कक्षा १० मा पढ्ने चार विद्यार्थीले बनाए विद्युतीय कार

धनगढी । कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रममा अध्ययरत चार जना छात्रले विद्युतीय कार बनाएका छन् ।

विद्यार्थी ऋषिकेश थापा, रोहित ऐर, आदित्य जोशी र सक्षम रेग्मीले ‘सार अल्फा’ नामक विद्युतीय चार पाङ्ग्रे कार निर्माण गरेका हुन् ।

कोरोनाको दोस्रो लहरको लकडाउनमा उनीहरूले विद्युतीय कार निर्माणकाे काम थालेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा कार निर्माण गरिएको ऋषिकेश थापाले बताए ।

घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निर्माण गर्न सफल भएको उनको भनाइ छ । ‘लकडाउनलाई सदुपयोग गरौँ भनेर साथीहरूबीच सल्लाह भयो र काम सुरु गर्‍यौँ,’ उनले भने, ‘काम गर्दै जाँदा केही समस्याहरू पनि देखिए । घर-परिवार र विद्यालयको सहयोगबाट चार महिनामा चलाउन सकिने बनायौँ ।’ उनीहरूका अनुसार अहिले पनि कार निर्माण कार्य जारी छ ।

उनीहरूले कारमा चाहिने प्रायः सामग्रीहरू नयाँ छैनन् । केही मोटरसाइकल, केही अटो रिक्सालगायतका सामग्रीहरू कारमा प्रयोग गरेका छन् । ‘हामीले विभिन्न ठाउँबाट सामग्री जुटाएर कार निर्माण गरेका हौँ,’ आदित्यले भने, ‘अझै धेरै सामग्री जोड्न बाँकी छ ।’

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पढाइसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाइ सँगसँगै यो क्षेत्रमा लागेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *