झापा गोल्डकप फागुनमा, विजेतालाई १२ लाख ५५ हजार

विराटनगर । झापा गोल्डकप फागुन २१ गतेदेखि हुने भएको छ । पाँचौँ संस्करण अन्तरगत दुई वर्षपछि झापा गोल्डकप हुन लागेको हो ।

अघिल्ला २ वर्ष कोभिड महामारीका कारण रोकिएको प्रतियोगिता फागुन २१ गतेदेखि ३० गतेसम्म बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा हुने आयोजकले जनाएको छ । गोल्डकप आयोजक समितिले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो ।

झापा गोल्डकप आयोजक समितिका संयोजक विनोद बस्नेतले काठमाडौँ बाहिर सबैभन्दा बढी फुटबलको गतिविधि हुने गरेको भएपनि कोभिडका कारण थला परेका खेलकुदका गतिविधिलाई जगाउने प्रयास गरिएको बताए । ‘प्रतियोगिता हरेक वर्ष हुँदै आएको थियो कोभिडले केही वर्ष रोकिदियो,’ उनले भने, २ वर्षपछि फेरि पुरानै लयमा फर्काउने तयारी गरेका छौँ ।’

झापा गोल्डकपको विजेता टिमले नगद १२ लाख ५५ हजार र उपविजेताले नगद ६ लाख पाँच हजार रुपैयाँ पाउने आयोजक समितिका कोषाध्यक्ष केदार गिरीले जानकारी दिए । उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल प्रदान गरिने आयोजकको दाबी छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ ।

प्रत्येक खेलको म्यान अफ द म्याचले नगद ९ हजार ९९९ रुपैयाँ पाउनेछन् । प्रतियोगितामा झापा ११ फुटबल क्लबसहित नेपालका ९ र विदेशी एक गरी १० वटा टिमको सहभागिता रहने समितिका संयोजक बस्नेतले बताए । प्रतियोगिता सञ्चालनको लागि एक करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *