पूर्वउपकुलपतिहरू भन्छन्- त्रिविको शैक्षिक गुणस्तर खस्कियो

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपतिहरूले त्रिविको शैक्षिक गुणस्तर खस्किएको बताएका छन् । यसो हुनुमा विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक जिम्मेवार रहेको उनीहरूको आरोप थियो ।

त्रिवि एलुम्नाई एशोसिएसनको बुधबार कीर्तिपुरमा आयोजित तेस्रो वार्षिक साधारण सभाका क्रममा पूर्वउपकुलपतिहरू महेशनाथ उपाध्याय, केदारभक्त माथेमा र डा तीर्थराज खनियाँले विश्वविद्यालयको हितका लागि पदाधिकारीले अडान लिन नसकेका कारण शैक्षिक गुणस्तर खस्केको दाबी गरेका थिए ।

उनीहरुले अहिले पनि शैक्षिक उन्नयनको बाटोमा लैजानका लागि विश्वविद्यालयका पदाधिकारीलाई खबरदारी गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने काम एलुम्नाई एशोसिएसनले गर्नुपर्ने बताए ।

एशोसिएसनका अध्यक्ष सुनीति हाडा, प्राध्यापक डा सुदर्शनराज तिवारी, प्रा डा रामप्रसाद खतिवडा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठलगायतले विश्वविद्यालयमा अनुसन्धानको कार्य कम भएको र बजारका लागि आवश्यक जनशक्ति उत्पादन हुन नसकेको बताए । त्रिविका पूर्वविद्यार्थीको सङ्गठनका रुपमा एशोसिएसन २०७४ सालमा स्थापना भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *