तर्फबाट कुनै पहल भएको थिएन । विराटनगर प्रवेश गर्ने एक मात्र पुल मिरगञ्जको पुल भएको कारण त्यो पुलबाट मालवाहक सवारी आउन नदिँदाको अवस्थामा भिमपुर हुँदै सुनसरीको भान्टाबारीस्थित छोटी भन्सारबाट मालवाहक सवारी नेपाल प्रवेश गर्नु पर्ने बाध्यता आउने नेपाली व्यापारीको भनाई छ ।










