भानु जयन्तीमा राष्ट्रपतिको सन्देश : मातृभाषा संरक्षण गर्नु सबैको दायित्व हो

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सबै भाषाभाषी समुदायलाई आ–आफ्नो मातृभाषाको संरक्षण र संवर्द्धनमा समर्पित हुन आह्वान गरेका छन्।
सोमबार जारी शुभकामना सन्देशमा राष्ट्रपतिले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा आदिकवि भानुभक्तको योगदान अतुलनीय रहेको उल्लेख गरेका छन्। संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल नेपाली भाषामा अनुवाद गरी नेपाली साहित्यको जग बसाल्न भानुभक्तले महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपतिको भनाइ छ।
सन्देशमा हिमाल, पहाड र तराईका नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न भानुभक्तीय रामायणले महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै धर्म, कर्तव्य, निष्ठा र सेवाभावजस्ता मानवीय मूल्यलाई स्थापित गर्न पनि यस कृतिले सहयोग गरेको जनाइएको छ।
राष्ट्रपतिले भानुभक्तले नेपाली भाषालाई जनताको भाषा बनाउँदै साहित्यलाई सर्वसुलभ बनाएको उल्लेख गर्दै भाषा, साहित्य र संस्कृतिको संवर्द्धनमा उनको योगदान सधैँ स्मरणीय रहने बताएका छन्। साथै, भानुभक्तको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा थप विकास गर्न सके त्यो उनको सम्मान हुने धारणा पनि व्यक्त गरेका छन्।








