शेखरलाई किनारा लगाउँदै देउवा

काठमाडाैँ । कांग्रेस सभापति शेरबहादुर देउवा महाधिवेशनमा ‘मौन’ बसेर सहयोग गरेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई सक्रिय बनाएर आफूसँग प्रतिस्पर्धामा उत्रिएका शेखर कोइरालालाई ‘साइज’ मा राख्ने रणनीतिमा अघि बढेका छन् ।

केन्द्रीय कार्यसमितिमा मनोनयन र राष्ट्रिय सभा उम्मेदवारी तय गर्दा उनको रणनीतिको चित्र देखिन थालेको छ । केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकले राष्ट्रिय सभा निर्वाचनमा पार्टीका तर्फबाट ६ जना उम्मेदवार टुंगो लगायो । प्रदेश १ मा गोपाल बस्नेत (झापा), वाग्मतीमा कृष्णप्रसाद पौडेल (काठमाडौं), गण्डकीमा कमला पन्त (गोरखा), लुम्बिनीमा युवराज शर्मा (बाँके), कर्णालीमा दुर्गाकुमारी गुरुङ (सुर्खेत) र सुदूरपश्चिममा नारायण मिश्र (कञ्चनपुर) लाई उम्मेदवार बनाउने निर्णय भएको छ । एक केन्द्रीय सदस्यका अनुसार देउवाले पन्त र मिश्रलाई पौडेलको प्रस्तावमा उम्मेदवार बनाएका हुन् ।

महाधिवेशनमा कोइराला प्यानलबाट सहमहामन्त्रीमा चुनाव लडेकी भए पनि पन्त पौडेलनिकट मानिन्छिन् । सुदूरपश्चिम प्रदेश सभापतिमा चुनाव लडेका मिश्र पनि पौडेलका विश्वासपात्र मानिन्छन् । ‘सरसर्ती हेर्दा सभापतिले अर्को पक्ष (शेखर कोइराला) लाई समेटेजस्तो देखिन्छ तर शेखरजीभन्दा पनि पौडेलको प्रस्तावमा उहाँहरूको उम्मेदवारी तय भएको हो,’ ती केन्द्रीय सदस्यले भने, ‘खासमा सभापतिले पौडेललाई सक्रिय बनाउने र शेखर समूहलाई साइजमा राख्ने रणनीति बनाउनुभएको छ ।’ उम्मेदवारी तय गर्दा देउवाले पदाधिकारी, पूर्वपदाधिकारी र प्रदेश सभापतिसँग परामर्श गरेको उनले बताए ।

१३ औं महाधिवेशनमा देउवासँग सभापतिमा भिडेपछि पौडेलको नेतृत्वमा संस्थापनइतर समूह निर्माण भएको थियो । १४ औं महाधिवेशनमा पौडेल र देउवा समूहकै नाममा वडादेखि प्रदेशसम्म प्रतिस्पर्धा भएको थियो । महाधिवेशनमा भने आफ्नै समूहमा साझा उम्मेदवार बन्न नसक्दा पौडेल विरक्तिएका थिए । आफ्नो समूहबाट उम्मेदवार बनेका कोइराला र प्रकाशमान सिंहको पक्षमा उनी खुलेनन् । पौडेल मौन बस्दाको लाभ देउवाले लिए । उनले विरक्तिएका पौडेललाई निर्वाचनअघि भेटेर ‘पार्टी र देशको राजनीतिमा तपाईंको सक्रिय भूमिका आवश्यक रहेको’ भन्दै फकाएका थिए ।

देउवाले शनिबार पहिलो चरणमा पौडेलसहित १० जना र आइतबार थप ३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरे । मनोनयनपछि सोमबार बसेको पहिलो बैठकमा देउवाले पौडेललाई दोस्रो वरीयतामा राख्दै पार्टीमा सम्मानजनक भूमिका दिन खोजेको सन्देश प्रवाह गरेका छन् । अन्य वरिष्ठ केन्द्रीय सदस्यको वरीयता भने पदाधिकारीपछि निर्धारण गरिएको छ । कमजोर सम्हूलाई साथमा लिँदै बलियो समूहलाई दबाबमा राख्ने देउवाको पुरानै रणनीति हो । १३ औं महाधिवेशनमा सभापति निर्वाचित भएपछि उनले कृष्णप्रसाद सिटौला समूहलाई साथमा लिएर पौडेल समूहलाई पेलेका थिए । महाधिवेशनको मुखमा तत्कालीन महामन्त्री शशांक कोइरालालाई समेत निकट बनाएर पौडेललाई आफ्नै समूहभित्र सानो घेरामा सीमित पारेका थिए ।

१४ औं महाधिवेशनपछि शेखर ४० प्रतिशत मतसहित पार्टीभित्र नयाँ शक्तिको रूपमा उदाएका छन् । १३ औं महाधिवेशनपछि निष्क्रिय भएको कांग्रेसभित्रको सशक्त र पुरानो ‘कोइराला समूह’ फेरि सक्रिय हुने अवस्था बनेको छ । शेखरनिकट युवा नेता गुरुराज घिमिरेले सभापति देउवाले साझा सभापति बन्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा त्यस्तो नदेखाएको बताए । ‘विशेषगरी केन्द्रीय सदस्य मनोनयनमा शेखर कोइराला समूहका नेतालाई बेवास्ता गरिएको छ, यसले पार्टी एकतामा अत्यन्तै गलत सन्देश गएको छ,’ उनले भने ।

घिमिरेले भनेझैं देउवाले कोइराला समूहलाई ‘साइज’ मा राख्ने काम केन्द्रीय सदस्य मनोनयनबाटै गरेका छन् । सभापति, उपसभापति र महामन्त्रीमा पराजित पूर्वकेन्द्रीय समितिका सबैलाई मनोनीत गर्दा कोइरालाको प्यानलबाट उपसभापति लडेका चन्द्र भण्डारी र महामन्त्री लडेका मीनेन्द्र रिजाल अझै मनोनीत भएका छैनन् । विगतमा देउवाको साथमा रहेका दुवै जना पूर्वकेन्द्रीय सदस्य हुन् । निर्वाचनको अन्तिम परिणाम आएपछि कोइराला समूहले पुस ९ मा आफूपक्षीयको बैठक गरी केन्द्रीय कार्यसमिति र अन्य निकायमा ‘न्यायोचित’ मनोनयन गर्नुपर्ने बताएको थियो । बैठकमा सहभागी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार महाधिवेशनमा ४० प्रतिशत मत पाएको कोइराला समूहलाई विश्वासमा लिएर अघि बढ्न सभापति देउवालाई सुझाव दिने निर्णय भएको थियो ।

प्रक्रिया मिचेर निर्णय
राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार तय गर्दा विधानको प्रक्रिया मिचिएको छ । कांग्रेस विधानमा केन्द्रीय संसदीय समितिलाई राष्ट्रिय सभा सदस्यको उम्मेदवारी तय गर्ने अधिकार दिइएको छ । विधानको धारा ३२ (९) मा प्रत्येक प्रदेश कार्यसमितिले मातहतका जिल्लाबाट सम्भावित नामको सूची माग गरी १ सिटका लागि ३ जनाको नाम केन्द्रमा पठाउने र केन्द्रले प्राप्त नाम आफूसँग विवरण राखी केन्द्रीय संसदीय समितिमा पठाउने उल्लेख छ ।

केन्द्रीय संसदीय समितिले प्राप्त नाममध्ये सहमति हुन सके सहमतिमा र सहमति हुन नसके बहुमतबाट निर्णय गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गराई पार्टीका तर्फबाट उम्मेदवारी घोषणा गर्ने वैधानिक व्यवस्था छ । नयाँ विधान लागू भएपछि भएको पहिलो निर्वाचनमा भने कांग्रेसले सिधै केन्द्रीय कार्यसमितिबाट उम्मेदवारी तय गरेको छ । कांग्रेसले गठबन्धनसँगको भागबन्डाअनुसार आफूले पाएका ६ वटा सिटमा विगतमा राष्ट्रिय सभा सदस्य हुनबाट वञ्चित भएका झापाका गोपालकुमार बस्नेत र काठमाडौंका कृष्णप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

दुवैलाई तत्कालीन शेरबहादुर देउवा सरकारले २०७४ मा राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्दा उनीहरू राष्ट्रिय सभा सदस्य हुनबाट वञ्चित भएका थिए । कर्णाली प्रदेशबाट उम्मेदवार बनाउने निर्णय भएकी दुर्गाकुमारी गुरुङ सशस्त्र द्वन्द्वमा तत्कालीन माओवादी विद्रोहीद्वारा हत्या गरिएका सुर्खेतका यज्ञबहादुर गुरुङकी पत्नी हुन् । २०४५ देखि २०४९ सम्म बाँके कांग्रेसको सभापति रहेका युवराज शर्मा अवसरबाट वञ्चित नेता हुन् । गोरखाकी पन्त भने पूर्वमन्त्री हुन् । सुदूरपश्चिम प्रदेश सभापतिमा निर्वाचन लडेका मिश्र कञ्चनपुरका पूर्वजिविस सभापति हुन् ।

वरीयता झन् तल
केन्द्रीय सदस्यमा मनोनीत वरिष्ठ नेताहरूका कारण सभापतिका निकटतम् प्रतिद्वन्द्वी शेखर कोइरालाको वरीयता अझ तल धकेलिएको छ । पहिलो बैठकमा २० औं नम्बरमा रहेका उनी पछिल्लो वरीयतामा २७ औं स्थानमा पुगेका छन् ।

सभापति देउवापछि दोस्रो वरीयतामा रामचन्द्र पौडेललाई राखिएको छ । तेस्रो र चौथोमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा पाँचौं र छैटौंमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई राखिएको छ । सातौंदेखि चौधौंसम्म ८ जना सहमहामन्त्रीलाई राखिएको छ । सदस्यहरूमा सबैभन्दा माथि १५ औं वरीयतामा गोपालमान श्रेष्ठ छन् । त्यसपछि क्रमशः प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला र शशांक कोइरालालाई राखिएको छ । सोमबारको बैठकमा शेखरको वरीयता २७ औं नम्बरमा छ ।

अहिलेकै वरीयताले निरन्तरता पाएमा कोषाध्यक्ष सातौं नम्बरमा हुनेछन् भने अन्यको वरीयता एक स्थान तल झर्नेछ । तर सोमबारको बैठकमा नेताहरूले वरीयताबारे असन्तुष्टि जनाएपछि देउवाले कार्यसमितिले पूर्णता पाएपछि वरीयता निर्धारण गर्नका लागि समिति गठन गर्ने बताएका छन् । –कान्तिपुर दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *