मेची–महाकाली रेलमार्गमा नपर्ने जग्गा तत्काल फुकुवा गरिने

विराटनगर । मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्ड अन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सक्ने निर्णय भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको बिहीबार  जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले यस्ताे निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट हालसम्म भएको पहल र प्रगतिबारे जानकारी गराएका थिए ।

रेल्वेका लागि नक्सांकन भएका झापाका ६ वटै पालिकाको वडास्तरसम्म पुगेर रेल्वे प्रभावित क्षेत्रको लगत संकलनकाे काम सकिएकाे र यसबारेमा केही प्रमाणिकरण गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गर्ने निर्णय भएको छ ।

त्यस्तै रेल्वे अन्तर्गत मोरङ र सुनसरीमा डिमार्केशनको काम भइरहेकोमा अब एक महिनाभित्र झापामा डिमार्केशन गरी पिलर गाड्ने कार्य सम्पन्न गर्ने निर्णय भएको छ । अब एक सातामा डिमार्केशन गरी पिलर गाड्ने काम सुरु गरिने रेल योजना कार्यालयले जनाएको छ । डिमार्केशन सकिएलगत्तै रेल्वेमा नपर्ने जग्गाको रोक्का फुकुवा गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी रेल्वे क्षेत्रमा पर्ने जग्गाको मुआब्जा निर्धारण तत्काल गर्न सक्ने गरी तयारी हालतमा रहने निर्णय भएको छ । झापाको हकमा प्रचलित दररेट अनुसार मुआब्जा निर्धारणको काम लगभग सकिएको बुझिएको छ । तर, मुआब्जा निर्धारण गर्न स्रोत सुनिश्चितता गर्नुपर्न भएकाले उक्त कार्यको लागि रेल आयोजना कार्यालय, राजनीतिक दल लगायत सरोकारावाला निकायहरुले सक्रिय रुपमा पहल गर्ने निर्णय भएको छ । स्रोत सुनिश्चित गर्न दलहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

हाल रेल योजना कार्यालय अन्तर्गत प्रदेश १ मा मुआब्जा वितरणका लागि एक अर्ब ६६ करोड रुपैयाँ मात्र रहेको छ । तर, मुआब्जाका लागि करिब २५ अर्ब आवश्यक पर्ने बताइएकाे छ । आवश्यक स्रोत सुनिश्चिताका लागि प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री कहाँ माघ दोस्रो साताभित्र डेलिगेसन जाने कार्यक्रम छ । डेलिगेसनकाे समन्वय रेल योजना कार्यालय झापाले गर्ने भएकाे छ । डेलिगेसनमा मोरङ र सुनसरीका राजनीतिक दलका प्रतिनिधि र सराेकारवाला निकायका प्रतिनिधि जाने भएका छन् ।

बैठकमा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका प्रतिनिधि यमबहादुर श्रेष्ठ, नेकपा माओेवादी केन्द्रका जिल्ला अध्यक्ष विजय साम्पाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेन वालाराई, केन्द्रीय सदस्य देउकुमार नेम्वाङ, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका जिल्ला सहसचिव अभिषेक ढुंगानालगायतकाे उपस्थिति थियाे । स्थानीय प्रशासनका प्रमुख, जिल्लाका प्रमुख, रेलकार्यालयका कर्मचारी लगायतकाे समेत बैठकमा उपस्थिति थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *