सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात, यातायात अवरुद्ध 

धनगढी । सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात भएको छ । पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम, डडेल्धुरा, बैतडी र दार्चुलामा भारी हिमपात भएको छ । डडेल्धुराको हगुल्टे, साउखर्क, तेल्यालेक लगायतका ठाँउहरुमा हिमपात भएको छ । यस्तै, बाजुराको हिमाली गाउँपालिका, बुढीनन्दा, स्वामीकार्तिक गाउँपालिका, बडीमालिका नगरपालिकाका विभिन्न स्थानमा हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दार्चुलाको उच्च हिमाली क्षेत्र तिङ्कर, छांगरु, दुम्लिङ र खण्डेश्वरीमा पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले जानकारी दिए । यस्तै बझाङको बुङ्गल नगरपालिका, छबीसपाथीभेरा, तल्कोट, साइपाल, मष्टा खप्तडछान्ना, थलारा, बित्थडचिर र दुर्गाथली गाउँपालिकामा बाक्लो हिमपात भएको छ । यहाँ हिमपातका कारण  टेलिफोन सेवा आंशिक रूपमा प्रभावित भएको छ ।

बैतडीको खोड्पे, डडेल्धुराको अनार खोलीलगायतका ठाउँमा हिमपात भएको छ । हिमपातले यहाँबाट चल्ने यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । अछामको चौखुट्टे तथा कमल बजारलगायतका क्षेत्रमा पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हिमपातका कारण पहाडी जिल्लाबाट प्रदेश राजधानीसँगै अन्य ठाउँसँगको यातायात सम्पर्क टुटेको छ । धनगढी र महेन्द्रनगरबाट पहाडी जिल्लाका लागि छुटेका रात्रिकालीन बसहरू बाटोमै रोकिएका छन् । गत वर्ष मंसिरतिर हिमपात भएको भए पनि यस वर्ष ढिला गरी हिमपात भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *