कांग्रेस प्रदेश-२ अधिवेशन : आठै पदाधिकारीमा देउवा पक्ष विजयी

काठमाडौँ । कांग्रेस प्रदेश-२ को प्रथम अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावमा सभापतिसहित सबै पदाधिकारीमा केन्द्रीय सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवार विजयी भएका छन् । शेखर कोइराला-विमलेन्द्र निधि प्यानलका उम्मेदवारलाई पराजित गर्दै आठै पदाधिकारीमा देउवा पक्षले जितेको हो ।

आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचन भएको थियो । कोइराला-निधि पक्षबाट सभापति पदका उम्मेदवार रामसरोज यादवलाई १४१ मत अन्तरले हराउँदै देउवा पक्षका कृष्ण यादव विजयी भइसकेका छन् । त्यसपछि अन्य पदाधिकारीको मतगणना गरिएको हो । शुक्रबार राति १० बजे सम्पन्न मतगणनाको नतिजाअनुसार उपसभापतिदेखि सहमहान्त्रीसम्म सबै पदाधिकारीमा देउवा पक्षकै उम्मेदवार विजयी भएका हुन् ।

प्रदेश उपसभापतिमा वीरेन्द्रप्रसाद सिंह र चन्द्रशेखर यादव विजयी हुँदा महामन्त्रीमा उपेन्द्रकुमार यादव र वृहस्पति कृष्ण श्रेष्ठ विजयी भएका छन् । सहमहामन्त्री खुलातर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी भएका छन् । यसैगरी सहमहामन्त्री महिलातर्फ बिन्दुकुमारी यादव निर्वाचित भएकी छन् ।

प्रदेश सदस्यहरूको मतगणना गर्न बाँकी छ । जनकपुरधामस्थित गोपाल धर्मशालामा जारी कांग्रेसको प्रथम अधिवेशनमा ७२ पदका लागि १८० जनाले उम्मेदवारी दिएका थिए । तर यीमध्ये ५ सदस्य निर्विरोध चयन भइसकेकाले बाँकी ६७ पदका लागि मतदान भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *