पुल नबन्दा हुलाकी राजमार्ग सञ्चालनमा अवरोध

झापा । पूर्व पश्चिम राजमार्गको विकल्पको रुपमा निर्माण सुरु भएको हुलाकी राजमार्गको झापा खण्ड निर्माणको अन्तिम चरणमा पुगे पनि पुल नबन्दा तत्काल सञ्चालनमा अवरोध देखिएको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ आठ ठूला नदीमा पुल निर्माणाधीन छन् ।

तीमध्ये कनकाई, रतुवा, विरिङ र कमल खोलाका पुल सम्पन्न हुन समय लाग्ने र सानोमाई, लेहरा, कृष्णे र भुतेनी खोलाका पुल निर्माण अन्तिम चरणमा पुगेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इन्जिनियर प्रमोद खतिवडाले जानकारी दिए।

उनका अनुसार विसं २०६८ मै हुलाकी सडक पर्ने कनकाई, रतुवा खोलाका पुल निर्माण सुरु गरिएको थियो तर, एक दशक बितिसक्दासमेत कार्य सम्पन्न नहुँदा राजमार्ग सञ्चालनमा अवरोध भएको हो । उनले मुलुकको राजनीतिक अस्थिरता र कोेरोना महामारीलगायतका कारणले पुल निर्माणमा ढिलाई भएको बताए ।

‘जति ढिलो हुनु भइसक्यो’, उनले भने, ‘आर्थिक वर्ष विसं २०७९/०८० को अन्त्यसम्ममा सडकभित्र रहेका सबै पुल निर्माण भइसक्ने गरी काम भइरहेको छ ।’ जिल्लामा साना ठूला खोलामा गरी करिब २५ मी लम्बाइदेखि ६२४ मी लामो पुल निर्माण भइरहेको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *