नागरिकका गुनासा बढेपछि अस्पतालमा मन्त्रीको छड्के

विराटनगर । अस्पतालको सेवाबारे नागरिकका गुनासा बढ्न थालेपछि मन्त्रीले आकस्मिक अनुगमन थालेका छन् । अस्पतालको सेवा सुविधा लगायतको बारेमा नागरिकका गुनासा आउन थालेपछि प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले अस्पतालहरूको आकस्मिक अनुगमन गर्ने र समस्या समाधान गर्न पहल थालेका हुन् ।

केही दिनअघि इनरुवामा भएको एक कार्यक्रममा एक महिना भित्र जिल्ला अस्पतालको स्तरोन्नति गर्ने बचन दिएका मन्त्री यादव आकस्मिक अनुगमनमा जिल्ला अस्पताल पुगेका थिए । इनरुवा अस्पतालमा आएका बिरामीलाई अन्यत्र रेफर गर्ने गुनासो बढेपछि मन्त्री यादव बिहानै अस्पताल पुगेका थिए । मन्त्री यादवले अस्पतालको फार्मेसी कक्ष, बिरामीको अवस्था, सरसफाइ, एक्स-रे कक्ष लगायतका कोठाहरूमा पुगेर अनुगमन गरेको मन्त्रीका स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।

मन्त्री यादवसँगै सुनसरीको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवपनि त्यहाँ पुगेका थिए । अनुगमनका क्रममा विशेषज्ञ चिकित्सकको अभाव, सर सपाइमा कमी, औषधीको अभाव लगायतका समस्याहरू देखा परेको मन्त्री यादवले बताए । इनरुवा अस्पताललाई सुधार गर्ने आफ्नो प्रमुख जिम्मेवारी भएको बताउँदै त्यसको सुधारका अभियान शुरु भइसकेको उनको भनाई छ ।

इनरुवा अस्पतालबाट बिरामी अन्यत्र लैजाने समस्याको समाधान गरिने मन्त्री यादवले बताए । ‘अस्पतालमा धेरै सुधारको आवश्यकता छ,’ मन्त्री यादवले भने, त्यसको सुधारका लागि केही नयाँ योजनाहरू ल्याउन जरुरी छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =