सिलवालको कविता सङ्ग्रह ‘चिबेचरा’ बजारमा

काठमाडौँ । कवि केशव सिलवालको तेस्रो कविता कृति ‘चिबेचरा’ सार्वजनिक भएको छ । शनिबार आयोजित कार्यक्रममा कवि विमल निभा, जनगायक माइला लामा, स्रष्टाहरू धनकुमारी सुनार र उज्ज्वल प्रसाईँले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

समाजमा हुँदै आएका सबै प्रकारका उत्पीडन, दलन, विभेद, शोषणविरुद्ध उनका कवितामा कडा विद्रोह पोखिएका छन् । कार्यक्रममा कृतिमाथि बोल्दै लेखक उज्ज्वल प्रसाईँले कविता लेखनमा अब पुराना मानक भत्किँदै नयाँ मानक बनाउन यो कृतिले सामर्थ्य राखेको बताए ।

कृतिबारे बोल्दै कवि विमल निभाले भने, ‘सरल कविता लेख्न गाह्रो हुन्छ, केशवले जनताले बुझ्ने सरल भाषामा कविता लेखेका छन् ।’ यसअघि सिलवालको ‘वर्जित अवशेष, ‘धारिला मानिसहरू’ काव्य कृति प्रकाशित छन् । कृति साङ्गृला बूक्सले प्रकाशन गरेको हो ।

कार्यक्रममा मुक्तान थेवे, छम गुरुङ, संगीता उराव, केवल बिनाबीले कृतिभित्रका कविता वाचन गरेका थिए । त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र विभागका उपप्राध्यापक ललितपुर निवासी सिलवाल अखिल नेपाल लेखक सङ्घ, प्रगतिशील लेखक संघ, नागार्जुन साहित्यिक प्रतिष्ठानलगायत संस्थामा पनि आबद्ध छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *