कान्तिपुर सिटी कलेजमा पत्रकारिता पढ्नेलाई छात्रवृत्ति दिइने

काठमाडौँ । आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर अध्ययन गर्दा कान्तिपुर सिटी कलेजमा छात्रवृत्ति पाइने भएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिसँगको सहकार्यमा कलेजले छात्रवृत्ति दिने भएको हो ।

महासंघको प्रतिष्ठान प्रदेश समितिले गरेको अनुरोधलाई स्वीकार गर्दै कलेजले ५ जना विद्यार्थीलाई सहुलियत दिने निर्णय गरेको छ । यस विषयमा प्रतिष्ठान समिति र कलेजबीच सोमबार औपचारिक सम्झौता भएको छ । कलेजका पत्रकारिता विभाग प्रमुख राजीव तिमिल्सिना र महासंघका अध्यक्ष बालकृष्ण अधिकारीले सम्झौता पत्रमा हस्तारक्षर गर्दै आदान प्रदान गरे ।

यो सम्झौता तीन वर्षसम्म लागू हुनेछ । सम्झौताअनुसार पत्रकार महासंघको प्रतिष्ठान प्रदेश समितिको सिफारिसमा कलेजको सम्पूर्ण अध्ययन शुल्कको रकम र पूर्वाञ्चल विश्वविद्यालयमा लाग्ने सम्पूर्ण शुल्कको रकममा तीन जनाले ६५ प्रतिशत र दुई जनाले ५० प्रतिशत छुट पाउने महासंघका महासचिव रामकुमार शाहीले बताए ।

उनका अनुसार अब छिट्टै प्रदेश समितिको बैठकमार्फत कार्यविधि तय गरेर आमसञ्चार र पत्रकारितामा स्नातकोत्तर गर्न चाहने प्रतिष्ठान आवद्ध पत्रकाहरूबाट आवेदन माग गरिनेछ । आवेदन प्राप्त भएपछि आर्थिक अवस्था कमजोर भएका र जेहेन्दार पत्रकारलाई अध्ययनका लागि कलेजमा सिफारिस गरिने महासचिव शाहीले बताए ।

सम्झौता आदानप्रदान कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेशका अध्यक्ष अधिकारीले आफू कान्तिपुर सिटी कलेजको पूर्वविद्यार्थी भएको स्मरण गरे । उनले आफूले अध्ययन गरेको कलेजसँग सहकार्य गरेर पत्रकारिता पढ्न चाहनेहरूका लागि सहुलियतको व्यवस्था गर्न पाएको खुसी व्यक्त गरे ।

 

‘यसले पत्रकारिता पढ्ने चाहना भएका तर आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएका पत्रकारहरूका लागि ठूलो सहयोग पुग्ने भन्ने विश्वास छ’, अधिकारीले भने, ‘आगामी दिनमा पत्रकारितासँग सम्बन्धित अन्य कामका लागि पनि कलेजसँग समन्वय र सहकार्य हुनेछ भन्नेमा आशावादी छु ।’

कार्यक्रममा कलेजका निर्देशक मिना खत्रीले महासंघ प्रतिष्ठान प्रदेश समितिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । सम्झौता कार्यक्रममा महासंघ प्रतिष्ठान प्रदेश समितिका उपाध्यक्ष वीरेन्द्र ओली, कोषाध्यक्ष केशव बोहरा र सचिव नरेन्द्र मानन्धरसमेत उपस्थित थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *