सोलुखोला जलविद्युत्‌का दुई इन्जिनियरको मृत्यु, प्रोजेक्ट म्यानेजर गम्भीर

काठमाडौँ । सोलुखुम्बुमा निर्माणाधीन सोलुखोला दुधकोसी जलविद्युत् आयोजनामा परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर निर्माणाधीन ८६ मेगावाट क्षमताको आयोजनामा पानी परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको हो ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीकाअनुसार सुरुङमार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा पाइप विस्फोट हुँदा तीन जना गम्भीर घाइते भएका थिए । दुर्घटनामा परी आयोजनाको हाइड्रो मेकानिकलको जिम्मा लिएको माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवासराज रेग्मी र काभ्रेका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापाको मृत्यु भएको हो ।

उपचारका लागि हेलिकप्टरमार्फत ओखलढुङ्गा पुर्‍याइएका उनीहरूलाई मिसन अस्पतालले मृत घोषणा गरेको थियो । ‘इन्जिनियरको टिम दिनभरि नै परीक्षणको क्रममा रहेछ,’ प्रजिअ शाहीले मकालुखबरसँग भने, ‘पानीको प्रेसर नमिलिरहेको बेला पाइपको वेल्डिङ छुट्टिएपछि दुर्घटना भएको बुझिएको छ ।’

घटनामा हाइड्रो मेकानिकल कम्पनीका प्रोजेक्ट म्यानेजर विराटनगरका मोहम्मद राइन गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *