कांग्रेस केन्द्रीय सदस्य बनेपछि उपमेयरमा नदोहोरिने घोषणा

धनगढी । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य एवम् धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले आगामी निर्वाचनमा धनगढी उपमहानगरपालिकाको उपप्रमुख पदमा नदोहोरिने बताएकी छन् ।

काठमाडौँबाट फर्किएपछि धनगढीस्थित आफ्नै निवासमा सोमबार भेटघाट कार्यक्रममा बोल्दै उनले आगामी स्थानीय तहको चुनावमा पुनः उपमेयर पदमा नदोहोरिने घोषणा गरेकी हुन् ।

‘पार्टीले आफूलाई सक्रिय ठानेर जुन जिम्मेवारी दिन्छ‚ त्यस ठाउँमा रहन्छु,’ उनले भनिन्, ‘धनगढी उपमहानगरपालिकाको उप–मेयर पदमा दोहोरिँदैन ।’ उनले अहिले नै यो र उ पदका लागि उठ्ने भनेर कुनै सोच नबनाएको बताइन् ।

पार्टीभित्र महिलाको सहभागिता र सशक्त भूमिका बनाउनका लागि आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ । ‘म प्रदेशको महिलाको तर्फबाट केन्द्रीय समितिमा निर्वाचित भएकाले मेरो महिलासँगको जिम्मेवारी पनि थपिएको छ,’ उनले भनिन् ।

पार्टीलाई सशक्त, लोकप्रिय र सबै जनताको पार्टी बनाउन आफू कटिबद्ध भएर लाग्ने उनको भनाइ छ । उपमेयर भट्ट नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सुदूरपश्चिमबाट महिला कोटामा केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *