छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन कञ्चनपुरमा हुने   

कञ्चनपुर । छैटौँ थारु राष्ट्रिय साहित्य सम्मेलन कृष्णपुर नगरपालिका–६ सिंहपुरमा आयोजना गरिने भएको छ । आगामी फागुनको १२, १३ र १४ गते साहित्य सम्मेलन आयोजना हुन लागेको हो । सम्मेलन आयोजना गर्न संयोजकको जिम्मेवारी समाजसेवी जोगराज चौधरीलाई दिइएको छ ।

उनको संयोजकत्वमा जिल्लाका नौ वटै स्थानीय तह समेटिने गरी १३ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिमा सुनिता चौधरी, दुर्गा चौधरी, सुमन चौधरी, लक्ष्मी चौधरी, खुसीराम चौधरी, हवल्दार चौधरी, जीत बहादुर चौधरी र मेवाराम चौधरी सदस्यका रूपमा रहेका छन् ।

सम्मेलन सम्पन्न गर्नका लागि थारु कल्याणकारी सभा कञ्चनपुर, स्थानीय आयोजक तथा थारु लेखक सङ्घको आन्तरिक सहमतिमा संयोजन गर्ने आधार तय गरिएको सङ्घका केन्द्रीय सदस्य मोहनप्रसाद चौधरीले बताए ।

जिल्लाका साहित्यिक मुद्दा उठानका लागि वीरबहादुर राजवंशीको संयोजकत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ । थारु साहित्य सम्मेलनमा थारु समुदायका साहित्यिक कृति र ओझेलमा रहेका संस्कृतिका बारेमा गहन छलफल तथा विश्लेषणको कार्य हुने छ ।

सम्मेलनका लागि रु १० लाख बढी खर्च लाग्ने बताइएको छ । ‘थारु समुदायका लेखकले अरूको दर्शन र शास्त्रबाट प्रभावित भएर लेख रचना लेख्दै आएका छन्’, थारु बुद्धिजीवी बलबहादुर डगौराले भने, ‘सम्मेलनमा थारु शास्त्रको खोजी गरी त्यसकै आधारमा लेखन केन्द्रित गर्नका लागिसमेत गहन छलफल हुने छ ।’

साहित्य ज्ञानको विषय, मनोविज्ञान र राजनीतिका सन्दर्भका रूपमा रहेको चर्चा गर्दै उनले लेखन दृष्टिकोणले दिशा निर्धारण गर्नुपर्ने बताए । सम्मेलनमा देशभरिका थारु साहित्यकार, बुद्धिजीवी, लेखकको जमघट हुने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *