ओमिक्रोन र डेल्टा भेरिअन्टले संक्रमितको सुनामी ल्याउने डब्ल्यूएचओको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कोभिडको ओमिक्रोन र डेल्टा भेरिअन्टले संक्रमितको सुनामी ल्याउने चेतावनी दिएको छ । यी भेरिअन्टको मिश्रणले कोभिड संक्रमितको सुनामी ल्याउने चेतावनी दिएको हो ।

पछिल्ला कोभिड घटनाहरूको एउटा डरलाग्दो सुनामी ल्याउन लागिरहेको महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले बताए । युरोप र अमेरिकामा कीर्तिमानी संख्यामा कोभिडका नयाँ संक्रमितहरू देखा परिरहँदा महानिर्देशकको त्यस्तो भनाइ आएको हो । अध्ययनहरूले कैयौँ देशमा निकै छिटो मुख्य भेरिअन्ट बनेको ओमिक्रोन डेल्टाभन्दा मध्यम रहेको तर निकै धेरै सङ्क्रामक रहेको सुझाएका छन् ।

फ्रान्सका स्वास्थ्यमन्त्रीले ओमिक्रोनका हकमा अब लहर मात्र भनेर नपुग्ने बरु आँधीजस्तो लहर भन्नुपर्ने बताएका छन् । डब्ल्यूएचओका महानिर्देशकले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको चाप बढाएको भन्दै चेतावनी दिएका छन् । ‘थकित स्वास्थ्यकर्मीमा यसले निकै उच्च चाप थप्नेछ र थपिसकेको पनि छ । र स्वास्थ्य प्रणालीहरू काम गर्न नसक्ने अवस्था नजिक पुगेका छन्,’ उनले भने ।

कैयौँ देशले कोभिडको तेस्रो मात्रा खोप दिनेगरी बूस्टर अभियान सुरु गरेका छन् । तर डब्ल्यूएचओ प्रमुखले ठूलो स्तरका बूस्टर अभियानले गरिब देशमा हुनुपर्ने आपूर्ति मोडिरहेको र त्यसले महामारी लम्ब्याउने देखिएको बताएका छन् । गरिब देशहरू खोपबाट पर रहँदा त्यहाँ सङ्क्रमण फैलने र भाइरस उत्परिवर्तन हुने थप अवसरहरू सिर्जना हुने उनको भनाइ छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *